बर्दिया । बर्दियामा एक ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा मधुवन नगरपालिका–६ बस्ने २६ वर्षीय मानबहादुर रजालीलाई प्रहरीले पक्राउ गरेको छ । रजालीले ती बालिकालाई सोही ठाउँस्थित गोठको पछाडि लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको देखिन्छ ।
यसैबीच, बैतडीमा अपांगता भएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । दोगडाकेदार गाउँपालिका–४ की २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा दोगडाकेदार–४ का ५१ वर्षीय गोपीराम चुनारा र ३२ वर्षीय ललित चुनारा रहेका छन् । उनीहरूले २७ असार दिउँसो युवतीलाई फकाएर गोठमा लगी बलत्कार गरेको पीडितका आफन्तले बताएका छन् । पीडित युवतीको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता लोकराज जोशीले बताए ।
गत साता मात्रै बैतडीको पुर्चौडी नगरपालिकास्थित पुर्चौडी बहुमुखी क्याम्पसका प्रमुखले एक मजदुर महिलालाई बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । उक्त घटनाका विषयमा पनि अनुसन्धान जारी छ । क्याम्पस प्रमुखले पदबाट राजीनामा दिइसकेका छन् ।
प्रतिक्रिया