विश्व सम्पदा सूचीमा सूचीकृत हुँदै तिलौराकोट

काठमाडौं । शाक्यहरूको प्राचीन राज्यको राजधानीको रूपमा रहको तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । पुरातत्व विभागको विश्व सम्पदा संरक्षण शाखा र लुम्बिनी विकास कोषको संयुक्त पहलमा तिलौराकोटलाई उक्त सूचीमा राख्ने तयारी भएको हो । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने गरी विभागका विज्ञ र युनेस्कोका प्रतिनिधिहरूबीच पटकपटक छलफल भइसकेको छ । तिलौराकोटलाई विश्व सम्पदामा पार्न अहिले विभागले धमाधम दस्तावेज तयार गरिरहेको छ ।

यसरी तयार पारिएको दस्तावेजले अन्तिम रूप लिनेबित्तिकै तिलौराकोट सम्पदा सूचीमा पर्ने जानकारी विभागले दिएको छ । गौतम बुद्धले २९ वर्ष बिताएको शाक्यहरूको प्राचीन राज्यको राजधानीको रूपमा रहको ठाउँ हो, तिलौराकोट । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा नै रहेको यो ठाउँ विश्वको सबैभन्दा ठूलो खुला संग्रहालयको रूपमा परिभाषित हुँदै आएको छ । बुद्ध दर्शन र ज्ञान मात्रै प्रसार भएको म्यानमार (बर्मा) का बौद्ध दर्शनका अध्येता तथा अनुसन्धानकर्ताले समेत तिलौराकोटलाई खुला संग्रहालयको रूपमा लिँदै आएका छन् । तिलौराकोटप्रति उनीहरूको अगाध आस्था र सम्मान छ ।
तिलौराकोटलाई सम्पदा सूचीमा राख्दा यसले नेपालको पर्यटन प्रवद्र्धनमा समेत ठूलो उपलब्धि हासिल हुने विभागका अधिकारीहरू बताउँछन् । तिलौराकोटको मुख्य क्षेत्र करिब १ सय ४० बिघा क्षेत्रफलमा फैलिएको छ ।

सरकारले समेत तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिसकेको छ । विभागका अनुसार विश्वमा हालसम्म १ हजार १ सय २१ सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् । सन् १९७२ मा नेपालले युनेस्कोको विश्व सम्पदा महासन्धिमा हस्ताक्षर गरेको थियो ।

सरकारले समेत तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरिसकेको छ । विभागका अनुसार विश्वमा हालसम्म १ हजार १ सय २१ सम्पदाहरू विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् । सन् १९७२ मा नेपालले युनेस्कोको विश्व सम्पदा महासन्धिमा हस्ताक्षर गरेको थियो । त्यसयता काठमाडौं उपत्यका र लुम्बिनी गरेर जम्मा दुई स्थान मात्रै विश्व सम्पदा सूचीमा सूचीकृत रहेका छन् । काठमाडौं उपत्यकाभित्रको काठमाडौं दरबार, भक्तपुर दरबार र ललितपुर दरबार, चाँगुनारायण, पशुपति, बौद्ध र स्वयम्भु गरी सात ठाउँलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरी काठमाडौं उपत्यकालाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ ।

यसैगरी बुद्ध जन्मस्थल लुम्बिनी पनि सम्पदा सूचीमा सूचीकृत छ । चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्जलाई प्राकृतिक सम्पदामा सूचीकृत गरिएको छ । विभागका अनुसार तिलौराकोटलाई संरक्षित स्मारक क्षेत्र घोषणा गरेपछि कुदान, गोटिहवा, निग्लिहवा, अरौराकोट, सगरहवा र सिसनियालाई पनि संरक्षित स्मारक क्षेत्र घोषणा गरी शाक्यहरूको प्राचीन राजधानी कपिलवस्तुलाई विश्व सम्पदा सूचीमा राख्ने योजना विभागको छ ।

सन् १९९७ मा तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल गरिएको थियो । विभागका अनुसार पुरातत्वविद्हरूको टोलीले तिलौराकोटमा अहिले पनि उत्खनन् गरिरहेका छन् । त्यहाँ सन् २०१३ देखि अहिलेसम्म उत्खनन् भइरहेको छ । मौर्यकालीन पोखरीको दक्षिणतर्फको करिब १२ मिटर क्षेत्रको पर्खालको उत्खनन् भएको छ । त्यस्तै पुरातात्विक १० मिटर पर्खालको संरक्षणसमेत गरिएको छ । उत्खनन्बाट तिलौराकोटमा संग्रहालय, पश्चिमी र पूर्वी द्वार, केन्द्रीय संरचना परिसर, मध्यभागको पोखरी, किल्ला, जोडी स्तूप, विहार र प्राचीन औद्योगिक क्षेत्र र प्राचीन सहरको प्रमाणहरू भेटिएका छन् ।

विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीका अनुसार अन्तिम प्रतिवेदन बुझाउने बित्तिकै तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुनेछ । नेपालले सन् १९९६ र त्यसपछिका वर्षमा हालसम्म १५ वटा विभिन्न सम्पदालाई विश्व सम्पदा सूचीमा समावेश गर्न युनेस्को समक्ष आग्रह गरेको छ । तर, ती सम्पदाका बारेमा भने निर्णय हुन बाँकी छ ।

भूकम्पपछि उत्खनन् कम

०७२ सालमा गएको विनाशकारी भूकम्पपछि उत्खनन्भन्दा पनि पुनर्निर्माणले प्राथमिकता पाएको देखिन्छ । भग्नावशेष पुरातात्विक महत्व बोकेका मठमन्दिरहरूको पुनर्निर्माणमा स्थानीय तहसँगै केन्द्र र प्रदेश सरकारसमेत जुटेका छन् । त्यसअन्तर्गत काष्ठमण्डप क्षेत्रको पुनर्निर्माणले अझै पूर्णता पाएको छैन । भग्नावशेष क्षेत्रको पुनर्निर्माणमै व्यस्त हुनु परेकाले काठमाडौं उपत्यका क्षेत्रमा उत्खनन्को कार्यले तीव्रता लिन नसकेको बताउँछन्, विभागका पुरातत्व अधिकृत ज्ञवाली ।

युनेस्कोले बेलाबखत पुरातात्विक क्षेत्रमा मापदण्ड विपरीतका कार्य भएको बारे विभागलाई जानकारी गराउँदै आएको छ । विभागले पनि नियमित रूपमा अनुगमन र निगरानीलाई चासोको रूपमा हेरी कर्मचारी खटाउँदै आएको जानकारी ज्ञवालीले दिए । उनका अनुसार जनशक्ति अभावमा जिल्लामा हुनुपर्ने उत्खनन् कार्य हुन सकेको छैन । ‘उत्खनन् एवं अनुसन्धानका लागि जिल्लाबाट आएका निवेदनका खात लागेका छन् । विशेषज्ञ कर्मचारीको अभावका कारण हामीले पठाउन सकेका छैनौँ’, ज्ञवालीले भने, ‘प्राथमिकताका आधारमा मात्रै उत्खनन् कार्यलाई तीव्रता दिएका छौँ ।’

सम्पदा सूचीमा सूचीकृत सम्पदाहरू

० काठमाडौं दरबार क्षेत्र

० पाटन दरबार

० भक्तपुर दरबार

० पशुपतिनाथ मन्दिर

० स्वयम्भूनाथ

० बौद्धनाथ

० चाँगुनारायण मन्दिर

० लुम्बिनी

० चितवन राष्ट्रिय निकुञ्ज

० सगरमाथा राष्ट्रिय निकुञ्ज

प्रस्तावित १५ सम्पदाहरू

० पनौतीको मध्यकालीन वास्तुकला क्षेत्र

० तिरौलाकोट

० मुस्ताङको मुक्तिनाथ उपत्यकाको गुफा वास्तुकला

० गोरखास्थित मध्यकालीन दरबार क्षेत्र

० रामग्राम

० खोकना

० लोमान्थाङ क्षेत्र

० बज्रयोगिनी र साँखुका प्रारम्भिक बस्ती

० कीर्तिपुरको मध्यकालीन वस्ती

० रूरू क्षेत्रको ऋषिकेश हाता

० नुवाकोट दरबार क्षेत्र

० रामजानकी मन्दिर

० तानसेनको मध्यकालीन नगर

० सिंजा उपत्यका

० दैलेखेको भुर्ति मन्दिर क्षेत्र

१० वर्षयताका मुख्य उत्खनन् कार्य

० भेडियारी पुरातात्विक स्थल, मोरङ

० मौलापुर शिवमन्दिर परिसर, रौतहट

० चतरादेवी पुरातात्विक क्षेत्र, कपिलल्वस्तु

० दोहनी, कपिलवस्तु

० वेतना वेलवारी सीमसार क्षेत्र, मोरङ

० खपडेटार, सिरहा

० राजारानी क्षेत्र डोल्पा

० मुखियापट्टी मुसर्निया, धनुषा

० राजारानी सहर, तनहुँ

० मणी मुकुन्देश्वर आश्रम, देवघाट

० पण्डितपुर, नवलपरासी

प्रतिक्रिया