गण्डकीमा तीन सिटबाहेक टुंगियो गठबन्धनको बाँडफाँट

पोखरा । आगामी ४ गते मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि गठबन्धनले गण्डकीको १५ सिटमा भागबण्डा मिलाएका छन् । १८ मध्ये ३ सिटको बाँडफाँट टुंगिन बाँकी छ ।

हालसम्म टुंगिएको सिटमध्ये प्रतिनिधिसभातर्फ गोरखा, लमजुङ र बागलुङमा कांग्रेसका उम्मेदवार रहने छैनन् । मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, स्याङ्जा र तनहुँमा कांग्रेसका मात्रै उम्मेदवार हुनेछन् ।

गोरखा १, नवलपुर २ र कास्की ३ को सिट बाँडफाँट भएको छैन । कास्की ३ मा कांग्रेस र माओवादीको दाबी छ भने नवलपुर २ मा कांग्रेस, माओवादी र एकीकृत समाजवादी तथा गोरखा १ मा कांग्रेस र माओवादीले दावी छोडेका छैनन् ।

स्रोतका अनुसार गोरखा १ मा माओवादीले नै पाउने पक्काजस्तै छ । कास्की ३ माओवादी र नवलपुर २ एकीकृत समाजवादीले पाउन सक्ने बताइएको छ ।

मनाङमा कांग्रेसबाट टेकबहादुर गुरुङको नाम सर्वसम्मत छ भने मुस्ताङबाट पुनः रोमी गौचन चुनाव लड्ने बुझिएको छ । नवलपुर १ बाट डा. शशांक कोइराला, पर्वतमा अर्जुनप्रसाद जोशी, म्याग्दीमा खमबहादुर गर्बुजा (खम्बीर), तनहुँ १ बाट रामचन्द्र पौडेल उठ्ने लगभग निश्चितप्रायः छ ।

तनहुँ २ मा शंकर भण्डारी र प्रदीप पौडेलमध्ये १ ले टिकट पाउने बुझिएको छ । स्याङ्जा १ बाट राजु थापा वा धनराज गुरुङ तथा स्याङ्जा २ बाट भागवत प्रकाश मल्लले नै टिकट पाउने सम्भावना रहेको छ ।

कास्की १ बाट पुर्वमन्त्री यज्ञबहादुर थापा, निवर्तमान जिल्ला सभापति कृष्णबहादुर केसीसहितका नेताहरू रेसमा छन् । लमजुङमा माओवादीबाट देवप्रसाद गुरुङ, बागलुङ १ मा जनमोर्चाका चित्रबहादुर केसी, बागलुङ २ मा माओवादीका देवेन्द्र पौडेल, गोरखा २ मा समाजवादी पार्टीका नेता डा. बाबूराम भट्टराईले टिकट पाउने लगभग पक्का जस्तै छ ।

यस्तै, कास्की २ मा एकीकृत समाजवादीबाट तुलबहादुर गुरुङको सम्भावना बढी छ । उम्मेदवार आकांक्षीहरु धेरै भएकोले टिकट वितरणमा योगदानलाई हेरेर वितरण हुने बताइएको छ ।

प्रतिक्रिया