एकीकृत समाजवादी केन्द्रीय परिषद्को दोस्रो बैठक सुरु

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) केन्द्रीय परिषद् दोस्रो दिनको बैठक सुरु भएको छ । मंगलबार राजधानीमा सुरु भएको उक्त बैठकमा जननेता मदन भण्डारीको ७१औँ जन्मजयन्तीको अवसर परेकाले उनको सम्झना गरिएको छ ।

असार १४ गते मदन भण्डारीको जन्मजयन्ती पर्दछ । सोही अवसरमा जननेता भण्डारीलाई श्रद्धाञ्जली अपर्ण गर्दै समाजवादीको बैठक सुरु भएको छ ।

त्यस्तै असार १५ गतेका दिन कम्युनिष्ट पार्टीका संस्थापक महामन्त्री पुष्पलालको जन्मजयन्ती भएकाले उनीप्रति पनि श्रद्धाञ्जली अपर्ण गरिएको छ ।

सो बैठकमा सोमबार बनाइएको ११ वटा समूहबाट राजनैतिक तथा साङ्गठानिक प्रतिवदनमाथि भएका छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रस्तुत गरेको ३४ पृष्ठको प्रतिवेदनमाथि आज छलफल हुनेछ । बैठकले उक्त प्रतिवेदनलाई पारित गर्ने कार्यसूची रहेको पार्टीले जनाएको छ ।

अध्यक्ष नेपालले प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिदेखि आगामी कार्ययोजनासम्म समेटिएका छन् । राष्ट्रिय राजनीतिको वर्तमान चरित्रबारे व्याख्या गरिएको छ ।

नेपालले एमाले नेतृत्वको शक्तिलाई ‘दक्षिणपन्थी अवसरवादी धार’ भनेका छन् । एकीकृत समाजवादीसमेत सम्मिलित पाँच दलीय गठबन्धनलाई ‘वामलोकतान्त्रिक धार’को रूपमा उनले व्याख्या गरेका छन् ।

प्रतिक्रिया