काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको नाम परिवर्तन गर्न सकिने धारणा व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिस्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताएका हुन् ।
‘देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्छ’, टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानले बिहीबार आयोजना गरेको ‘१९९७ साल असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र २००८ साल असार ३ गते गठन भएको जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा अध्यक्ष ओलीले उक्त धारणा व्यक्त गरेका हुन् ।
अध्यक्ष ओलीले प्रजापरिषद् नामेट पार्न एमालेमा गाभेको नभई उद्देश्यलाई अमर राख्नका लागि एकता गरिएको बताए । ‘प्रजा परिषद्का उद्देश्य अमर रहेका छन् । ती बाँचिरहन्छन्’, उनले भने । ओलीले आचार्यले तत्कालीन समयमा छरेको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्वपूर्ण योगदान दिएको बताए ।
‘मुलुकमा परिवर्तन ल्याउन टंकप्रसाद आचार्यले छर्नुभएको पर्चाको योगदान महत्वपूर्ण रहेको छ’, उनले भने । आचार्यले गठन गरेको नेपाल प्रजापरिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेको धारणा पनि उनले व्यक्त गरे ।
प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टंकप्रसाद आचार्यले छरेको पर्चाले मुलुकमा राजनीतिक जागरण आएको बताए । टंकप्रसाद आचार्यले राणा शासनको विरोधमा १९९७ साल असार ९ गते भोटो देखाउने जात्राका दिन चार वटा पर्चा छरेका थिए । सोही दिनको सम्झनामा पर्चा दिवस मनाउने गरिन्छ ।
प्रतिक्रिया