ललितपुरको प्रमुखमामा चिरिबाबु र उपप्रमुखमा एमालेकी मन्जली निर्वाचित

काठमाडौं । चिरिबाबु महर्जन ललितपुर महानगरपालिकाको मेयरमा पुनः निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका महर्जन ४२ हजार ७२२ मतसहित विजयी भएका हुन् ।

उनले नेकपा एमालेका हरिकृष्ण ब्यञ्जनकारको भन्दा १८ हजार १६२ मत बढी ल्याए । ब्यन्जनकारले २४ हजार ५६० मत मात्रै पाए । दोस्रो कार्यकालका लागि निर्वाचित मेयर चिरिबीबु महर्जनले यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा हरिकृष्ण ब्यञ्जनकारलाई ३ सय २६ मतले पराजित गरेका थिए । यो पटक भने भारी मतान्तरले महर्जन विजयी भएका छन् । मेयरका उम्मेदवार रहेका राप्रपाका अष्ट महर्जनले ५हजार ५५४ मात्रै मत पाए ।

ललितपुर महानगरको उपप्रमुखमा नेकपा एमालेकी मन्जली शाक्य निर्वाचित भइन् । उनले २५ हजार ८४ मत ल्याएर जित हासिल गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८ हजार ७५२ मत पाए । बज्राचार्य गठबन्धनबाट उपमेयर पदमा उम्मेदवार थिए ।

राप्रपाकी स्वर्णिमा शाक्यले ७ हजार ७७८ र स्वतन्त्र उम्मेदवार अजरमान जोशीले ७ हजार २९ मत पाए । जोशी कांग्रेसबाट असन्तुष्ट बनेर उम्मेदवार बनेका थिए । उमेदवार नै नभएको रुख चिह्नको उपमेयरमा नौ हजार ६२१ मत खसेको थियो ।

२९ वटा वडा रहेको ललितपुरमा ८५ हजार ९६५ मत खसेको थियो । जम्मा २९ वटा वडा रहेको ललितपुर महानगरपलिकामा ४, ६, ७, ८, ९, १०, ११, १४, १६, २० र २८ वडासहित ११ वटा बडाको प्रमुखमा नेपाली कांग्रेसले जीतेको छ । ५, १२, १५, १७, १८, १९, २२, २३, २४, २५, २९ सहित ११ वटामै नेकपा एमाले विजयी भएको छ ।

यस्तै २१, २६ र २७ जम्मा ३ वटा वडामा नेकपा माओबादी केन्द्रले जित हात पारेको छ । वडा नम्बर १ र १३ मा स्वतन्त्र उम्मेदवारले जितेका छन् भने वडा नम्बर २ र ३ एकीकृत समाजवादीले जीत हात पारेको छ ।

प्रतिक्रिया