‘हामी त्यति धेरै असभ्य र स्वार्थी किन ?’

फोहोरमा राजनीति

काठमाडौं । देशको संघीय राजधानी सहर काठमाडौं उपत्यकाका सडक र गल्लीहरूमा फोहोरको डंगुर थुप्रिएको महिनौँ भइसक्यो । वर्खाको समयमा सडकमा असरल्ल थुपारिएको फोहोर कुहिएर निस्किएको दूर्गन्धका कारण बाटोमा हिँडिसक्नु छैन । सडक छेउछाउ थुपारिएको फोहोरको थुप्रोले सहरको शोभा त घटाएको छ नै सँगसँगै लामो समय फोहोर नउठ्दा त्यसले महामारी फैलन सक्ने जोखिम पनि उत्तिकै बढाएको छ । तर, यस्तो संवेदनशील विषयमा पनि सरकार भने मौन छ ।

कहिले स्थानीयको अवरोधका कारण त कहिले बाटो बनाउने निहुँमा पटकपटक फोहोर व्यवस्थापन कार्य अवरुद्ध हुँदा पनि सरकारले यसतर्फ गम्भीर रूपमा चासो दिएको पाइँदैन । आपसी सहमतिमा समाधानको उपाय खोज्नुभन्दा पनि सरकार र काठमाडौं महानगरपालिका एकअर्कामाथि आरोप–प्रत्यारोपमा ब्यस्त देखिन्छन् ।

पछिल्लो समय आइतबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले फोहोर व्यवस्थापन कार्यमा सरकारले असहयोग गरेको आरोप लगाएका छन् । उनले फोहोर व्यवस्थापनजस्तो गम्भीर विषयलाई राजनीतिकरण गर्न खोजिएको गुनासो पनि गरेका छन् ।

‘हामीले र हाम्रो संविधानले जुन राज्य प्रणालीको परिकल्पना गरेको छ, त्यसमा सरकारको एउटा तह र अर्को तहको आपसी समन्वय तथा मेलमिलापको नै कल्पना गरिएको छ । यसका विपरीत एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ’, मेयर शाहले सामाजिक सञ्जालमार्फत दुःखेसो पोखेका छन् ।

उनले कुनै अवरोध नभएमा आइतबारबाट दैनिक २ सय ५० देखि ३ सय ५० वटा फोहोर बोक्ने गाडीहरूले बञ्चरे डाँडामा फोहोर लैजाने जानकारी यसअघि नै गराए पनि आइतबार दुई स्थानमा अलगअलग कारणले सडक अवरुद्ध गरिएको बताएका छन् । अवरोधकै कारणले आइतबार ९० वटा फोहोरका गाडी मात्र बञ्चरे डाँडा पुग्न पाएको पनि जानकारी दिएका छन् ।

‘एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ ? हामी यति धेरै असभ्य र स्वार्थी किन छौँ ? फोहोरको रास लगाएर त्योभित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिउँ । राजनीति त्यस्तो हुँदैन । त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन । यसमा हेक्का राखौँ ।’

‘आज दुई ठाउँमा सडक अवरुद्ध गर्नुका दुई कारणहरू थिए । पहिलो, कसैले फोहोर पानीको मुहानमा लगेर फ्यालिदियो भन्ने । यसमा दोषीलाई पत्ता लगाएर कारबाही पनि भइसक्यो । दोस्रो, फोहोर बोक्ने गाडीले बाख्रा मारेको भन्ने । यसलाई पनि समाधान ग¥यौँ । यी दुई अवरोध हटाउने बित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ । वास्तवमै त्यो कसरत हो भने त्यो बिडम्बनापूर्ण हुनेछ’, उनले भनेका छन् ।

उनले बञ्चरे डाँडमा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरू बनिसकेको र विभिन्न कार्यमा पाँच अर्ब रुपैयाँ खर्च भइसकेको पनि बताएका छन् । ‘यो झुक्याएर गरिएको पनि थिएन । यसका वैधानिक सम्झौताहरू छन् । ती सम्झौताहरूको पालना गर्नु सबैको कर्तव्य हो’, उनले भनेका छन् ।


खानेपानीको मुहानमा फोहोर फालेको भनेर तारकेश्वर नगरपालिका–३ का स्थानीय वासिन्दाले फोहोर लिएर बञ्चरेडाँडा गएको गाडीहरू रोकेका थिए । स्थानीयका अनुसार, खोलाको पानी तारकेश्वर नगरपालिका–३ डाँडागाउँमा पर्ने नेपाल टोलमा ल्याएर खाने गरिएको छ ।

नदी किनारमा बिहानै फोहोरको थुप्रो देखेपछि स्थानीय युवाले सडक अवरुद्ध गरेका थिए । फोहोर फाल्नेहरूलाई कारवाही गर्न माग गर्दै सडक अवरुद्ध गरेपछि काठमाडौंबाट फोहोर लिएर गएका टिपरहरू पनि बञ्चरेडाँडा जान सकेनन् ।

जनप्रतिनिधिको पहल प्रहरीले फोहोर फाल्ने ट्रक पत्ता लगायो । गाडीले फोहोर फालेको पत्ता लागेपछि चालकमाथि कारबाही सुरु भएको छ । नदी किनारमा फालिएको फोहोर पनि हटाउने काम भइरहेको बताइएको छ ।

तारकेश्वरको अवरोध हटेलगत्तै नुवाकोटको ककनी गाउँपालिकास्थित कागती गाउँमा निजी गाडीको ठक्करबाट बाख्रा म¥यो । स्थानीयले सडक अवरुद्ध गरे । काठमाडौं महानगरपालिकाको नगर प्रहरीका नायव उपरीक्षक (डिएसपी) पूर्णचन्द्र भट्टका अनुसार सम्बन्धित गाडीले क्षतिपूर्ति दिएपछि अवरोध हटेको छ । तर काठमाडौंबाट फोहोर बोकेर गएको टिपरहरू बञ्चरेडाँडा ल्यान्डफिल साइट पुग्न सकेको छैन ।

फोहोर व्यवस्थापनको विषयलाई लिएर स्थानीयवासी आन्दोलनमा ओर्लिएको कारण देखाउँदै सत्ता गठबन्धन दलहरूले पनि त्यसमा सहयोग गर्ने निर्णय गरेका छन् । धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णसिंह तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले संयुक्त रूपमा व्यक्तव्य जारी गर्दै बञ्चरेडाँडामा फोहोर फाल्न नदिन घोषणा गरेका हुन् ।

विगत १७ वर्षदेखि काठमाडौंको फोहोर अव्यवस्थित तरिकाबाट फाल्दा स्थानीय वासिन्दाको जनजीवन अत्यन्तै कष्टकर बन्नुका साथै दीर्घरोगले पीडित बनाएको उनीहरूले बताएका छन् । उनीहरूले नगर प्रमुखलाई बुझाएको पत्रमा भनिएको छ, ‘स्थानीय बासिन्दाले उचित माग राख्दै विभिन्न समयमा गरेको आन्दोलन पश्चात काठमाडौं महानगरलगायत राज्यको विभिन्न निकायसँग पटकपटक गरेर अहिलेसम्म १ सय ७४ वटा सहमति भएको थियो । त्यो सहमति कार्यान्वयन गर्न नचाहेको र राज्यको आफ्नै निकायले गरेको सम्झौता पूरा गर्नुको साटो उल्टै राज्य शक्तिको दुरुपयोग गरेर पीडित जनतामाथि प्रहरी प्रशासन घरभित्रै पसेर ज्यादती गरेको छ ।’

यसैबीच, सत्तारूढ गठबन्धनले काठमाडौंको फोहोर व्यवस्थापनबारे चासो देखाएको छ । फोहोरकै कारण कुनै पनि बेला महामारी फैलिनसक्ने भन्दै गठबन्धनमा आवद्ध दलहरूले टुलुटुलु हेरेर नबस्न सरकारलाई आग्रह गरेको हो ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनका शीर्ष नेताको बैठकले फोहोर व्यवस्थापनबारे काठमाडौं महानगरपालिकाका मेयर शाहसँग संवाद गर्न पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

प्रतिक्रिया