हर्क साम्पाङको अभियानमा सघाउन सर्दु जलाधारक्षेत्रमा पुगे सांसद किराती

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा भोजपुर जिल्लाका संघीय सांसद सुदन किरातीले धरान उपमहानगरपालिका र धरानवासीले सुरु गरेको श्रम अभियानमा ऐक्यबद्धता जनाएका छन् । सांसद किरातीले शनिबार धरानको सर्दु जलाधारक्षेत्रमा भएको वृक्षारोपणमा भौतिक सहभागिता जनाएका छन् । शनिबार विहानै जलाधार क्षेत्रमा पुगेर किरातीले वृक्षारोपण गरेका हुन् । सांसद किरातीले भने, ‘हर्क साम्पाङको नेतृत्वमा धरान उपमहानगरपालिकाले देखाएको श्रम अभियानमा ऐक्यबद्धता र महान धरानवासी जनसमुदायलाई धन्यवाद ज्ञापन गर्दछु ।’

आफ्नो अभियानमा सहभागी हुन आइपुगेकोमा मेयर हर्क साम्पाङले खुसी व्यक्त गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री प्रचण्डलाई समेत आफ्नो अभियानमा सरिक हुन निम्तो पठाएका छन् । ‘सांसदज्यू त आइदिनुभयो । अब प्रचण्डलाई पनि निम्तो भनिदिनुपर्‍यो’ मेयर साम्पाङले सांसद किरातीलाई भने ।

किरातीले मेयर हर्क साम्पाङलाई श्रम अभियानलाई नरोक्न तथा निरन्तरता दिन, राज्यको रुपान्तरण हुन नसकेको संयन्त्रबाट जोगिन र हरेक वडाको फरक जोन बनाइ उत्कृष्ट बगैंचा निर्माण गर्नेलाई पुरस्कृत गर्न किरातीले साम्पाङलाई सुझाव दिएका छन् । सुदन किराती श्रमदानका लागि आएकोमा खुसी हुँदै हर्क साम्पाङले भनेका छन्–’धरानको माटो छुन आउनु भएकोमा माननीय सुदन किराती ज्यूलाई धन्यवाद !’

प्रतिक्रिया