सुन, चाँदी र पेट्रोलियम पदार्थमा ठगी गर्नेलाई कैद

काठमाडौं । सरकारले नापतौल यन्त्र तथा उपकरण प्रयोग गरी जालसाजी गर्ने तथा ठगी गर्नेको सजाय बढाएको छ । सुन, चाँदी र पेट्रोलियम पदार्थको नापतौलमा ठगी गर्नेलाई अधिकतम ३ वर्ष कैद र तीन लाख रुपैयाँदेखि पाँचलाखरुपैयाँसम्म जरिवान गर्ने भएको छ । साथै यन्त्र उपकरण नवीकरण नगरी प्रयोग गरेमा भने एक लाख रुपैयाँ जरिवाना गरिने व्यवस्था गरेको छ । यसअघि भने एक हजार रुपैयाँ मात्रै जरिवाना हुने व्यवस्था थियो ।

स्टाण्डर्ड नाप र तौल ऐन चोथौ संशोधनमा रहेको सजायको व्यवस्था परिमार्जन गर्दै सरकारले कारबाहीको दायर बढाएको हो । स्टाण्डर्ड नाप र तौलबाहेक अरु नाप र तौल प्रचलनमा ल्याएको अवस्थामा एक हजार रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।
कुनै खास क्षेत्रभित्र कुनै खास व्यापार, लेनदेन वा करारका सम्बन्धमा खास खास सर्तहरूका अधीनमा रही नापेर वा तौलेर मात्र कारोबार गर्नु पर्ने व्यवस्था विपरित काम गरेमा पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना गर्ने नयाँ व्यवस्था गरिएको छ । नाप तौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमतिपत्र लिनु पर्ने व्यवस्थाविपरित काम गरेमा एक हजार रुपैयाँदेखि पाँचहजार रुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था गरेको छ ।

मोहोर बन्दी गरिएका प्याकेजमा नाप वा तौल अङ्कित हुन पर्ने व्यवस्था उल्लंघन गरेमा पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ । यसैगरी कुनै नाप वा तौलको आधारमा बिक्री वा कारोबार गर्दा जुन नाप वा तौलको परिमाणको खरिद, बिक्री वा कारोबार गरेको हो, सो नाप वा तौलले निश्चित गरेको परिमाणभन्दा घटी बढी गरी लिए वा लिन लगाएमा वा दिए वा दिन लगाएमा निजलाई पाँच हजार रूपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना व्यवस्था गरिएको छ ।
निर्माण सामग्री, सुन, चाँदी वा मूल्यवान धातु, पेट्रोलियम पदार्थ, एलपीजी सिलिन्डर वा उद्योगको हकमा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने भएको छ । साथै निरीक्षकले आफ्नो कर्तव्य पालनाको शिलशिलामा कुनै काम गर्दा बाधा अवरोध गरेमा २५ हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था गरिएको छ । तीन वर्ष कैद र तीन लाख रुपैयाँदेखि पाँच लाखरुपैयाँसम्म जरिवाना लाग्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया