भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा

भोजपुर । व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन् । कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन् । यहाँका कृषकले कृषि व्यवसाय गरेर लाखौँ आम्दानी गरिरहेका छन् । जिल्लामा उत्पादन भएका कृषि उपजले बाहिरी जिल्लाका बजारमा समेत स्थान पाउन थालेका छन् । सबै स्थानीय तहमा कृषकले व्यवस्थित ढंगले कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् । यहाँ उत्पादन भएका अकबरे खुर्सानी, तरकारी तथा फलफूल धरान, विराटनगर तथा काठमाडौंलगायत सहरमा पुग्न थालेका छन् ।

सडकको सहज पहुँच भएका स्थानका कृषकको फार्मबाट नै सोझै कृषि उत्पादन बाहिरी जिल्लामा जाने अवस्था बनेको छ । यसबाट व्यवसायलाई थप राहत पुगेको कृषक रमिला श्रेष्ठले बताइन् । उनले भनिन्, ‘कृषि कर्म बाँच्ने आधार बनेको छ । व्यावसायिकरूपमा गरेको तरकारी खेतीले वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।’
यहाँको उत्पादन जिल्लासँगै धरान, विराटनगर, काठमाडौँलगायत स्थानमा जाने गरेको छ ।

सडकको सहज पहँुचका कारण फार्मबाट बेच्न पाएको किसान बताउँछन् । त्यस्तै जिल्लाको टेम्केमैयुङ गाउँपालिकाका कृषक नगेन्द्र राईले पनि सात रोपनी क्षेत्रफलमा अकबरे खुर्सानीको खेती गर्दै आएका छन् । उनले स्थानीय बजारमा प्रतिकेजी एक सय ५० देखि तीन सय रुपैयाँसम्ममा खुर्सानी बेच्न गरेको जानकारी दिए । कृषक राईले भने, ‘खर्सुानी तथा तरकारी खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ । बजारको मागलाई पूरा गर्न नै समस्या छ । तर यस वर्ष मेरो भने ढुसीलगायतका रोगका कारण केही खुर्सानीका बोटमा क्षति भयो । तैपनि राम्रै आम्दानी गरिरहेको छु ।’

टेम्केमैयुङ –८ गोगने सल्लेनीका कृषक शम्भु नेपालले २२ रोपनी क्षेत्रफलमा ड्रागन फलको व्यावसायिक खेती गरिरहेका छन् । कृषक नेपालले अहिले २२ रोपनी क्षेत्रफलमा डा«गनफल र १८ रोपनी क्षेत्रफलमा कागतीको व्यावसायीक खेती गरेका छन् । उनले एक हजार बोट कुरिलो, एभोकाडो लगायतका बिरुवासमेत लगाएको जानकारी दिए ।

उनले दानाबोटे फलफूल तथा कृषि फार्ममा अहिले १ हजार ५ सय बढी पिलरमा ड्रागनफल लगाएका छन् । ड्रागन र कागती बिक्रीबाट वार्षिक १२ लाख रुपैयाँ बढी आम्दानी हुने कृषक नेपालले सुनाए । अरुण गाउँपालिका–६ जरायोटारका प्रेमकुमार राईले पनि एभोकाडोको व्यावसायिक खेती गरेका छन् ।

करिब पाँच वर्ष विदेश बसेर आएका राईले आफ्नै देशमा केही गर्ने उद्देश्यले एभोकाडोको व्यावसायिकखेती सुरु गरेको जानकारी दिए । उनका फार्ममा अहिले एक हजार सय बढी एभोकाडोको बिरुवा छन् । एभोकाडो प्रतिकेजी तीन सयदेखि पाँच सय रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले सुनाए ।

केही वर्षबाट यसले उत्पादन दिन थाल्ने र वार्षिकरूपमा ३० लाख रुपैयाँसम्म आम्दानी लिने लक्ष्य राखेको राईले जानकारी दिए । उनले भने, ‘विदेशमा धेरै समय बसेँ, त्यहाँ धेरै दुःख गरियो । तर सोचेअनुसारको आम्दानी गर्न सकिएन, अहिले आफ्नै ठाउँमा व्यावसायिक एभोकाडो (घ्यूफल) खेतीमा लागेको छु । मेरो वार्षिक ३० लाख रुपैयाँ आम्दानी लिने लक्ष्य छु ।’

सरकारले कृषकलाई प्रोत्साहन गर्ने विभिन्न खालका कार्यक्रम सञ्चालनमा ल्याएसँगै यसतर्फ कृषकको आर्कषण बढेको देखिन्छ । पछिल्लो समय फार्म नै दर्ता गरेर कृषि तथा पशुपालन व्यवसाय गर्नेको संख्या वृद्धि भएको छ । यसबाट धेरै कृषकले आफ्नो आयस्रोतमा वृद्धि गरेका छन् । यस वर्ष पनि कृषक लक्षित कार्यक्रम सरकारले सञ्चालनका लागि बजेट पठाएको छ । यसबाट अझै धेरै कृषकलाई लाभ पुग्ने देखिन्छ ।

प्रतिक्रिया