काठमाडौं । मानव स्वास्थ्यलाई हानि पुर्याउने गरि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) ले दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गरिरहेको अवस्थामा निजी क्षेत्रले उत्पादन गर्ने उत्पादन पनि गुणस्तरहिन अवस्थामा भेटिएका छन् । अर्थात डीडीसी र निजी क्षेत्रबाट उत्पादन भएका दूध तथा दुग्धजन्य पदार्थ मानव स्वास्थ्यका लागि हानिकारक भएको अवस्थामा फेला पारिएको छ ।
खाद्य पदार्थको गुणस्तरको सबालमा नियमन गर्दैआएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पछिल्लो नौं महिनाको(साउनदेखि चैतसम्म) तथ्याँक सार्वजनिक गर्दै निजी क्षेत्रको उद्योगबाट उत्पादित दूध तथा दुग्धजन्य पदार्थ गुणस्तरहिन अवस्थामा फेला परेको जनाएको छ । मानव स्वास्थ्यलाई ठूलो हानी पु¥याउने गरि दूध तथा दुग्धजन्य पदार्थ उत्पादन भइरहेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । नियमनको क्रममा पछिल्लो नौं महिनाको अवधीमा १२ वटा निजी क्षेत्रका डेरीविरुद्ध १३ वटा मुद्दा दायर गरिएको महर्जनले जानकारी दिए । उनकाअनुसार मुद्दा दायर भएको १२ डेरीको दूध तथा दुग्धजन्य पदार्थ दूषित र न्युन गुणस्तर अवस्थामा फेला पारिएको छ ।
दूध तथा दुग्धजन्य पदार्थमा कोलिफर्मको उपस्थिति भएमा वा यस्ता पदार्थमा मानव स्वास्थ्यलाई हानि गर्ने गरि बाह्य पदार्थ समिश्रण गरिएको फेला परेमा त्यसलाई दूषित अन्तर्गत राखिन्छ । यस्तै सरकारले तोकेको मापदण्डअनुसार दूध र दुग्धजन्य पदार्थमा चिल्लोपनाबाहेकको ठोस पदार्थ र तरको परिमाण उपस्थित नभएकालाई न्युन गुणस्तरमा राख्ने गरिन्छ ।
सरकारले प्रशोधित दूधमा कम्तीमा चिल्लोपनाबाहेक ठोस पदार्थ (एसएनएफ) को मात्रा ८ र घृतांश वा तर (फ्याट) को मात्रा ३ प्रतिशत अनिवार्य रुपमा हुनुपर्ने मापदण्ड बनाइएको छ । ‘अधिकाँश दूध र दुग्धजन्य पदार्थ दूषित र न्युन गुणस्तर भएको अवस्थामा फेला पारेका छौं,’ प्रवक्ता महर्जनले भने,‘मानव स्वास्थ्यलाई हानि गर्ने गरि उत्पादन गरेको उद्योगविरुद्ध खाद्य ऐनअनुसार हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेका छौं ।’ उनकाअनुसार मुद्दाको दायरामा ल्याइएका अधिकाँश उद्योगको दूध र दुग्धजन्य पदार्थमा कोलिफर्म पाउनुका साथै एसएनएफ र फ्याटको मात्रा निक्कै कम परिमाणमा भेटिएको छ । उद्योगीले मापदण्डअनुसारको परिमाणमा यस्ता तत्व उपलब्ध छ भनेर रकम असुल गरेपनि कम गुणस्तरको दूध र दुग्धजन्य पदार्थ भिडाउँदै आएको छ ।
डीडीसीले पनि उत्पादन गर्ने काउ मिल्क, डीडीसी फुल क्रिम मिल्क, डीडीसी स्ट्यान्डर्ड मिल्क, डीडीसी टी मिल्कलगायतबाट ४ देखि १० लाइनसम्म तरमा लाइन मारेर ठूलो घोटाला गर्दैआएको पछिल्लो समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमन तथा अनुसन्धानको क्रममा खुलेको थियो ।
विभागकाअनुसार पछिल्लो समयमा दूषित तथा न्युन गुणस्तरको दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गरेको अभियोगमा उपत्यकाको कन्ट्री फुड्स प्राली, मोर्डन डेरी प्राली, कालिका डेरी प्राली, राजधानी डेरी प्राली, जगदम्बा डेरी प्राली, संयुक्त डेरी एण्ड फुड्स प्राली, काठमाडौं डेरी प्राली, भक्तपुर डेरी प्राली, शिवम डेरी प्राली, सैंजु डेरी प्राली, सरस्वति डेरी उद्योग (नवलपरासी) र बालाजी डेरी उद्योग (बिराटनगर) विरुद्ध मुद्दा दायर गरिएको छ । यसमध्ये संयुक्त डेरी एण्ड फुड्स प्रालीविरुद्ध दूषितअन्तर्गत दुईवटा मुद्दा दायर गरिएको छ ।
विभागले पछिल्लो समयमा मानव स्वास्थ्यलाई हानि पु¥याउने गरि गुणस्तरहिन बस्तु उत्पादन गरेको अभियोगमा ६४ उद्योग तथा व्यापारिक प्रतिष्ठानमाथि मुद्दा दायर गरेको छ । यसमध्ये १३ मुद्दा डेरी उद्योगसम्बन्धी मात्रै छन् । डेरीपछि सबैभन्दा बढी प्रशोधित खानेपानी(जार र वोतल) सम्बन्धी ८ वटा मुद्दा दायर गरिएको छ । यसमा अभिनाश अभिषेक ड्रिक्स उद्योग नवलपरासी, एक्वा नेपाल विश्लेरी रुपन्देही, एक्वा एक्टिभ वेभरेज बिराटनर, छुमा गणेश शुद्ध खानेपानी भक्तपुर, आक्वा मिनरल नेपाल प्राली काठमाडौं, माया वाटर उद्योग रुपन्देही, बडीखेल खानेपानी उद्योग ललितपुर र आरसी वाटर एण्ड वेभरेज धनगढी रहेका छन् ।
यसबाहेक तोकिएको मापदण्डविपरित उत्पादन गरेको अभियोगमा बेकरी, मसला, चाउमिन र चाउचाउ, कुखुराको दाना, खाद्यान्न, खानेतेललगायतका उद्योगसहित मिठाई उत्पादन गर्ने प्रतिष्ठानविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
प्रतिक्रिया