तरकारी खेतीसम्बन्धी अधिकृतस्तरीय तालिम सम्पन्न

काठमाडौं । तरकारी खेतीसम्बन्धी विदेशी विशेषज्ञद्वारा अधिकृतस्तरीय पाँच दिने तालिम सम्पन्न भएको छ । राष्ट्रिय आलु तरकारी तथा मसला बाली विकास केन्द्र, कीर्तिपुर काठमाडांैको आयोजनामा २७ देखि ३१ जेठसम्म तरकारी बाली विकास केन्द्र खुमलटारमा उक्त तालिम सञ्चालन भएको हो ।

उक्त तालिममा विज्ञका रूपमा नयाँदिल्ली भारतबाट संरक्षित संरचनामा व्यवस्थापनसम्बन्धी विज्ञका रूपमा बिमल जोति कोल र डा.प्रमोद कुमारलाई निमन्त्रणा गरिएको थियो । निमन्त्रणा गरिएका विज्ञ भारतमा करिब चार दशकदेखि संरक्षित संरचना तथा माटोरहित खेतीमा आवद्ध रहेका छन् र हाल बि.के. हाइड्रो पोनिकका प्रमुख सल्लाहकार रहेका छन् भने डा.प्रमोदकुमार सोही संस्थामा बाली विज्ञान प्रमुख रहेका छन् ।

पाँच दिनसम्म संचालन भएको उक्त तालिममा संघ तथा प्रदेशका विभिन्न बागवानी फार्म केन्द्र, कृषि ज्ञान केन्द्र, तालिम केन्द्रका अधिकृत स्तरका कर्मचारी तथा कृषि विषय अध्यापन हुने त्रि.वि. तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट उप–प्राध्यापक तथा नेपाल कृषि अनुसन्धान परिषद्बाट प्राविधिक तथा वैज्ञानिकसहित २५ जनाको सहभागिता रहेको थियो भने संरक्षित संरचनाको निर्माण, स्थल छनौट, तिनका प्रकार, सञ्चालन गर्नका लागि आवश्यक सामाग्री तथा तिनको प्रयोग, माटो, खाद्यतत्व, हावा, प्रकाश, तापक्रमको व्यवस्थापन, रोग र किराको पहिचान तथा नियन्त्रण, माटोबिनाको खेतीका लागि खाद्य तत्वको सूत्रीकरण तथा व्यवस्थापन लगायतका विषयहरूमा जानकारी प्रदान गरिएको थियो ।

सहज सिकाइका लागि तालिम आयोजना भएको स्थान तरकारी बाली विकास केन्द्र, खुमलटारमा अवस्थित संरक्षित संरचनामा प्रयोगात्मक सत्रहरू पनि सञ्चालन भएको थियो । तालिममा निमन्त्रित विज्ञले यस्ता प्रविधि आयात गरी नक्कल गर्नुभन्दा बोटबिरुवालाई आवश्यक हावापानी तथा व्यवस्थापनको सुक्ष्म अध्ययन गरी जानकार भएपछि मात्र आफ्नो हावापानीअनुसार यस्ता संरचनाको निर्माण गरी खेतीगर्दा फाइदा लिन सकिने बताएका थिए ।

प्रतिक्रिया