धनगढी । कैलालीको कैलारी गाउँपालिका–७ बिपतपुरकी मुक्त कमैया ३० बर्षिया कल्पना चौधरीले बैशाख ११ गते मुक्त कमैया शिविरमा भएको आगलागी पछि आगोबाटै जलेर बचेका काठहरु र जलेका जस्तापातले छाएर जसोतसो घर त ठड्याइन तर वर्षा सुरु भएसंगै घर चुहिने भएकाले रातभरी जागराम बस्नुपर्ने दुखेसो सुनाइन् । कल्पनाले भनिन्, ‘पानी पर्दा रातभर सुत्न मिल्दैन सरसामान जोगाउँनका लागि चुहिने ठाउँमा भाँडाकुँडा लगाएर बस्नु पर्छ, सर्पको डर एकातिर हुछ । आगलागी हुँदा घरमा भएका सबै सामान जलेर नष्ट भए, अन्नपात भाडाकुँडा केही पनि रहेनन्, विभिन्न गैह्र सरकारी संस्था गाउँपालिकाले दिएको राहतले अहिलेसम्म गुजारा चलाइरहेका छौँ ।’ राहतमा आएको एकसरो लुगाले अहिले केही सहज भएपनि हिउँदमा कसरी बस्ने हो भन्ने चिन्ताले कल्पनालाई पिरोली रहेको छ ।
‘यस्तो दुःख पाउँनु भन्दा त्यही आगोमा दौडिएको भए हुन्थ्यो जस्तो लाग्छ’ गहभरी आँशु पार्दै कल्पना भन्छिन्, ‘दाउँरा पनि सबै जलेर नष्ट भएकाले वर्षामा कसरी खाना पकाएर खाने भन्ने समस्या छ, ग्याँस चुलो किन्न पैसा छैन् ।’ छ जनाको परिवार भएकी कल्पनाकाे घरमा कमाइ गर्ने पनि कोही छैनन् । सरकारले दिएको ५ कठ्ठा जमिनमा भएको उब्जनीले खान पुग्दैन, ज्याला मजदुरी गरेर गुजारा चलाउनु पर्ने हुन्छ । छोराछोरीलाई पढाँउन पनि समस्या भएको उनले सुनाइन् । त्यहीं जग्गामा पनि लगाएको बाली बाढी आएर बगाएर लैजाने गरेकाे कल्पनाले बताइन् । उनले गुनासाे पाेिखन, ‘आफैले घर बनाउँन सक्ने अवस्था छैन् सरकारले बनाइदिने मात्र भन्छ बनाइ दिँदैन् ।’
त्यस्तै सोही ठाउँकी बिपतकुमारी चौधरीको पनि आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट भएको बताउँदै उनले भनिन्, ‘आगलागी मेरै घरबाट सुरु भएको हो, मेरो त घर, गोरु, डल्लब सबै जलेर नष्ट भए । अहिले रेडक्रसले दिएको त्रिपालमुनी बस्नु परेको छ । पानी आउँदा चुहिन्छ, राती सर्पको डरले सुत्न सकिदैन । अन्नपात पनि सबै जलेर नष्ट भए जग्गा अधियाँ बनाएर खाने गुजारा गर्नुपर्छ । घरमा पाँच जनाको परिवार छ, आम्दानी छैन् । जीवन धान्नै अप्ठेरो छ, घर बनाउँन पनि सक्ने अवस्था छैन ।’ ‘सरकारले घर बनाइदिएको भए सहज हुन्थ्यो’ बिपतकुमारीले भनिन्, ‘बनाउँने आश्वासन मात्रै दिन्छन बनाइ दिदैँनन् हामीलाई घरको साह्रै समस्या छ ।’
त्यसैगरी सोही मुक्त कमैया बस्तीकी ५९ वर्षिया सीता डगौराले पनि घर चुहिने हुँदा बस्न अप्ठ्योरो भएको बताइन् । उनले भनिन्, ‘आगलागी पछि अन्नपात पनि सबै जले । जलेका जस्ताले छाएको जस्ताबाट पानी चुहिन्छ कसरी सूत्ने भन्ने चिन्ता हुन्छ वर्षातको समय छ । आठ जनाको परिवार छ, खान लाउन पनि समस्या हुन्छ कसरी घर बनाउने ।’
बिपतपुरको मुक्त कमैया बस्तीका भल्मन्सा हिंगुराम चौधरीले शिविरमा घरको साह्रै समस्या रहेको बताए । उनले भने आगलागी पछि घर बनाउन सक्ने कसैको अवस्था पनि रहेन् प्रदेश सरकारले घर बनाइदिने आश्वासन मात्रै दियो । वर्षामा चुहिने घरमा बस्नुपरेको छ यहाँका मुक्त कमैयाले उनले भने । सरकारले घर बनाइ दिनु पर्ने उनको माग छ ।
सरकारले मुक्त कमैया घोषणा गरेपछि ५/५ कठ्ठाका दरले जग्गा दिएर ७१ परिवार मुक्त कमैयालाई बिपतपुरमा राखेको भल्मन्सा चौधरीले बताए । बैशाख ११ गते सो बस्तीमा आगलागी हुँदा २७ घरधुरी पूर्णरुपमा जलेर नष्ट भएको, १२ घरधुरी आंशिक रुपमा नष्ट भएको र ३२ घरधुरीमा सामान्य क्षति भएको भल्मन्सा चौधरीले बताए ।
कैलाली
प्रतिक्रिया