लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु : स्थापित


काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा पराजित एमाले उमेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन्द्र शाह (बालेनलाई) बधाई दिएका छन् । उनले शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत महानगरवासीले गरेको भरोसाको सम्मान बालेनले गर्ने अपेक्षा पनि राखेका छन् ।


साथै काठमाडौंको विकास र समृद्धिप्रति आफ्नो आकांक्षा नधर्मराएको उनको भनाइ छ । ‘जनताको सेवक भएर काम गर्ने मेरो आकांक्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न सकेन । यद्यपि, यहाँको विकास र संवृद्धिप्रतिको मेरो आकांक्षा अलिकति पनि धरमराएको छैन,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।


उनले पटक–पटक लडेर पनि धुलो टक्टक्याएर उठेको व्यक्ति भएको पनि बताएका छन् । ‘म पटक–पटक लडेर पनि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौं म र मेरो पुस्तौंपुस्ता जन्मिएको माटो हो,’ उनले लेखेका छन्, ‘त्यसैले मलाई यहाँको माटो, सम्पदा, संस्कृति, विकास र समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’ उनले उपमेयरमा निर्वाचित एमालेकी सुनिता डंगोललाई पनि बधाई दिएका छन् ।

प्रतिक्रिया