मजदुर किसान कृषि सहकारीले सुरू गर्याे मासु तथा तरकारी बिक्रि केन्द्र

मकवानपुर । मजदुर किसान कृषि सहकारी संस्थाले मासु जन्य तथा विषदी रहित तरकारी बिक्रि केन्द्र संचालन गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले केन्द्रको उद्घाटन गरेका हुन् । केन्द्रको उद्घाटन गर्दै उपमेयर बानियाँले नगरपालिकाले कृषकमाथि धेरै लगानी गरेको तर उचित मुल्य नपाएको गुनाषो आईरहेको हुनाले सहकारीले बजारीकरण गर्दा सो समस्या हट्ने बताए । उनले यस्ता सहकारीहरुले कृषकहरुलाई बजारीकरण व्यवस्था गर्नु सहनिय कार्य भएको भन्दै उनले भने,‘कृषकहरुको हकहितको लागि हामी सहयोग गर्न तयार छौँ,यसको लागि काम गर्नुस् ।’

ग्रामिण किसानहरुको उत्पादन तथा उत्पादकत्व वृद्धिका साथै बजारिकरण सुनिश्चित गर्नका लागि सहकारीले बिक्रि केन्द्र संचालन गरेको सहकारीका अध्यक्ष मुकेश भुजेलले जानकारी दिए । उनले भने, ‘विशेषगरी मकवानपुरको मनहरी गाउँपालिका, हेटौँडा, थाहानगरपालिका लगायत उत्पादन आलु, काउली, लगायत विषादी रहित तरकारी तथा मासुजन्य वस्तुहरु सिधै कृषकबाट संकलन गरि उपभोक्ता सामु पुर्याउने हाम्रो उद्देश्य हो ।’ कृषकहरुले उत्पादित कृषि जन्य उत्पादनले बजार नपाएर तनाव लिनुपर्ने अवस्थाबाट मुक्त गर्ने योजना सहित सहकारीले बिक्री केन्द्र संचालन गरेको भुजेलले बताए ।

हेटौँडा–१६ का कृषक रोजिना विश्वकर्माले बर्षौदेखि तरकारी खेती गर्दै आएकी छन् । तर, उनले आफुले उत्पादन गरेको तरकारी एकै ठाउँमा लगेर बिक्री गर्न भने कहिल्यै पाइनन् । उत्पादित तरकारीहरु डोकोभरी बोकेर बजार घरघरमा पुग्ने उनको बाध्यता थियो । अब भने उनले कृषि सहकारीले मासु तथा तरकारी बिक्री केन्द्रमा बिक्रि गर्न पाउने भएकी छन् ।

अर्का कृषक प्रदिप पुडासैनी पनि हर्षित भएका छन् । पुडासैनीले भने, ‘हामीले सँधै व्यापारीलाई दिने गरेका थियौँ, ब्यापारीलाई दिदाँ एक जना मात्रै धनी हुने भए तर सहकारीलाई दिंदा सबै उपभोक्ता सफल साथै ताजा पाउनुको साथै कम मुल्य पनि पर्ने भयो त्यसैले हामीले सहकारीलाई दिन थालेको हौँ ।’ उनले उत्पादन गरेको तरकारी तथा मासुजन्य वस्तुहरु बिक्रि नहोला कि भन्ने चिन्ता पनि नहने, घरमै लिन आउने भएको हुँदा हामी खुशी भएको बताए ।

अर्का मान्छा व्यवसाय गर्दै आउनु भएका नेत्रबहादुर अधिकारीले पनि अब सहकारीले शुरु गरेको विक्रि केन्द्रसँगै सहकार्य गरेर माछा विक्रि गर्न शुरु गरेको बताए । अब हामीलाई पनि सहज भएको छ उनले भने,‘बजारको भन्दा सस्तो मुल्यमा माछा बिक्रि गर्नेछौँ ।’

सो कार्यक्रममा हेटौँडा उपमहानगर पालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देल, मजदुर सिकान कृषि सहकारी संस्थाका सल्लाहकार तथा युवा नेता चन्द्र शाही, मकवानपुर उद्योग वाणिज्य संघका सन्तोश अर्याल, वडा ४ सदस्य जगनाथ पाण्डे, योगदान राष्ट्रको लागि मकवानपुरका अध्यक्ष रुपक कालिराज लगायतको आथित्यता रहेको थियो । मासु तथा कृषि संकलन केन्द्र संचालनमा आएसंगै अब घर घरमा तरकारी बेच्न हिड्नु पर्ने बाध्यता टरेको भन्दै कृषकहरु खुशी भएका छन् ।

रूपक कालिराज

मकवानपुर

प्रतिक्रिया