संकटमा टक्सार बजारका धातु उद्योग

भोजपुर । यहाँको ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग संकटमा पर्न थालेका छन् । खास गरेर पुस्तान्तरण नहुँदा भाडा बनाउने पेसा संकटमा पर्दै गएको हो । बसाइँसराइ तथा दक्ष जनशक्तिको अभावले पनि उद्योग सञ्चालनमा प्रत्यक्ष असर पुगेको स्थानीयले बताए ।
राणाकालीन समयदेखि सञ्चालनमा आएका यहाँका उद्योगले त्यो समयमा लाखौँ मूल्यका धातुका सामग्री उत्पादन गर्दै आएका भए पनि अहिले अधिकांश बन्द हँुदै गएका छन् । तत्कालीन समयमा रामप्रसाद राई गाउँपालिकाको धोद्लेखानीमा रहेको खानीबाट तामा ल्याएर सामग्री बनाउने चलन थियो । अहिले त्यो खानी पनि बन्द भइसकेको छ ।

विगतमा विभिन्न धातुका सामग्री बनाउने २२ उद्योग रहेकामा अहिले सात मात्र सञ्चालनमा रहेको धातु उद्योग सञ्चालन गर्दै आएका स्थानीय व्यवसायी विमलकुमार शाक्यले जानकारी दिए । सातमध्ये दुईले तामा र पित्तलका भाँडाकुँडा बनाउँछन् भने अन्य पाँच उद्योगले काँसका भाँडाकुँडा बनाउने गरेको व्यवसायी शाक्यले बताए ।

‘यहाँका पराम्परागत धातु उद्योग संकटमा पर्दै गएका छन्’, व्यवसायी शाक्यले भने, ‘मुख्य गरेर पुस्तान्तरण गर्न नसक्दा व्यवसाय संकटमा पर्ने देखिन्छ, विगतमा २२ को संख्यामा रहेका उद्योग अहिले सातमा सीमित भएका छन् ।’ नयाँ पुस्तामा छिटो लाभ लिने व्यवसायप्रति मोह बढेका कारण यस्तो पेसा गर्न नरुचाउने गरेको उनले सुनाए । बाबुबाजेले गरेको काम आपूmले गरिरहेको भए पनि अबको तेस्रो पुस्ताले यो पेसा गर्न नचाहेको शाक्यले बताए । उनका अनुसार नयाँ प्रविधिको विकास गरेर नयाँ पुस्तालाई सिकाउन सके व्यवसायलाई बचाउन सकिने अवस्था छ । उनले भने, ‘कोइलाको प्रयोग गरेर हातको सहायताले काम गर्नुपर्ने भएकाले मिहिनेत निकै छ, यसलाई अहिलेको प्रविधिअनुसार सञ्चालन गर्नसके नयाँ पुस्तालाई सिकाउन सकिन्थो ।’

शाक्यले १० वर्षको उमेर हुँदा ०३५ सालबाट धातुको काम गर्दै आएको बताए । वार्षिक कारोबार १२ देखि १५ लाख रुपैयाँको भए पनि आम्दानी भने तीनदेखि चार लाख रुपैयाँसम्म हुने उनको अनुभव छ । हातको सहायताले विभिन्न धातुका सामग्री बन्ने भएकाले यहाँ उत्पादन भएका सामग्रीको छुट्टै महत्व रहेको छ । राणा शासनकालदेखि प्रसिद्धि कमाएका टक्सार धातु उद्योग बन्द हुँदै गएपछि बजार क्षेत्रसमेत सुनसान देखिन्छ । यहाँ बनेका धातुका सामग्रीको बजार माग भने धेरै रहेको व्यवसायी बताउँछन् ।

दक्ष जनशक्ति तथा स्रोतसाधनको अभावका कारण देशकै पुरानो धातु उद्योगहरू मध्येको टक्सारका धातु उद्योग संकटमा पर्दै गएकाले स्थानीयले चिन्ता व्यक्त गर्न थालेका छन् । टक्सारका धातु उद्योग र टक्सारको मौलिक पहिचानलाई जीवित गराउन सरकार तथा स्थानीयस्तरबाट अभिप्रेरित गराउनुपर्ने स्थानीयको माग छ । मौलिक कला र उद्योगको संरक्षणका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन जरुरी रहेको स्थानीय कुमारप्रसाद श्रेष्ठले बताए ।

‘यहाँका उद्योग संकटमा पर्दै गएका छन्,’ उनले भने, ‘संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक छ, प्रविधिको प्रयोग गरेर पुस्तान्तरण गर्नसके पेसालाई जीवन्त राख्न सकिन्छ ।’ यहाँ काँसको करुवा, डाडुपन्यू, कसौडी, अम्खोरा बटुका, थाल, डबका, तामा एवं पित्तलका गाग्री, खड्कुला, तसला बन्ने गरेका छन् । यहाँका भाँडा बनाउन धरान, विराटनगर, काठमाडौंलगायत ठाउँबाट आवश्यक पर्ने काँससहितका कच्चा पदार्थ ल्याइने गरिएको छ ।

१० वर्ष अघितिर वनले कोइला (गोल) काट्न रोक लगाएकाले धेरै व्यवसायीले पेसा छाडेको व्यवसायी प्रेम उदासले बताए । त्यो समयमा कोइलाको धेरै अभाव भएको उनले अनुभव सुनाए । अहिले भने सबै व्यावसायी मिलेर वनसँग सम्झौता गरेर कोइला ल्याउने गरेकोले अभाव नरहेको उनले बताए ।

हातको सहायताले निर्माण गरिएको एक नम्बर काँसको करुवा प्रतिकिलो तीन हजार पाँच सय रुपैयाँमा बिक्री हुने गरेको छ । करुवाको तौलअनुसार मूल्य फरक पर्ने उनले बताए । विभिन्न बुट्टा बनाएर करुवा बनाइने भएकाले टक्सारे करुवाको माग बढी रहेको उनको अनुभव छ ।

यहाँ उत्पादन भएका करुवा, कचौरा, थाललगायत अत्यधिक माग भए पनि पूरा गर्न समस्या रहेको उदासले सुनाए । यो व्यवसायबाट वार्षिक ६ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको उनले बताए । ‘राम्ररी काम चलेमा मासिक ५० हजारसम्म आम्दानी हुन्छ,’ उदासले भने । दक्ष जनशक्ति नहुँदा बजार मागलाई धान्न नै समस्या छ । पछिल्लो समय ठूलाठूला करुवा, पानसलगायत माग धेरै छ ।

प्रतिक्रिया