बर्डफ्लुले २५ करोडको क्षति

काठमाडौं । चितवनको खैरहनीस्थित अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्ममा पालिएको कुखुरामा बर्डफ्लु भएको पुष्टि भएको छ । ठूलो संख्यामा कुखुरा रहेको उक्त फार्मको फूल अटोमेसन क्लोज हाउसमा पालिएको लेयर्स कुखुरामा संक्रमण भेटिएको हो । बर्डफ्लु देखिएसँगै कुखुरा, अण्डा, दाना, क्रेट, कार्टुनलगायतका सामग्री नष्ट गर्न लागिएको छ । फार्मका सञ्चालक सुमा अर्यालकाअनुसार बर्डफ्लुका कारण प्रत्यक्ष अप्रत्यक्ष रुपमा २५ करोड हाराहारीमा नोक्सानी हुने देखिएको छ ।

बीस वर्षअघिदेखि अर्यालले उच्चतम प्रविधि अपनाएर कुखुरा पाल्दै आएका छन् । पोल्ट्री व्यवसायमा ७० करोडभन्दा बढी लगानी भइसकेको उनले बताए । भेटेनेरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र भरतपुरका प्रमुख सुशील केसीका अनुसार देशभरमा बर्डफ्लुका कारण सबैभन्दा बढी नोक्सान चितवनमा भएको छ ।

जिल्लामा यसबाहेक ३१ वटा पोल्ट्री फार्ममा बर्डफ्लु देखापरेको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको बर्डफ्लु अहिले जिल्लाभरि नै देखिएको हो । जिल्लामा यसबाहेक बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३ सय १२ लेयर्स कुखुरा मारिएको कार्यालयले जनाएको छ । केन्द्रका सूचना अधिकारी डा.प्रभाश न्यौपानेका अनुसार ब्रोइलर ६४६, कडकनाथ ८९६, हाँस ३५ वटा नष्ट गरि सकिएको छ ।

बर्डफ्लुका कारण जिल्लामा एक लाख ७८ हजार २२६ वटा अण्डा, ६२ हजार ९२० किलो दाना, ५८ हजार २२० क्रेट, छ हजार टर्की ब्रिडिङ अण्डा, प्यारेन्ट ब्रोइलर तीन हजार ४७६ वटा, एक हजार ३८० वटा गिरीराजको अण्डा, कार्टुन एक हजार ५००, डाला ६६० र तयारी मासु ४० किलो नष्ट गरिसकिएको न्यौपानेले जानकारी दिए । अन्नपूर्णको नष्ट गर्ने काम भइरहेको छ। सबै नष्ट गर्न केही दिन लाग्ने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया