रेबिजले वर्षमा ५२ हजार मानिसको लिन्छ ज्यान

१६औँ विश्व रेविज दिवस

रेबिज रोग विषाणुको कारणले लाग्ने एक प्राणघातक जुनोटिक रोग हो । यो रोग लागिसकेपछि यसको कुनै उपचार हुँदैन । बिरामीको मृत्यु निश्चित छ । सन् १८२२ मा फ्रान्समा जन्मिएका लुईस पास्चरले सन् १८५५ मा रेबिज रोगबारे विभिन्न तथ्यहरू पत्ता लगाएका थिए । उनले त्यतिबेला पत्ता लगाएको रोगको हालसम्म पनि कुनै उपचार छैन । रेबिज रोग प्राणघातक रहेको भन्ने कुरा पत्ता लगाएर सन् १८९५ मा लुइस पास्चर यस संसारबाट बिदा भए । पछि उनको सम्झनामा यो डरलाग्दो रोगलाई केही हदसम्म भए पनि न्यूनीकरण गर्ने उद्देश्य राख्दै विश्वमा हरेक सेप्टेम्बर २८ मा विश्व रेबिज दिवस मनाइँदै आएको छ । नेपालको सन्दर्भमा पनि हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै मनाइँदै आएको छ ।

हालैको सर्वेक्षणअनुसार रेबिज रोगबाट हरेक वर्ष विश्वमा ५२ हजार मानिसले ज्यान गुमाइरहेका छन् । हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाइरहेका छन् । हरेक वर्ष नेपालमा यसको तथ्यांक घट्दोे क्रममा छ । १ सय ५० देखि दुई सयसम्म प्रत्येक वर्ष नेपालमा यो रोगको संक्रमणबाट नेपालीले ज्यान गुमाइरहेका छन् । विशेषगरी मानिस र पशुमा यो रोग लाग्छ । यो जुनोटिक रोग भएकैले मुख्य पशु र मानिससँग सम्बन्धित रहेको छ । कुकुरको मानसिक सन्तुलन ठिक नभएपछि (बहुलाएपछि) मानिसलाई टोक्ने गर्दछ । यो रोगको संक्रमणपछि मानिसको मृत्यु निश्चित छ । यो रोग विशेषगरी एसिया र अफ्रिकी देशहरूमा बढी देखापर्दै आइरहेको छ । जापान, अस्ट्रेलिया, सिंगापुरजस्ता देश रेबिज फ्री मानिन्छ । विकसित देश र अविकसित देशको तुलनामा पनि यो रोगको मात्रामा थपघट पाइएको छ ।

कुकुरलाई घरको पहरेदार मान्दै नेपाली समाजमा ज्यादा नै पाल्ने गरिँदै आएको छ । समुदायमा रहेका भुसिया कुकुर र घरमा पालिने कुकुरमा धेरै भिन्नता भए पनि कुकुरको मानसिक सन्तुलनमा भने जुनै कुकुरलाई जुनै समयमा पनि यो रोग देखा पर्नसक्छ । आजको एक्काइसौँ शताब्दीमा आएर पनि मानिसमा चेतनाकै कमीका कारण कुकुरले टोकेपछि झारफुकमा विश्वास गर्ने नेपाली समाजको यथार्थलाई सर्वप्रथम उन्मुलन गर्नु जरुरी छ । आज हरेक दिन सहरी र ग्रामीण इलाकाबाट दिनमा सयौँ बिरामी कुकुरको टोकाइले अस्पताल आउने गर्छन् । हरेक वर्ष तीन हजारभन्दा माथिको संख्यामा अस्पतालमा सुई लगाउन मात्रै आउने तथ्यांक छ । कुकुरले टोक्ने बित्तिकै रेबिज लाग्यो भन्नु पनि यसभित्रको भ्रम हो भने बहुलाएको कुकुरले टोकेको घाउमा कुकुरको ¥यालबाट देखिने विषाणुहरूले घाउमा संक्रमण सुरु गरेपछि मानिस र पशुमा विभिन्न लक्षणहरू देखापर्न थाल्दछ अनि रेबिज रोग लाग्छ ।

रेबिज रोग लाग्ने माध्यम विशेष कुकुर भए पनि मुसो, चमेरोबाट पनि यो रोग संक्रमण हुँदै आएको पाइन्छ । रेबिज लागेको मानिसमा ज्वरो अचानक बढ्ने, आवाजमा हठात परिवर्तन हुने, मुखबाट ¥याल बग्न थाल्नु, आँखाहरू रातो हुनु, पानी देखेर डराउने, आफूभन्दा अलग किसिमका बस्तुहरूलाई टोक्ने झम्टने यसको मुख्य लक्षणहरू हुन् । यस्ता लक्षणहरू देखापरेको केही क्षणमा नै मानिस या संक्रमित पशुको मृत्यु हुन्छ । यो रोग लागेपछि मस्तिष्कलाई धेरै नै प्रभावित बनाउने काम गर्दछ । रेबिज लागेपछि तुरुन्तै उपचार सम्भव भए पनि दीर्घकालीन उपचार भने हालसम्म छैन ।

यदि कुकुर बहुलाएको छ र त्यो कुकुरले मान्छेलाई टोक्यो भने कुकुर १० देखि १४ दिनभित्रै मर्छ । साधारणतया कुकुर एकोहोरो हुने, टाङमुनि पुच्छर लुकाउनेजस्ता क्रियाकलापले पनि कुकुर बहुलाएकै हो भन्ने थाहा पाउन सकिन्छ । कुकुरले टोकेकै दिनदेखि भ्याक्सिन लगाउन सकिन्छ । टोकेको दिनलाई शून्य मानी तीन, सात, १४, २८ र ९० दिनसम्म पनि भ्याक्सिन लगाउन सकिन्छ । कुकुरमा उक्त भाइरस जंगली जनावरमार्फत सर्ने भएकाले र जंगली संक्रमित पशुमा हुने भएकोले एकअर्कामा सर्ने र अन्त्यमा मानिससम्म आइपुग्ने गर्दछ ।

कुकुर पाल्दै नपाल्नु भन्ने होइन । शोखसँगै सामाजिक मर्यादालाई पनि ख्याल गर्नु आवश्यक छ । राजधानी काठमाडौंमा मात्रै होइन हरेक नगरपालिकाहरूमा छाडा छोडिएका भुसिया कुकुरहरूको आतंक छ । हरेक दिन अस्पतालमा कुकुरले टोकेका बिरामीहरू सयौँ आउँछन् । नेपालको सन्दर्भमा रेबिज लाग्नै नदिने उपाय भनेको कुकुरहरूलाई बन्ध्याकरण गरी कुकुरको संख्यामा कमी ल्याउँदै नियन्त्रण गर्नु नै महत्वपूर्ण उपाय हो । कानुनले कुकुरलाई मार्ने मान्यता नदिए पनि बन्ध्याकरणले संख्यामा नियन्त्रण गर्न सकिन्छ ।

कुकुरले टोकेपछि शरीरको ठाउँ अनुसार संक्रमण गर्ने समय हुन्छ । विकसित देशहरूमा हाल आएर हावाको मध्यमबाट पनि यो भाइरस सर्ने गरेको पाइएको छ । यो वर्ष पनि ‘एक स्वास्थ्यको अवलम्बन रेबिजबाट शून्य निधन’ भन्ने मूल नारा राखी विश्व रेविज दिवस असोज ६ देखि १२ सम्म सप्ताहव्यापी रूपमा मनाइँदै छ । रेबिज दिवसले सिकाउनुपर्ने पाठ दिवसका दिनहरू बाहेकमा पनि प्रवाह गर्न सकेको खण्डमा यस्ता दिवस मनाउनुको सार्थकता रहन्छ भन्ने कुरा सम्बन्धित हामी सबैले बुझ्नु जरुरी छ । तब मात्रै नाराले सार्थकता पाउनेछन् । २०३० सम्म रेबिजमा पूर्णविराम नै लगाउने हो भने तपार्इं हाम्रो अभियानलाई हामीले बेलैमा ध्यान दिऔँ र सबैलाई बेलैमा सचेत बनौँ र बनाऔँ ।

रेबिज बारे यी कुरा जानी राखौँ :

रोगको कारक तत्व

रेबिज रोगको मुख्य कारक तत्व भनेको रेब्डो परिवार भित्रको लाइसा प्रजातिको एउटा विषाणुको कारणले लाग्ने गर्दछ । पाँच थरिका प्रोटिन र लिपोप्रोटिनयुक्त यो विषाणुलाई घाम, साबुन÷डिटरजेन्ट र आयोडिनले नष्ट गर्छ ।

रोग सर्ने तरिका


यो रोग विशेषगरी बौलाएको पशुले टोकेपछि पशुको ¥यालमा भएको विषाणुको संक्रमणबाट सर्ने गर्दछ । कुकुर, ब्वाँसो, स्याल, न्याउरीमुसा, चमेरो आदि यो रोगको प्रमुख स्रोत र संवाहक हुन् । अस्ट्रेलिया तथा दक्षिण अमेरिकी देशहरूमा चमेरोको टोकाइबाट पनि यो रोग सर्ने गरेको पाइन्छ । यस रोगको विषाणुले स्नायु प्रणालीका कोष र खासगरी स्नायु तथा मष्तिष्कमा असर गर्दछ । त्यस्ता रोग लागेका जनावरले टोकिसकेपछि विषाणुहरू स्नायु प्रणालीको माध्यमबाट गिदीमा पुग्दछ र त्यहाँ तिनीहरूको संख्यामा तीव्र वृद्धि हुन्छ । त्यसपछि त्यस्ता विषाणुहरू स्नायु प्रणालीको कोषको माध्ययमबाट शरीरको विभिन्न भाग हुँदै फैलन्छ र पछि र्यालमा देखा पर्दछ ।

रेबिज रोग लागेर लक्षण देखाएको दिनदेखि १० देखि १४ दिनभित्र उक्त जनावरको मृत्यु हुन्छ । यो रोग लाग्नमा विषाणुको मात्रा, घाउको गहिराई र टोकेको अंगमा भर पर्छ । टाउको नजिक वा गहिरो घाउ भएमा रोगको लक्षण छिटो देखापर्छ । शरीरको अरू कुनै भागमा टोकेको खण्डमा दुई हप्तादेखि १ वर्षसम्म रोगको लक्षण देखापर्न सक्छ । कुनै बहुला कुकुरले कसैको घाँटीभन्दा माथिको भागमा टोकेको छ भने एक हप्तादेखि चार हप्ताभित्रमा रेबिज रोगको लक्षण देखिने हुन्छ । यस्तै शरीरको अन्य भागमा टोकेको खण्डमा एक महिनादेखि एक वर्ष भित्रमा रोगका लक्षण देखिन सक्छ । कुनै अपवादहरूमा दुई वर्षको अवधिमा समेत यस्तो देखिँदै आएको छ । तर, पाकेको दूध र मासुबाट यो रोग सर्दैन ।

रोगको लक्षण

रेबिज लागेपछि प्रायः सबै जनावरहरूमा एकै थरीका लक्षणहरू देखापर्छ । तर कुकुर, भैँसी, गोरु, गाई, चमेरो र मानिसहरूमा यसको लक्षण केही फरक हुन्छ । कुकुर र अन्य जनावरलाई पानीबाट केही थाहा हुन्न भने मानिसलाई मात्र यो रोग लागिसकेपछि पानीबाट डराउने समस्या देखापर्छ । बिरालोको नङ्ग्रा फिजारिएको देखिएमा पनि यो रोगको लक्षण हो भन्ने शंका गर्न सकिन्छ ।

जस्तै कुकुरमा उत्तेजक व्यवहार देखिन्छ । यसबेलामा कुकुर अत्यधिक आक्रामक हुने, आफ्ना वरपरका बस्तुहरू टोक्ने, जोडले चपाएको जस्तो देखिने, एकैनासले भुकिरहने, स्वरमा एकाएक परिवर्तन हुने, पुच्छर खुट्टामुनि लुकाएर हिँड्ने, जिब्रो बाहिर निकालेर ¥याल बगाइरहने, च्यापुमा प्यारालाइसिस हुने र एकोहोरो स्वभावमा जे भेट्यो तेही टोक्दै हिँड्ने । लाटो अवस्थामा भने कुकुर लाटो हुने, आवाज नै निकाल्न नसक्ने, एउटा कुनो वा शान्त ठाउँमा बस्ने, खान छोड्छ, र्यालहरू मुखबाट तारन्तार बगाइरहने हुन्छ । यदि यस्ता लक्षण देखाएको कुकुर छ भने लक्षण देखिएको ४ देखि ५ दिनको बिचमा मर्छ ।

गाईभैँसी र अन्य जनावरहरूमा यो रोग लागिसकेपछि बिस्तारै घाँस, दाना, पानी खान बन्द हुने, छटपटाउने, विनाकारण हिँडिरहने, कराउने, उफ्रने, आँखा ठुल्ठूला पारी कान ठाडो पारेर हेर्ने र सिङले हिर्काउन खोज्ने जस्ता लक्षणहरू देखिन्छ । विस्तारै घाँटीको आवाज निस्कने भाग पक्षपात भई आवाज पनि भिन्न निस्कने, भुइँमै लड्ने, मुखबाट प्रशस्त मात्रामा ¥याल निस्कने, पक्षघात हुने जस्तो देखिन्छ । मानिसमा रेबिज रोगका प्रमुख लक्षणहरूमा सुरुमा सुस्त हुने, ज्वरो आउने, टाउको दुख्ने, रिंगटा लाग्ने, पानी निल्न गाह्रो पर्दछ । पानी, हावा र उज्यालोबाट तर्सने, छिन छिनमा मुर्छित हुने, ¥याल आउने, खाना निल्न नसक्ने पक्षघात हुने र अन्तमा रोग लागेको ४ देखि १० दिनभित्र सास फेर्न बन्द भई बिरामीको मृत्यु हुन्छ ।

रेबिज नै हो भन्ने कसरी थाहा पाउने ?

यो रोग लागेको पशुमा रोग निदान गर्दा लक्षणले मात्रै पनि अपुग हुन्छ । त्यसैले यकिन गर्नको लागि प्रयोगशाला परीक्षण गर्नुपर्ने हुन्छ । जस्तै र्यापिड टेस्ट, फ्लोरेसेन्ट एन्टीबडी टेस्ट, माउस इनोकुलेसन टेस्टबाट यो रोग निदान गर्न सकिन्छ ।

उपचार

यो रोग लागेकै हो भने मृत्यु हुने निश्चित छ । शंकास्पद जनावरले टोक्नासाथ टोकेको घाउमा उपचार, खोप र आवश्यकताअनुसार भ्याक्सिनको प्रयोग गर्नुपर्छ । जस्तै बहुला कुकुरले वा शंकास्पद जनावरले टोकेको स्थानमा तुरुन्तै साबुन पानीले १५ मिनेटसम्म राम्रोसँग धुनुपर्छ र त्यसपछि टिन्चर आयोडिन, पोभिडिन वा अन्य कुनै एन्टिसेप्टिक औषधि लगाउनुपर्छ । टिटानसको सुई पनि लगाउनुपर्छ । आफूलाई टोकेको कुकुरको पहिचान गर्नुस् र निगरानीमा राख्नुस् । अन्यथा यसको उपचार छैन ।

खोप लगाउने विधि

यो रोग लागेको जनावरले टोकेको, लसपस मात्र भएको शंकास्पद अवस्थामा पहिलो दिन, तेस्रो दिन, सातौँ दिन एक÷एक मात्राको दरले दुवै पाखुराको मासुमा रेबिज खोप दिनुपर्छ । जनावरमा खोप दिँदा ठुलो जनावरमा एक भाएल घाँटीको मासुमा र एक भाएल पुट्ठाको मासुमा दिनुपर्छ भने सानो जनावरमा एक भाएल मात्र दिए पुग्छ । रोकथामको लागि कुकुरहरूमा खोप लगाउँदा तीन महिना उमेर पूरा भएपछि पहिलो मात्रा, चार महिनाको उमेरमा दोस्रो मात्रा र त्यसपछि वर्षैपिच्छे दोहो¥याउनुपर्छ । पशुको लागि प्रयोग हुने खोपको पोटेन्सी एक आई.यु. प्रतिडोज र मानवका लागि प्रयोग हुने खोपको पोटेन्सी २ दशमलव ५ आई.यु प्रतिडोज लगाउनुपर्छ । यदि यो रोग लागेको पशुले स्वस्थ मानिसको टाउको वा माथिल्लो भागमा रगत आउने गरी टोकेको हो भने खोपसँगै हाइपरइम्युनि सिरम पनि लगाउनु पर्ने आवश्यक हुन्छ । यदि यो रोगको रोकथाम र नियन्त्रण गर्ने हो भने सम्पूर्ण कुकु्हरूमा सर्वप्रथम नियमित रूपले खोप लगाउन अति आवश्यक छ । घरपालुवा तथा सामुदायिक कुकुरहरूलाई नगरपालिका, गाउँपालिका र वडाहरूबाट खोप लगाउने व्यवस्था अनिवार्य गर्नुपर्छ साथै कुकुरहरूको संख्या कम गर्न बन्ध्याकरणक (शल्यक्रिया) गरी प्रजनन् गर्न नसक्ने बनाउनुपर्छ । सबैले यो रोगको महत्व बारेमा सूचित गर्न रेडियो, टेलिभिजन तथा पत्रपत्रिकाको माध्यमबाट जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ, यसबारे जानेका कुरा एकअर्कामा जानकारी गराउन सकियो भने पनि केही मात्रामा बिस्तारै यो रोगको रोकथाम र नियन्त्रण हुँदै जान्छ ।

खोप प्रयोग गर्ने तालिका

कुकुर बिरालोमा खोप प्रयोग गर्ने तालिका

–पहिलो मात्रा : तीन महिना

–दोस्रो मात्रा : चार महिना

–बुस्टर : प्रत्येक वर्ष

तीन महिनाभन्दा कम उमेरका कुकुर बिरालोमा यो खोप प्रयोग गर्नु हुँदैन । पूर्ण स्वस्थ जनावरमा मात्रै यो खोप प्रयोग गर्नुपर्ने हुन्छ । साथै खोप लगाउनुअघि र लक्षण देखिएको खण्डमा तुरुन्तै चिकित्सककोमा जानुपर्छ । साथै प्रभावकारी खोप कार्यक्रम, सामुदायिक (भुस्याहा) कुकुरको नियन्त्रण तथा जनचेतनाका महत्वपूर्ण उपायहरू नै यसको नियन्त्रणको मुख्य उपायहरू हुन् ।

प्रतिक्रिया