म्यादी भर्ना, सुरक्षा सामग्री र उपकरण जुटाउँदै प्रहरी

चुनावी सुरक्षा रणनीति

काठमाडौं । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि नेपाल प्रहरीले केन्द्रदेखि प्रदेशसम्म सेल तयार पारेर रणनीति बनाउन सुरु गरेको छ । केन्द्रमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) सहकुलबहादुर थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ । यसैगरी प्रदेशमा एसएसपीको संयोजकत्वमा निर्वाचन सेल गठन गरेर काम थालेको छ । जिल्लाको हकमा भने प्रमुख जिल्ला अधिकारी (सिडियो) संयोजक हुने जिल्ला सुरक्षा समितिमार्फत रणनीति बनाउन सुरु गरेको छ ।

विगतमा सम्पन्न चुनावमा तय गरिएका रणनीतिको विश्लेषण गरेर भावी रणनीति तय गरिने जानकारी प्रहरी प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले दिए । उनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत ढंगले सम्पन्न गराउने बताए । निर्वाचन आयोगका अनुसार पूर्वी तराई र काठमाडौं उपत्यकामा मतदान केन्द्र थपिन्छन् । झापा, मोरङ, सुनसरी, मकवानपुर, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र कैलालीमा मतदान केन्द्र थपिने जानकारी आयोगले दिएको छ ।

गत वैशाखको स्थानीय तहको निर्वाचनमा २१ हजार ७ सय ५६ मतदान केन्द्र थियो । यसपटक २२ हजार ३ सय मतदान केन्द्र हुने जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद आर्यालले दिए । स्थानीय तहको चुनावमा एक लाख म्यादी प्रहरी भर्ना गरिएकोमा मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा म्यादी प्रहरीको संख्या बढ्ने जानकारी प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले दिए ।

उनका अनुसार आगामी चुनावमा १ लाख १८ देखि २० हजारको हाराहारीमा म्यादी प्रहरी भर्ना गर्ने तयारी छ । प्रहरी मुख्यालयले पूर्वम्यादी प्रहरी र पूर्वसुरक्षाकर्मीलाई म्यादी भर्नामा प्राथमिकता दिइने जनाएको छ । ‘म्यादी भर्नामा पुरानैलाई प्राथमिकता दिँदा उनीहरूले यसअघि लिएको तालिम दिइरहनु पर्दैन । १५ दिनसम्म सरकारले उनीहरूलाई तालिम दिँदा हुने खर्चको वचत हुन्छ’, राईले भने, ‘छनौट प्रक्रिया पनि लम्बेतान हुँदैन ।’ प्रहरी मुख्यालयले गृह मन्त्रालयलाई पूर्वम्यादी प्रहरीलाई नै प्राथमिकतामा राख्ने आसयसहितको अनुरोध पत्र पठाउने तयारी गरेको जानकारी राईले दिए ।

स्थानीय तहको चुनावमा प्रहरीले १ हजार ५ सय सवारी साधन भाडामा लिएको थियो । मंसिरको चुनावमा भने दुई हजार सवारी साधन आवश्यक रहेको जानकारी पनि राईले दिए । उनले भने, ‘स्थानीय तह चुनावमा १ हजार ५ सय सवारी साधन भाडामा लिइएको थियो । यो पटक दुई हजार हाराहारी चाहिन्छ । हतियार सेनाबाटै लिएर काम चलाउने तयारी छ । हामीसँग सञ्चार सेट पनि पर्याप्त छैनन् ।’

प्रहरी मुख्यालयले भने करिब सात सय विभिन्न प्रकारका सवारी साधन खरिदका लागि गृहमा कार्ययोजना पेस गरेको छ । चुनावमा पहिलो घेरामा प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछन् । राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारी सूचना संयन्त्रका लागि परिचालित हुनेछन् ।

चुनावको सुरक्षा चुनौतीका सम्बन्धमा जिल्लाहरूबाट आएको रिपोर्टिङका आधारमा तय गरिने जानकारी राईले दिए । सिके राउत नेतृत्वको जनमत पार्टीले चुनावमा उम्मेदवारी दिने घोषणा गरिसकेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले के गर्छ त्यसलाई हेरेर थप रणनीति तयार गर्ने योजनामा प्रहरी मुख्यालय छ । आगामी चुनावमा नेपाल प्रहरीतर्फ ६५ हजार सुरक्षाकर्मी खटिने जानकारी डिआइजी राईले दिए ।

सिंहले सार्वजनिक गरे यस दिनको काम

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले आफ्नो कार्यकालको सय दिन पुगेको र यस अवधिमा नेपाल प्रहरीले गरेका काम कारबाहीबारे जानकारी दिन बिहीबार प्रहरी मुख्यालयमा पत्रकार सम्मेलनको आयोजना गरे । उनले पत्रकार सम्मेलनमा भने, ‘हाम्रा लागि सबै राजनीतिक दल एकै हुन्, सबैलाई निष्पक्ष व्यवहार गर्छौं । चुनाव शान्तिपूर्ण र निष्पक्ष हुन्छ ।’

उनले प्रहरी व्यावसायिक र निडर रहेकाले कसैको प्रभाव र दबाबमा नपर्ने बताए । अर्थमन्त्री जनार्दन शर्माको सिसिटिभी फुटेज प्रकरणमा ब्लर भिडियो पठाइएको सन्दर्भमा भने उनले आपूm प्राविधिक नभएकाले त्यसको जवाफ दिन नसक्ने बताए । प्रहरीको सरुवा–बढुवामा विगतमा अन्यायमा परेकाहरूलाई न्याय दिँदा वरीयतामा तलमाथि भएजस्तो देखिएको बताए । मिटर ब्याजबाट पीडितहरूले गरिरहेको आन्दोलनको सन्दर्भमा सडकमा आन्दोलन गर्नुभन्दा प्रहरी इकाइमा निवेदन दिए न्याय पाइने बताए ।

बिहीबार केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौं प्रहरी प्रमुखले पीडितसँग गरेर कुराकानी गरेका थिए । ०७७/७८ वैशाखदेखि असार र ०७८/७९ वैशाखदेखि असारसम्म पेन्डिङ मुद्दाको हकमा २२ दशमलव २२ प्रतिशत मुद्दा फस्र्यौट भएको जानकारी सिंहले दिए ।

सोही अवधिमा फरार प्रतिवादी पक्राउ संख्या घटे पनि जरिवाना भने बढेको पाइएको छ । ०७७/७८ वैशाखदेखि असारसम्ममा १ हजार २ सय ६७ जना फरार प्रतिवादी पक्राउ परेका थिए भने ०७८/७९ वैशाखदेखि असारसम्मा १ हजार १ सय १४ जना पक्राउ परेका थिए । सोही अवधिमा साइबर अपराधका उजुरी बढेको, महिला तथा बालबालिकासम्बन्धी अपराधका उजुरी बढेको र राजस्व संकलन ३७ दशमलव ७६ प्रतिशतले बढेको जानकारी सिंहले दिए । महानिरीक्षक सिंहले मिटर ब्याजविरुद्ध शून्य सहनशीलतामा प्रहरीे कारबाही गर्न पछि नपर्ने बताए ।

प्रतिक्रिया