जयपृथ्वी नगरपालिका भित्रका अधिकांश विद्यालयमा पाठ्यपुस्तक अभाव, विद्यार्थी मारमा

बझाङ । जयपृथ्वी नगरपालिका भित्रका अधिकांश विद्यालयमा पाठ्यपुस्तक नहुँदा विद्यार्थी मारमा परेका छन । जिल्लाको जयपृथ्वी १० मा रहेको सुर्मादेवी आधारभुत विद्यालय, खेईरा देवस्थली निम्न माध्यमिक विद्यालय, धम्नाउ ज्वाडा छयाला सत्यवादी माध्यमिक विद्यालय, भोपुर निलकटी माध्यमिक विद्यालय, सुईल मयाना बालमन्दिर आधारभुत विद्यालय चैनपुरलगायतका विद्यालय पाठ्यपुस्तक नहुदा विद्यार्थी मारमा परेका हुन् ।

शैक्षिक सत्र सुरु भएको करीब चार महिना बित्नै लाग्दा पनि विद्यार्थीको हातमा पाठ्यपुस्तक नपुगनु दुखद भएकोे सुर्मादेवी आधारभुत विद्यालयका प्रधानाध्यापक कमला श्रेष्ठले बताइन् । श्रेष्ठले भनिन्, ‘नेपाल सरकारले विद्यार्थीलाई १ कक्षा देखी १० कक्षा सम्म निःशुल्क रुपामा पाठ्यपुस्तक उपलब्ध गराएको भए पनि विद्यालयमा पठनपाठन सुरु भएको चार महिना सम्म पाठ्यपुस्तक नपुग्नु दुखद हो ।’ उनले पाठ्यपुस्तको समस्या समाधान गर्न स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र सरकारले कुनै पहल नगरेको आरोप लगाइन् ।

बझाङ जिल्लामा गत वैशाख २५÷२६ गतेदेखि पठनपाठन सुरु भएपनि विद्याथीहरुको हातमा पुस्तक नहुनु दुखद कुरा भएको देवस्थली निम्न माध्यामिक विद्यालयका शिक्षक सुकदेव जोशीले बताए । सवै विद्यार्थीको हातमा समयमा नै पाठ्यपुस्तक नपुग्दा समस्या भएको सत्यवादी माध्यमिक बिध्यालयका शिक्षक लक्ष्मण उपाध्याले बताए । उपाध्यायले भने, ‘अंग्रेजी जस्तो भाषा विषयमा त खास समस्या नहुने, गणित, बिज्ञान, स्वास्थ्य, सामाजिक जस्ता विषयमा समस्या हुन्छ र गुणस्तरीय शिक्षा दिन पाठ्यक्रम मात्रैले पुग्दैन् ।’

यता जयपृथ्वी नगरपालिकाका शिक्षा संयोजक देवेन्द्र जोशीले नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा पाठ्पुस्तक खरिदका लागि चैतमै सबैको खातामा रकम पठाईसकेको बताए । उनले सोहि रकमबाट समन्धित विद्यालयले नै पाठ्यपुस्तक किन्नुपर्ने भएकाले आफूलाई कुन विद्यालयमा पाठ्यपुस्तक पुग्यो या पुगेन भन्ने जानकारी नभएको बताए ।
जिल्लाको जयपृथ्वी नगरपालिकामा मात्र नभई जिल्लाका अन्य पालिकाहरुमा रहेका विद्यालयमा पनि पाठ्यपुस्तकको अभाव रहेको छ ।

प्रतिक्रिया