हैसियतअनुसार सिट बाँडफाँड

कांग्रेस शीर्ष नेताहरूको सुझाव

कठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार आफ्नो पार्टीका शीर्ष नेताहरूसँग प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचन र चुनावी गठबन्धनको विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटरमा सोमबार विहान भएको छलफलमा पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको सहभागिता रहेको थियो । पार्टीका शीर्ष नेताहरूले आगामी निर्वाचनमा चुनावी तालमेल र सिट बाँडफाँड गर्दा हैसियतअनुसार गर्नुपर्ने सुझाव दिएका छन् ।

करिब चार घण्टा चलेको छलफलमा सभापति देउवालाई शीर्ष नेताहरूले आफ्नो हैसियतभन्दा तल झरेर चुनावी तालमेल र सिट बाँडफाँड नगर्न पनि सुझाव दिएका छन् । उनीहरूले प्रतिनिधिसभामा प्रत्यक्षतर्फको १ सय ६५ सिटमध्ये कांग्रेसको भागमा सय सिट राखेर मात्र गठबन्धन गर्न पनि सुझाव दिएका छन् ।

पदाधिकारी तथा पूर्वपदाधिकारीहरूले कांग्रेसको भागमा सय सिटभन्दा कम आउने स्थिति भए चुनावी तालमेल नगर्न पनि आग्रह गरेका छन् । यसअघि सत्ता गठबन्धन दलहरूले चुनावी तालमेल र सिट बाँडफाँडको टुंगो लगाउन कार्यदल गठन गरेको थियो । उक्त कार्यदलको बैठकअघि पार्टी सभापतिसँग कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूले छलफल गरेका हुन् । बैठकमा अधिकांश नेताले कांग्रेसले सय सिट नपाउने हो भने आन्तरिक व्यवस्थापनमा समेत समस्या आउने बताएका थिए । छलफलका क्रममा केही नेताहरूले गठबन्धन गर्दा कांग्रेसले १ सय ६ सीटसम्म जित्ने अवस्था रहे पनि सुरुमै ६०–४० को कुरा गरेर कांग्रेसलाई कमजोर पार्न खोजिएको भन्दै असंतुष्टी जनाएका थिए ।

यसैगरी बैठकले आगामी निर्वाचनका लागि २२ दिने चुनावी अभियान थाल्ने निर्णय पनि गरेको छ । पार्टीका महामन्त्री गगन थापाका अनुसार कांग्रेसले आगामी भदौ २ देखि २४ गतेसम्म केन्द्रीय सदस्यलाई सबै जिल्लामा खटाउने निर्णय गरेको छ । कांग्रेसले साउन ३० र ३१ गते पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम पनि राखेको छ । त्यसका लागि पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखलाई काठमाडौं बोलाइने भएको छ ।

कार्यदलको संयोजकमा सिटौला

सत्तारूढ गठबन्धन दलको सिट बाँडफाँड गर्न गठित कार्यदलको पहिलो बैठक सोमबार बसेको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सिट बाँडफाँडको खाका तयार पार्न गठित कार्यदलको पहिलो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । बैठकले कार्यदलको संयोजकमा कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई चुनेको छ । बैठकमा सिट बाँडफाँडबारे छलफल भएको थियो । स्थानीय तह निर्वाचनमा जस्तै पहिले जितेको क्षेत्र सोही पार्टीले लिने निर्णय गरिएको जानकारी बैठकमा उपस्थित एक नेताले दिए ।

‘कांग्रेसले जितेको क्षेत्र कांग्रेसले नै लिने तथा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको हकमा पनि यही नियम लागू हुनेछ । एमालेले जितेको क्षेत्र भने बाँड्ने सहमति भएको छ’, ती नेताले भनेका छन् । एमालेले जितेको बाँडफाँड गर्दा सबैभन्दा धेरै कांग्रेसले लिने, यसो हुँदा कांग्रेस जम्माजम्मी ७० देखि ८० भित्र सीमित रहनुपर्ने प्रारम्भिक सहमति भएको बताइएको छ । तर, कांग्रेस भने आपूmले ८० देखि ९० सिट पाउनुपर्नेमा अडिग देखिएको छ ।

प्रतिक्रिया