संसदको कार्यकाल लम्ब्याउँने प्रस्ताव प्रमुख सचेतकहरुको हो : प्रचण्ड

धनगढी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारको मनोनयनपछि संसद नरहने बताएका छन् । मंगलबार धनगढी विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डले भने, ‘आगामी मंसिर ४ मा चुनाव हुन्छ, मनोनयनपछि संसद रहँदैन, एकदम क्लियर त्यहाँ दुविधा हुनै पर्दैन, त्यहाँ बीचमा केही प्राविधिक कारणले समय लम्ब्याउँने की भन्ने प्रमुख सचेतकहरुले त्यो सोच्नुभएको रहेछ, तर पछि गठबन्धन बसेर त्यसरी सोच्नु हुँदैन, यहाँ कहीँ इफ बट हुन दिनु हुँदैन भनेर छलफल भएको छ ।’

उनले थपे, ‘मंसिर ४ गते निर्वाचन हुन्छ, त्योभन्दा अगाडि अरु केही काम कन्फ्युजन पैदा गर्ने गर्नु हुँदैन भनेर छलफल भएकाले सायद आजै केही समय थप्नेकी भन्ने कुरा फिर्ता हुन्छ ।’

गठबन्धनमा सिट संख्या, क्षेत्र र प्रदेश एकैचोटी टुंग्याउने भनेर सबै पार्टीका प्रतिनिधिहरु लागिरहेको जनाउँदै उनले आज बेलुकासम्मको समय दिइएको र भोलि शीर्ष तहमा बसेर अन्तिम रुप दिइने बताए ।

सिट संख्यामा सबैका आ–आफ्नै दाबी हुने कुरा एउटा अन्तिममा मिलाउने कुरामा सबैको मिल्ने नजिकै भएको बताउँदै उनले भने, ‘कांग्रेसले सुरुमा सय भनेर चर्चा भएकै हो, पछि अहिले ८० को वरिपरि आउने सम्भावना बढ्दो छ, हामीले पनि ६० भनेका छौ, ६० बाट केही तलमाथि होला, तर त्यसैको वरिपरि सहमति हुन्छ भन्ने विश्वास छ ।’

अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादी र जसपाको पनि २५ सिट दाबी भएको र यसैलाई आधार बनाएर यसै वरिपरिबाट सहमति खोजिने बताए ।

प्रतिक्रिया