राष्ट्रियसभाको शून्य समयमा कसले के भने ? (भिडियाेसहित)

काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले वर्षात् नजिकिएसँगै बाढी, पहिरो तथा डुबानबाट हुने क्षति न्यूनीकरण गर्न अहिले नै पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको शून्य समयमा सांसदहरूले प्राकृतिक प्रकोपबाट बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको भन्दै क्षति न्यूनीकरणमा ध्यान दिन सरकारकासँग आग्रह गरेका हुन् ।

गत वर्ष मनाङ, सिन्धुपाल्चोकलगायत जिल्लामा गएको पहिराका कारण मानवीय र अर्बाैको भौतिक क्षति भएको थियो । नेकपा (एकीकृत समाजवादी)का सांसद नन्दा चपाईंले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरण गर्न अव्यवस्थितरूपमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराए ।

सम्भावित जोखिमको आकलन गर्दै जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएका नागरिकलाई सुरक्षित स्थानमा सार्न सके मानवीय क्षति हुनबाट रोक्न सकिने उनको भनाइ थियो । नेकपा (एमाले)का सांसद दीपा गुरुङले सडकसँग जोडिएका विद्युत्का तार हटाउन माग गरिन् । एमालेका सांसद दीलकुमारी रावल थापा (पार्वती)ले महिला हिंसाका घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरिन् ।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले विश्वव्यापी फैलिएको मङ्कीपक्स रोग फैलन नदिन आवश्यक सतर्कता अपनाउन सरकारसँग माग गरे । नेकपा (माओवादी केन्द्र)का सांसद महेशकुमार महराले नेपालगञ्जमा जनआन्दोलनका सहिदको शालिक भत्काउने कार्यमा संलग्नलाई कारबाही गर्न माग गरे । माओवादीकै सांसद हरिराम चौधरीले सातै प्रदेशबाट सवारी चालक अनुमतिपत्र दिने व्यवस्था मिलाउन आग्रह गरे । – रासस

प्रतिक्रिया