मिडियालाई सूचना दिएको आरोपमा सशस्त्रका एसपी विष्टले हवल्दारलाई जेल पुर्याए

सशस्त्रका बरिष्ठ हवल्दार नरेश शाहू

दार्चुला । मिडियामा सूचना दिएकाे आरोपमा एक प्रहरीले जेल जानु परेको छ । दार्चुला सदरमुकाम खलंगास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणमा कार्यरत बरिष्ठ हवल्दार नरेश शाहुलाई मिडियामा सूचना दिएको भन्दै एसपी त्रिभुवन विष्टले जेलमा पुर्याइदिएका छन् । गत जेठमा जिल्लाका स्थानीय पत्रकारलाई सूचना दिएको आरोपमा शाहुलाई जेल पुर्याइदिएका हुन् । एकै पटक ठूलो संख्यामा गणका सिपाहीलाई बिदामा पठाएर एसपी त्रिभुवन विष्टले उनीहरुको रासन खाइदिएको विवरण मिडियामा उपलब्ध गराएको शाहुमाथि आरोप छ ।

स्थानीय भनिएका एक पत्रकारमार्फत दिनेश खबर अनलाईनमा ‘सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका उपरिक्षक (एसपी) त्रिभुवन बिष्ट हाल बिदामा घर गएका छन् । उनीसगै १ सय ७ जना वरिष्ठ हवल्दार, सिपाहीलगायत बिदामा छन् । नियममा एक चोटि ३० जनाको मात्र बिदा दिने रहेता पनि हालको संख्या तीन चौथाइ हुन आउँछ । दार्चुलामा हाल जम्मा २ सय ३९ जना कार्यरत छन् । सुरक्षा निकायजस्तो संवेदनशील क्षेत्रमा नै मनोमानी ढङगले चल्ने गरेको जवानहरुको गुनासो छ ।’ भनेर समाचार प्रकाशित भएको थियो ।

तर सूचना दिएको आरोपमा शाहुलाई जन्मकैदको मागसहित मुद्दा चलाइएको छ । उनीमाथि मुद्धा लाग्नुमा पत्रकारको समेत हात देखिन्छ । सशस्त्र प्रहरी गणमै बोलाएर पत्रकारमाथि बयान लिनु र म्यासेन्जरमा भएका कुराकानीका आधारमा प्रमाण बनाएर विवरण दिएको साँचो हो भन्दै कागजमा हस्ताक्षर गराइएको छ ।

शाहुविरुद्ध सशस्त्रले विशेष अदालतमा गत असार २२ गते मुद्दा दायर गरिएको छ । पीडित शाहुले हाकिमहरुको अत्याचार असह्य भएपछि कुनै उपाय नलागेर मिडियाको सहारा लिनुपरेको बताएका छन् । तर पीडितले न्याय पाउनुको सट्टा उल्टै सूचना चुहाएको आरोपमा विशेष अदालतमा मुद्धा दायर भएपछि उनको परिवारको बिच्चली बनेको छ । गयल हाजिरको दैनिक दुई थरी टिपोट तयार गर्ने भुवनसिंह धामी स्वयंले प्रकाशित विवरण असत्य नभएको लिखित कबोल गरिसक्दा पनि शाहुमाथि मुद्धा दायर गरिएको बताए ।

सशस्त्र प्रहरीमा सुरक्षाकर्मीलाई बिदा छोडेर रासनभत्ता खाने प्रचलन पहिलेदेखि चल्दै आएको हो । ‘सिपाहीको रासनवापतको रकम सिपाहीकै खातामा जान्छ’, सुरक्षा स्रोतले भन्यो । तर उनीहरुले हाकिमलाई चेक काटेर दिनुपर्छ । ‘१ महिनामा रासन खर्चबाफत ११ हजार ७ सय रुपैयाँ आउँछ । तर विदा बस्दा रु १० हजारको दरले चेक हाकिमलाई काटेर बुझाउनुपर्छ ।’ ती सुरक्षाकर्मीले भने, ‘यो अहिलेदेखि नै उहिल्यैदेखि चल्दै आएको हो ।’

प्रमाण जुटाउन केरकार

जेठ २८ गते पहिलो पटक धनगढीको दिनेश खबर अनलाइनले समाचार प्रकाशित गरेको बेला सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गणका गणपति (एसपी) त्रिभुवन विष्ट काठमाडौं दार्चुला आउँदै थिए । समाचार प्रकाशन भएको जानकारी लगत्तै गण भित्रका सबै जवानलाई बाहिर जान रोक लगाइएको थियो । गणभित्रका सबै सिपाहीको मोबाइल थुतिएको थियो । गणभित्रको सूचना पाउने गणभित्रका सबैका मोबाइल अफ गरिएका थिए । तीन दिनसम्म सबैको मोबाइल चेक गरियो । सबैको मोवाइल चेक गर्ने क्रममा शाहुको मोबाइलबाट पत्रकारलाई कार्यालयमा उपस्थिति रहेको विवरणको फोटो गएको भेटिएको बताइएको छ ।

सूचना चुहावट गरेको आरोपमा एसपी विष्टले सिपाही देखि हवल्दारको र्याख–र्याख्ती पारेका थिए । एसपी विष्टले अर्कै जवानमाथि निकै आंशका गरेका थिए, तर उनको शंका पुरा हुन पाएन् । दुई जना पत्रकारलाई बयानमा बोलाउँदा मोवाइलमा कुराकानी भएको म्यासेज प्रिन्ट गरेर फाइल बनाइएको र त्यही फाइल पल्टाउँदै आफुहरुमाथि बयान लिइएको पत्रकारहरुले बताएका छन् । जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पुर्याइ जेल पठाइएको छ । एसपी विष्ट आएपछि आफु निकटबाहेकलाई निकै पेलेर काम लगाउने गरेको पनि गुनासो आएको छ ।

छोराछोरी र श्रीमतीको बिचल्ली

घरको एकमात्र सहारा नरेश शाहुलाई गलत प्रमाणबनाएर जन्मकैदको मागसहित मुद्धा चलाइएपछि घरमा छोराछोरी र श्रीमतीको बिचल्ली भएको छ । एक वर्षपछि पेन्सनमा आउने तयारीमा रहेको बेला शाहुलाई मिडियामा सूचना चुहावट गरेकै कारण जन्मकैदको माग गरिएको छ । शाहुका एक छोरा र एक छोरी छन् । दाइको मृत्यु भएपछि उनका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दै आएका छन् । जागिरले घरपरिवार पाल्दै आएका नरेशलाई जन्मकैदको माग दाबीसहित मुद्दा चलाइपछि घरपरिवारलाई संकट परेको उनकी श्रीमती दुर्गा शाहुले बताईन ।

‘दुई छोराछोरी, दाइका तीन सन्तान र एउटी बूढीआमा घरमा छन्, श्रीमानलाई काठमाडौं लगेर मुद्दा चलाइएको छ, छोराछोरीले स्कूल जानै छाडेका छन्’, दुर्गाले भनिन, ‘विना गल्ती श्रीमानमाथि मुद्धा चलाइएको छ ।’ गणभित्रको हाजिरी विवरण मात्र मिडियामा दिएका शाहुमाथि झुटो विवरण बनाएर हातहतियार र गोलीगठ्ठासहितको विवरण उपलब्ध गराएको आरोप लगाइएको छ । तर हातहतियार र गोलीगठ्ठाको विवरणसहित कुनै पनि मिडियालाई फोटो तथा सूचना उपलब्ध नगराएकाे उनकाे दावी छ ।

प्रतिक्रिया