धरानेको हर्ष बन्लान् त हर्क ?

धरान । स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई रुचाएका हुन् । साम्पाङले ठूला पार्टीलाई पछि पार्दै उपमहानगरको प्रमुखमा विजयी भएका छन् ।

साम्पाङको उपमहानगर प्रमुखमा विजयीपश्चात् स्थानीयले राजनीतिक दलप्रतिको ‘वितृष्णा’ उजागार गरेको चर्चा यत्रतत्र हुन थालेको छ । धरानमा एउटा सामान्य नागरिकले इतिहाससमेत बनाएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई ४ हजार ७ सय ६२ मतान्तरले पराजित गरेका हुन् । साम्पाङले २० हजार ८ सय २१ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी राईले १६ हजार ६९ मत प्राप्त गरे ।

सामाजिक अभियन्ताका रूपमा दरिएका साम्पाङले धरानमा भएको खानेपानी समस्या, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको बेथितिबारे एक्लै आवाज उठाउँदै आएका थिए । उनले प्रमुखमा उम्मेदवारी दिने भएपछि उपमहानगरमा भइरहेको बेथितिबारे एक्लै भाषणमार्फत सन्देश फैलाउँदै घरदैलो गरेका थिए ।

एक्लै भए पनि उनले धरानको विकासमा खेल्नुपर्ने भूमिकाबारे बताउँदै आएपछि धरानका स्थानीयले यसपाली उनलाई लोकप्रिय मत दिएर जिताएका छन् । उनले २०७६ को उपनिर्वाचनमा पनि प्रमुखमा उम्मेदवारी दिँदा जम्मा ४ सय ४२ मत प्राप्त गरेका थिए ।

को हुन हर्क साम्पाङ :

हर्क साम्पाङ, खोटाङको खार्ताम्छाबाट धरान झरेर राजनीतिशास्त्र र समाजशास्त्र पढ्दै गायनमा संघर्षरत व्यक्ति हुन् । ०३९ साल फागुन १५ गते खोटाङको खार्ताम्छामा जन्मिएका साम्पाङ त्यहीको शुक्रबारे माविबाट प्रवेशिका उत्तीर्ण गरी ०५६ सालतिर उच्च शिक्षा अध्ययन गर्न धरान झरेका थिए ।

उनले महेन्द्र बहुमुखी क्याम्पस धरानबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन् । अध्ययनकै क्रममा उनले धरानस्थित एक ‘ल्याङवेज सेन्टर’मा अंग्रेजी भाषा प्रशिक्षकका रूपमा पनि काम गरेका थिए । त्यसको केही समयपछि विदेशिएका साम्पाङ अफगानिस्तान र इराकमा ६ वर्ष बसेर देशमै केही गर्नुपर्छ भनेर सामाजिक काममा लाग्दै आएका थिए ।

अहिले उपमहानगर प्रमुखमा लोकप्रिय मत ल्याएर विजय हासिल गरेका साम्पाङ सामाजिक अभियानमा समेत निरन्तर लाग्दै आएका थिए । तर चर्चा भने कम नै थियो ।

उनले धरानको धनकुटे मार्ग भएर जाने १ सय ५ मिटर चौडाइको मदन भण्डारी राजमार्गअन्तर्गत स्थानीय बासिन्दाको घरजग्गा जोगाउने अभियानबाट आफ्नो समाजिक काम सुरुआत गरेका हुन् । सडक विस्तारका नाममा स्थानीयलाई सुकुम्बासी बनाउन नहुने कुरा उठाएपछि साम्पाङको परिचय फैलँदै गयो ।

सन् २०१२ मा धरान खानेपानी आयोजना सम्झौता भई काम सुरु भएर पानी वितरण त भए पनि समस्या भने ज्युँकात्युँ रह्यो । अहिले पनि धरानमा खानेपानी अभाव छ । साम्पाङले पहिलोपटक हिक्मतका साथ आयोजनाप्रति प्रश्न गर्न थाले । खानेपानीमा केही राजनीतिक चलखेल भएको जनाउँदै उनी एक्लै सडकमा उत्रिए ।

यस विषयमा बिस्तारै अन्यले पनि साथ दिँदै गए । धरानको खानेपानी आयोजना, बिपी प्रतिष्ठानको भ्रष्टाचार र बेथिति र महँगीविरुद्ध उनले आवाज बुलन्द पार्दै आए । उनको अभियानलाई धरानका स्थानीयले साथ दिन थालेपछि निरन्तर खबरदारीमा लागि रहे उनी ।

‘सतिसाल’झैँ नागरिकका सानातिना समस्यामा उनले आवाज उठाइरहँदा आज अरूको साथ नपाए पनि धरानका स्थानीयको पूर्ण साथ पाएका छन् । जनताको सेवा गर्न चुनिएका राजनीतिक दलका जनप्रतिनिधि गम्भीर नहुँदा स्थानीयमा असन्तुष्टि चुलिएको उनको बुझाइ छ ।

त्यही असन्तुष्टिका कारण आफूले लोकप्रिय मत पाएको उनले सुनाए । ‘यो चुनावमा न मेरो कुनै संगठन थियो र छ, न म कुनै सेलेब्रिटी वा धनाढ्य हुँ । तर मैले जनताको समस्या सार्वजनिकरूपमा उठाएकाले स्थानीयले मलाई विश्वास गर्नुभयो । उहाँहरूप्रति धेरै कृतज्ञ छु,’ नवनिर्वाचित साम्पाङले भने ।

०७४ को स्थानीय तहको चुनावमा उनी केवल मतदाता भएर मैदानमा थिए । ०७६ को उपचुनावमा भने उनी तिनै मुद्दा लिएर एक्लैको निर्णयले स्वतन्त्र उम्मेदवार बने । भ्रष्टाचारमुक्त समाज र पारदर्शी शासन उनको मान्यता रहेको छ ।
उनले धरानको खानेपानीको व्यवस्थापन आफ्नो पहिलो जिम्मेवारी भएको बताएका छन् ।

‘धरानका सबैलाई खानेपानी व्यवस्था गरेपछि मात्र मेरो जित हुन्छ’, उनले भने । धरानका स्थानीयका अनुसार ३९ वर्षका हर्क साम्पाङ एक दशकदेखि धरानका सडकमा कहिले एक्लै त कहिले सानो समूह लिएर प्ले कार्ड, ब्यानर, पर्चा लिएर सधैँ भेटिइरहने सामाजिक अभियन्ता हुन् ।

उनको सर्दु जलाधार क्षेत्र संरक्षण अभियान पनि योगदान रहेको बताइन्छ । सर्दु जलाधर क्षेत्रमा मुआब्जा पाइसकेका स्थानीयले केही व्यक्तिसँग मिलेर फेरि जमिन हडप्ने र बेचबिखन गर्ने गरेपछि कृष्णनारायण पालिखे नेतृत्वको ‘जनसरोकार मञ्च’ले अभियान चलाइरहेको थियो ।

साम्पाङ पनि त्यसमा जोडिएर सोही मुद्दा बोकेर हिँड्ने क्रममा कृष्णनारायण पालिखेको मृत्यु भएपछि त्यस अभियानको काम साम्पाङले सम्हालेका थिए । एकपछि अर्को सामाजिक अभियान सञ्चालनमा ल्याएका साम्पाङलाई स्थानीयले यसपटक जनमत दिने मौका पाए । दलप्रति स्थानीयले पटकपटक गरेको विश्वास र अपेक्षा पूरा नभएका कारण आक्रोशपूर्ण अभिव्यक्ति मतमार्फत व्यक्त गरेको धेरैको विश्लेषण छ ।

‘धरानका नागरिकले आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहेका सामाजिक अभियन्ता स्वतन्त्र उम्मेदवार हर्कराज राईलाई विजयी गराउनुभयो, यो सुखद् विषय हो,’ महेन्द्र बहुमुखी क्याम्पसका उपप्रध्यापक राजेश विद्राहीले भने । महानगर उपप्रमुखमा भने माओवादीका अइन्द्रविक्रम बेघाले जित हासिल गरेका छन् ।

धरानमा पछि पर्यो एमाले

वामपन्थी गढका रूपमा चिनिएको धरान उपमहानगरमा नेकपा (एमाले)का लागि ठूलो प्रतिष्ठाको विषय थियो । २०४८ देखि वामपन्थीले जित्दै आएको धरान एमालेको ‘लालकिल्ला’का रुपमा चिनिएको थियो । तर पछिल्लो समय लालकिल्ला तोडिँदै आएको छ ।

स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले एमालेको लालकिल्ला भत्काए । नेकपा (माओवादी केन्द्र) र एमाले एक भएको बेला १६ हजार मतान्तर हुँदा राईले वामपन्थी उम्मेदवार प्रकाश राईलाई हराएर एमालेलाई पछाडि पारेका हुन् ।

ठूलो संघर्ष गरेर पाएको विरासत जोगाउन कांग्रेसले फेरि गठबन्धनका घटक माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र जनमोर्चाका साथमा उम्मेदवारी दिए पनि एउटा समान्य नागरिक जो धरानका लागि सपना बोकेर एक्लै हिँडिरहेका थिए, हर्क साम्पाङले जीत हासिल गरे ।

धरानको राजनीतिक इतिहासलाई फर्केर हेर्दा २०१७ सालमा नगरपालिका घोषणा भएसँगै वामपन्थीले लगातार प्रमुखमा जीत हासिल गर्दै आएको थियो । ०४६ को जनआन्दोलनपछि तत्कालीन संवैधानिक राजतन्त्रको पालामा ०४८ र ०५४ सालमा भएका निर्वाचानमा समेत एमालेले विजयी हासिल गर्दै आएका थिए ।

०४८ मा ध्यानबहादुर राई, ०५४ मा मनोज मेन्याङ्बोले प्रमुखमा जित हासिल गरेका थिए । ०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका तारा सुब्बाले उपमहानगरको नेतृत्व गरे ।

०७६ को उपनिर्वाचनमा तिलक राईले नेकपाका उम्मेदवार प्रकाश राईलाई हराउँदा तिलकले २६ हजार ७ सय ९ मत प्राप्त गरे भने प्रकाश राईले २३ हजार ९ सय १४ मत पाएका थिए ।

धरानको कुल मतदाता १ लाख ३ सय २४ रहेकामा यसपटकको निर्वाचनमा ६२ हजारले मतदान गरेका छन् । यसपटक ठूला दलका उम्मेदवारलाई पाखा लगाउँदै हर्क साम्पाङले लोकप्रिय मत पाएका छन् ।

प्रतिक्रिया