नुवाकोट– १ मा माओवादीबाट तामाङ सर्वसम्मत सिफारिस

नुवाकोट । नुवाकोटको क्षेत्र नम्बर– १ मा नेकपा (माओवादी केन्द्र) ले उम्मेदवार सिफारिसको टुंगो लगाएको छ । । क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य हितबहादुर तामाङ पुनः सिफारिस भएका छन् ।

उनी बहालवाला सांसद हुन् । अघिल्लो निर्वाचनमा तामाङले नेपाली कांग्रेसका डा. रामशरण महतलाई ८ हजार ५ सय मतले पराजित गरी निर्वाचित भएका थिए ।

निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले प्रत्यक्षतर्फ सांसद तामाङलाई पुनः उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको क्षेत्रीय ईञ्चार्ज तथा पञ्चकन्या गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले बताए ।

समानुपातिकतर्फ पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज विमला सुवेदी, शिव खाती र गमला श्रेष्ठ सिफारिस भएका छन् । सुवेदी २०६४ सालको निर्वाचित संविधानसभा सदस्य हुन् । आकांक्षी धेरै भएपछि समानुपातिक तर्फको नाममा सर्वसम्मत हुन नसकेको जिल्ला संयोजक पुष्प लामिछानेले जानकारी दिए ।

यस्तै प्रदेशसभा तर्फ माओवादीले १ (क) को प्रत्यक्षमा बागमती प्रदेश उपसभामुख राधिका तामाङलाई सर्वसम्मत सिफारिस गरेको छ । तामाङ २०७० को संविधानसभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री हुन् । १ (ख) मा जिल्ला संयोजक लामिछाने सिफारिस भएका छन् ।

१ (क) को समानुपातिकतर्फ एलिशा थापा, रत्न बिक, लालबहादुर तामाङ, कृष्णबहादुर तामाङ, प्रमोदलाल श्रेष्ठ, पदमबहाहदुर तामाङ र पार्वती पण्डितसहित ६ जना सिफारिसमा परेका छन् । १ (ख) को समानुपातिकतर्फ सुवास तामाङ, रामहरि श्रेष्ठलगायत ८ जनालाई सिफारिस गरिएको छ ।

प्रतिक्रिया