एनआईसी एशिया बैंकद्वारा दुर्घटना बीमाको ३० लाख भुक्तानी

काठमाडौ । एन आई सी एशिया बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका ३ जना ग्राहकको दुर्घटनामा परि मृत्यु भएकालाई उपलब्ध गराइएको बीमा लाभ अन्र्तगत मृतक खातावालका परिवारलाई बीमा वापत प्रतिव्यक्ति १० लाख रुपैयाको दरले कुल ३० लाख रुपैया बीमा रकम भुक्तानी गरेको छ ।


बीमा लाभ प्राप्त गर्नेमा बैंकको त्रिपुरेश्वर शाखामा केएमसी एम्वेसडर बचत खाता खोल्ने स्व. शिव प्रसाद सुवेदीको श्रीमती लक्ष्मी ढकाल, ग्वार्को शाखामा सर्वश्रेष्ठ सहज बचत खाता खोलेका स्व. टंक प्रसाद घिमिरेको श्रीमती डिली मै घिमिरे र सुदुर पश्चिम प्रदेश साँफेबगर शाखामा सर्वश्रेष्ठ बचत खाता ‘एम्बेसडर’ श्रेणीको खाता खोलेका स्व. ज्ञान बहादुर चौधरीको श्रीमती अनिता चौधरी रहेका छन ।


निज खातावालहरुको हिताधिकारीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सुदुरपश्चिम प्रदेश प्रमुख सुवास जोशीले फरक फरक कार्यक्रमका बिच बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।


बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजनाअन्तर्गत हालसम्म देशभरका १ हजार ४ सय ६७ जना भन्दा बढी ग्राहकले घातक रोग बीमा वापत २ करोड ४० लाख, दुर्घटना बीमा वापत ७० लाख र मेडिकल बीमा वापत ३ करोड ३ लाख गरी कुल ६ करोड १३ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेको पनि बैकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया