झापा । ग्रामीण क्षेत्रका मकै किसान यतिबेला उत्साहित छन् । उनीहरूले लगाएको मकैमा दाना लाग्न सुरु भएसँगै खेतबाटै बोटैसँगै मकै बिक्री हुन थालेपछि उनीहरू उत्साही भएका हुन् । जिल्लाका ठूला गाईफार्म सञ्चालकले किसानका खेतमा गएर साइलेज बनाउनका लागि मकै खरिद गर्न थालेका छन् । किसानहरू पनि बोटैमै मकै नपाकी राम्रो मूल्य पाउन थालेपछि सन्तुष्ट भएका हुन् । मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीका मकै किसान ६५ वर्षीय हिमाल पोखरेलले खेतबाटै ८० हजारभन्दा बढीको मकै बिक्री गरेका छन् । उनले लगाएको एक बिघा जमिनको मकै साइलेज बनाउनका लागि गाई फार्म सञ्चालकहरूले खरिद गरेका थिए । ‘मकै भाँच्नु, नंग्याउनु, छोडाउनु र सुकाउनु पनि नपर्ने, मूल्य पनि राम्रो आयो,’ उनले भने, ‘बिना झन्झट बोटमै बिक्री भएपछि बिनाखर्च आम्दानी पनि बढ्यो ।’ लगाएको बालीबाट झन्झटबिनै आम्दानी भएका कारण किसान खुसी भएका हुन् ।
किसान पोखरेलले खेतबाटै प्रतिकेजी ४ रुपैयाँ ५० पैसाको दरले बोटसँगैको मकै बिक्री गरेको जानकारी दिए । मकै सुकाएर बेच्दा भनेजस्तो मूल्य पनि नपाउने र खर्च पनि बढी भइरहेको अवस्थामा बोटबाटै भएको बिक्रीले ग्रामीण क्षेत्रका किसानलाई राहत मिलेको छ । मेचीनगरको ज्यामिरगढी, दुहागढी क्षेत्रको मकै साइलेज बनाउनका लागि नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गरेको एनएमसी कृषि फार्मले खरिद गर्दे आएको छ । एनएमसीले मेचीनगर–१४ स्थित दुहागढीमा प्रांगारिक नमुना तरकारी खेतीसँगै गाईफार्म समेत सञ्चालन गर्दै आएको छ ।
संस्थालाई भाडामा लिएर लगाइएको जमिनको मकैले मात्र नपुगेपछि कनकाई नगरपालिका, झापा गाउँपालिका र मेचीनगरका किसानको मकै समेत खरिद गरेर साइलेज बनाइरहेको एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीले बताए । साइलेज बनाउनका लागि किसानको १० लाख केजी मकै खरिद गरिएको उनले जानकारी दिए । चैत महिना भित्र खरिद गरिएको मकै प्रतिकेजी पाँच र बैशाख लागेपछि प्रतिकेजी ४ रुपैयाँ ५० पैसाका दरले किसानको मकै खरिद गरिएको उनले बताए ।
अध्यक्ष उप्रेतीले गाईवस्तुका लागि पोसिलो आहार मानिने साइलेज अरू गाई फार्मलाई समेत बिक्री गरिने जानकारी दिए । उनका अनुसार दमकमा रहेको पाथीभरा एग्रो फार्मले पनि १० लाख केजी मकैको साइलेज बनाएको छ । यसपटक जिल्लाको मेचीनगर, दमक, विर्तामोडलगायत ठूला साना गाई फार्महरूले करिब एक करोड केजी मकैको साइलेज बनाएको उनले सुनाए ।
दुई वर्षअघि एनएमसीले साइलेज बनाउन सुरु गरेसँगै जिल्लामा अन्य फार्महरूले समेत अघि बढेका छन् । तयार भएको साइलेज बिक्रीका लागि एमएमसीले बुकिङसमेत खुला गरेको छ । अध्यक्ष उप्रेतीले तयार भएको साइलेज जेठदेखि असारसम्ममा प्रतिकेजी १० रुपैयाँका दरले बिक्री गर्ने र साउन लागेपछि त्यसको मूल्य पनि बढ्न सक्ने बताए ।
प्रतिक्रिया