सांसदले बुझाएनन् गाडी र ल्यापटप

पोखरा । गण्डकी प्रदेशसभाका सांसद र पदाधिकारीले संसद् सचिवालयबाट लिएको गाडी र ल्यापटप फिर्ता गरेका छैनन् । उनीहरूको कार्यकाल १ असोजदेखि नै सकिएको छ । तर, उनीहरूले आफ्नो कार्यकाल अझै बाँकी रहेको दावी गर्दै आएका छन् ।

संसद् सचिवालयले पनि कार्यकाल सकिएकोले सुविधा फिर्ता गर्न पत्र पठाएको छैन । गण्डकी प्रदेशसभा सचिवालयबाट पदाधिकारीले गाडी सुविधा लिएका छन् । ६ जनाले ल्यापटप पाएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता एवं पुर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि गाडी फिर्ता गरेका छैनन् ।

यसैगरी संसदीय दलका नेताहरू, प्रमुख सचेतक र संसदीय समितिका सभापतिहरू कसैले पनि सुविधामा लिएको गाडी सचिवालयमा फिर्ता गरेका छैनन् । गाडी सुविधा लिनेहरूमा माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान, जनमोर्चा संसदीय दलका नेता पियारी थापा, एमालेका प्रमुख सचेतक मायानाथ अधिकारी, कांग्रेसका प्रमुख सचेतक ओमकला गौतम, माओवादी केन्द्रका प्रमुख सचेतक गायत्री गुरुङ र जनता समाजवादी पार्टीका प्रमुख सचेतक धनमाया लामा रहेका छन् ।
यसैगरी विधायन समितिका सभापति विष्णुप्रसाद लामिछाने, सार्वजनिक लेखा समितिका सभापति रोशन गाहा, अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला र प्रदेश मामिला समितिका सभापति खिमविक्रम शाहीले गाडी र ल्यापटप सुविधा लिएका थिए ।

आफूहरू सुविधामा लिएको गाडी फिर्ता गर्न गए पनि कार्यकाल नसकिएको भन्दै संसद् सचिवालयले नै गाडीको चावी लिन नमानेको विधायन समितिका सभापति लामिछाने बताए । ‘म गाडी फिर्ता गर्नका लागि असोज १ गते काठमाडौंबाट पोखरा आएको थिएँ । तर, सचिवज्यूले अहिले फिर्ता गर्नु पर्दैन भन्नुभयो । कार्यकालबारे माथिबाट कुनै परिपत्र नआएको र अझै सुविधा प्रयोग गर्न मिल्ने भनेपछि म फर्किएको हुँ,’ उनले भने ।

फर्काउन गएको दिनदेखि आफूले सुविधाको गाडी प्रयोग नगरेको दाबी पनि गरे । ‘त्यो दिनदेखि मैले सुविधाको गाडी प्रयोग गरेको छैन । म काठमाडौंमा छु । गाडी पोखरामा छ,’ उनले भने । १४ गते संसद् सचिवालयले नै सबैका लागि बिदाइ कार्यक्रम आयोजना गरेको र सोही दिन एकैपटक फिर्ता गर्ने तयारी भएको लामिछानेले बताए ।

प्रदेशसभा सचिवालयका स्टोरप्रमुख झनक अधिकारीले भने कसैले पनि गाडी बुझाउन नआएको बताए । ‘सभामुख र सचिवज्यूसँग भेटेर जानुभएको भए मलाई थाहा भएन । तर, मसँग भेट भएको छैन,’ उनले भने, ‘गाडी फर्काउनुभएको भए त्यसको अभिलेख राख्ने मैले हो । अहिलेसम्म कोही आएजस्तो लागेको छैन । कोही माननीयज्यू आएर फर्किनुभएको चाहीँ सुनेको छु ।’

यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता मोहन श्रेष्ठले प्रतिनिधिसभाको कार्यकाल सकिएर सांसदहरू निवर्तमान भइसक्दा पनि सरकारी सेवा÷सुविधा बुझेकोप्रति असन्तुष्टि जनाएका छन् । असोज १ गते नै कार्यकाल सकिए पनि सांसदहरूले गाडी सुविधा उपभोग गरिरहेको बताए । (न्युज कारखाना)

प्रतिक्रिया