काभ्रेमा एकीकृत समाजवादीद्वारा उम्मेदवार छनोट : को–को परे ?

काभ्रेपलाञ्चोक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को काभ्रेपलाञ्चोकमा उम्मेदवार छनोट गरिएको छ ।

पार्टीले जिल्लास्थित दुई प्रनिनिधिसभा र चार प्रदेशसभा क्षेत्र निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवार छनोट गरेको हो । पार्टीको क्षेत्रीयस्तरका निर्वाचन कमिटिले दुवैतर्फका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको जनाइएको छ ।

दुई प्रनिनिधिसभा र चार प्रदेशसभा क्षेत्र निर्वाचनका लागि क्षेत्रीयस्तरबाट उम्मेदवारमा सिफारिस भइ आएका नामावलीलाई जिल्ला कमिटीको बैठकमार्फत अन्तिम रूप दिई केन्द्रीय कमिटीमा सिफारिस गरिने पार्टीका जिल्ला सचिव गोकुल गौतमले बताए ।

पार्टी केन्द्रीय कमिटीले दुवैतर्फका उम्मेदवारको नाम यही भदौ १२ गतेभित्र जिल्ला कमिटीमा र १५ गतेभित्र केन्द्रीय कमिटीमा सिफारिस गर्न जिल्लास्थित प्रतिनिधिसभा र प्रदेशसभा कमिटीलाई निर्देशन दिएको थियो ।

‘केन्द्रीय कमिटीको समयसीमाभित्रै उम्मेदवार सिफारिस गर्ने तयारी भइरहेको छ’, गौतमले भने । सोहीअनुसार पार्टीको क्षेत्रीय कमिटीको बैठकले काभ्रेपलाञ्चोकको दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्षतर्फ लाप्साङ लामा पाख्रिन, समीप त्रिपाठी, रेशमलाल श्रेष्ठ र जमुना सापकोटा तथा समानुपातिकतर्फ मङ्गललाल श्रेष्ठ, लोकबहादुर गौतम, ज्ञानेन्द्र तामाङ, निशा लामा, दोर्जे लामा र पाल्साङ लामाको नाम उम्मेदवारमा सिफारिस गरिएको हो ।

यस्तै प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ मुकुन्द गौतम तथा समानुपातिकतर्फ प्रदीप लामा, पासाङ डोल्मु लामा, यशु लामा र प्रताप लामा सिफारिस गरिएको जनाइएको छ ।

गौतम पार्टीको केन्द्रीय सदस्य हुन् । त्यस्तै प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ पुष्कर तिमल्सिना, कृष्ण सापकोटा, विश्वेश्वर बञ्जारा र सञ्जिता लामा रहेका छन् । समानुपातिकतर्फ भने कृष्ण लामा, रामदेवी तामाङ र सरोज कुँइकेलको नाम सर्वसम्मत सिफारिस गरिएको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य विदुर सापकोटालाई सर्वसम्मतले सिफारिस गरिएको छ । यस क्षेत्रमा समानुपातिकतर्फ तुयुकाजी ताम्राकार, तेजबहादुर खड्का, लम्बोदर कायस्थ, जगन्नाथ श्रेष्ठ, विना परियार, पदमबहादुर परियारसहितका आकांक्षीको नाम सिफारिस गरिएको छ ।

यस्तै सिफारिस समितिले प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा ‘क’मा प्रत्यक्षतर्फ पार्टी जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईं तथा समानुपातिकतर्फ राजकृष्ण गिरी, दिलबहादुर तामाङ, मन्जु श्रेष्ठ र प्रेम तामाङलाई उम्मेदवार सिफारिसको निर्णय गरेको छ ।

त्यस्तै प्रतिनिधिसभा २ अन्तर्गत प्रदेशसभा ‘ख’मा प्रत्यक्षतर्फ लक्ष्मण लम्साललाई सर्वसम्मतले सिफारिस गरेको छ । समानुपातिकतर्फ भने वीरबहादुर तामाङ, हरिगोपाल प्रधानाङ्ग र कल्पना श्रेष्ठलाई उम्मेदवार सिफारिस गरेको जनाइएको छ ।

प्रतिक्रिया