भ्रातृ र शुभेच्छुक संस्थाले चाँडो पूर्णता पाउनुपर्छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल पार्टीका भ्रातृ संगठनलाई पूर्णता दिन आग्रह गरेका छन् । बिहीबार राजधानीमा आयोजित आगामी निर्वाचनमा भ्रातृ संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता महरले भ्रातृ संगठनले पूर्णता नपाउँदा पार्टी र संगठनका लागि काम गर्ने कार्यकर्ताहरूले स्थान नपाएको बताए ।

‘पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाले पूर्णता नपाउँदा काम गर्न निकै गाह्रो भइरहेको छ। क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भ्रातृ र शुभेच्छुक संस्थाको नेतृत्व जाम छ,’ उनले भने, ‘युवासँगै थुप्रै व्यक्ति बाहिर रहेकाले स्वतन्त्रहरू सलबलाउन थालेका छन् ।

राजनीतिप्रतिको वितृष्णा बढ्दो छ।’ उनले राजनीतिप्रति युवा वर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउनका लागि चाँडोभन्दा चाँडो भातृ तथा सुवेच्छुक संस्थालाई पूर्णता दिनुपर्ने महर बताउँछन् । उनले पदाधिकारीसहितको पूर्ण आकारको कमिटी बनाउन पार्टी नेतृत्व पंक्तिको गम्भीर ध्यानाकर्षण गराउन चाहेको बताए । यसो गर्ने मात्रै नयाँ परिस्थितिसँग प्रतिस्पर्धा गर्न सकिने महरको दाबी छ ।

सबै भ्रातृ र सुवेच्छुक संस्थाको पूर्ण कमिटी बनाउँदा १५ हजार कार्यकर्ताले जिम्मेवारी पाउने महरले बताए । जिम्मेवारी प्राप्त गर्दा मानिसको सक्रियता बढ्ने भएकाले गठबन्धन बिनै पनि पार्टी प्रतिस्पर्धा गर्न सक्षम हुने महरको भनाइ छ ।

प्रतिक्रिया