असारमा मल अभाव हुन्न : मन्त्री यादव

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्रराय यादवले रोपाइँको समयमा मलको अभाव नहुने बताएका छन् । भारतसँग जीटुजी (सरकार–सरकार) सम्झौताअनुसार जेठभित्र ६० हजार मेट्रिकटन मल आइपुग्ने र बाँकी टेन्डरबाट पनि ल्याउने प्रक्रिया सुरु भएकाले असारमा मलको अभाव नहुने उनको दाबी छ । यस वर्ष किसानका लागि नानो युरिया झोल मल पनि ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट (अनाज) द्वारा शुक्रबार आयोजित आत्मनिर्भर र साना किसानका सवाल विषयक अन्तरक्रिया कार्यक्रममा उनले आगामी बर्षे वालीको समयमा मलको अभाव नहुने दाबी गरेका छन् । कृषिमा देखिएको समस्या कृषि नीति तथा कृषि ऐन आएपछि समाधान हुने बताए । कृषि नीति तथा कृषि ऐन निर्माण प्रक्रियामा रहेको जानकारी गराउँदै उनले कृषिका धेरैजसो काम कृषि नीति तथा ऐन नहुँदा प्रभावित हुने गरेको बताए । यादवले कृषिका लागि बजेट पर्याप्त नभए पनि हाल देश तथा विश्वको अर्थतन्त्रको मध्यनजर गर्दै कृषि बजेटमा वृद्धि नभएको पनि मन्त्री यादबले बताए ।

खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले रासायनिक मलको अभाव भइरहेका बेला सरकारले प्रांगारिक मलमा जोड दिनुपर्ने सुझाव दिए । किसानको गोठलाई नै मल कारखानाका रूपमा विकास गर्न सरकारले किसानलाई सहयोग गर्नुपर्ने उनको भनाइ छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम किसानमैत्री नभएको गुनासो गर्दै उनले विदेशबाट सीप सिकेर आउने युवाकेन्द्रित नीति बनाउनुपर्ने सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतका कृषि उद्यम केन्द्रका सभापति अजय सुमार्गीले कृषि बजेट वितरणमुखी हुने गरेको गुनासो गर्दै आगामी आर्थिक वर्षको बजेट विकासमुखी हुनुपर्ने बताए । उनले अनुदानका कारण कृषि क्षेत्र कमजोर हुँदै गएको भन्दै अब सरकारको मुख नहेरी किसान तथा उद्यमीले आफैं काम गर्नुपर्ने बताए ।
कृषिविज्ञ तेजबहादुर सुवेदीले नेतृत्व परिवर्तन भए पनि नीति परिवर्तन गर्न नहुने बताए । मन्त्रालयदेखि अन्य निकाय तथा विभागमा नेतृत्व परिवर्तन भएसँगै नीति पनि परिवर्तन हुने कारण कृषिमा सोचे जस्तो काम हुन नसकेको उनको गुनासो थियो ।

प्रतिक्रिया