आफ्नै व्यवसायमा रम्दै कोइली

तुलसीपुर । दाङको राप्ती गाउँपालिका–५ लठ्ठवाका कोइली कुमारी चौधरीलाई कुनै समय मालिक कहाँ मजदुरी गर्नुपथ्र्याे । पाँच वर्ष घर तथा भवन निर्माणमा ‘लेबर’ काम गरेपछि आफैँ मिस्त्रीको काम सिकिन उनले । सात वर्ष मिस्त्री भएर काम गरेपछि उनलाई आफैँले व्यवसाय गर्नुपर्छ भन्ने लाग्यो र कुखुरा फार्म सञ्चालन गरिन् । चौधरीले २०७४ सालदेखि ब्रोइलर कुखुरा फार्म सञ्चालन गरेकी हुन् । सिसहनियास्थित लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शाखाबाट ऋण लिएर उनले फार्म सञ्चालन गरिन् ।
‘सुरुमा तीन लाख रुपैयाँ ऋण लिएर मैले व्यवसाय सुरु गरे,’ उनले भननिन्, ‘त्यसपछि विस्तारै–विस्तारै बढाउँदै लगेकी हुँ ।’ कुखुरापालनबाट राम्रो आम्दानी हुन थालेपछि उनले यसलाई निरन्तरता दिइन् । कुखुरापालनबाट मात्रै मासिक ६० हजार रुपैयाँ आम्दानी हुने गरेको उनले बताइन् । ‘आम्दानी पनि राम्रो हुन थाल्यो, आफ्नै व्यवसाय गर्दा मान, प्रतिष्ठा, इज्जत पनि भयो,’ उनले भनिन् ।


कुखुरापालनका लागि दुई वटा खोर निर्माण गरेकी छन् उनले । एउटामा ६५० र अर्कोमा ७०० कुखुरा अटाउँछन् । एक लाख रुपैयाँको हाराहारीमा उक्त कुखुरापालन सुरु गरेको चौधरीले बताइन् । मिस्त्री पेशाबाट अवकास लिएर कुखुरापालन सुरु गर्दा त्यस बारेमा उनीसँग अनुभव थिएन । अनुभव नहुँदा सुरुसुरुमा केही समस्या भए पनि अहिले भने सहज भएको उनले बताइन् । सुभम पोल्र्टी फार्ममार्फत उनले व्यवसाय गरेकी हुन् । कुखुरापालनबाट आम्दानी बढेपछि अन्य दुईवटा व्यवसाय पनि थप गरेकी छन् उनले । लक्ष्मी बैंकबाटै पछिल्लो पटक १५ प्रतिशत ब्याजदरमा पाँच लाख रुपैयाँ ऋण लिएर उनले माछापालन र बंगुर पालन पनि सुरु गरिन् । अहिले उनका दुईवटा पोखरीमा तीन हजार जति माछा छन् । नैनी, राहु, सिलभस, विघेटलगायत माछापालन गरेकी उनले मासिक ३०÷३५ हजार रुपैयाँ आम्दानी गर्दै आएकी छन् ।


‘माछापालन गर्नका लागि लगानी पनि धेरै लागेको छैन । मात्रै २७ हजार लगानी लगाएर माछापालन सुरु गरेको छु,’ उनले भनिन्, ‘व्यवसाय गर्ने इच्छा हुनुप¥यो, धेरै लगानी पनि चाहिदैन ।’ उनको बंगुर फार्म पनि छ । बंगुरबाट भने उल्लेख्य रुपमा आम्दानी लिन नसकेको उनले सुनाइन् । पटकपटक हुने मूल्य ह्रासले गर्दा उल्लेख्य रुपमा आम्दानी गर्न नसकेपनि आफू यो व्यवसायबाट सन्तुष्ट रहेको उनले बताइन् । ‘मैले तीन वटै व्यवसायसँगै गरेकोे छु, एउटाबाट नाफा नभए, अर्कोबाट हुन्छ,’ उनले भनिन्, ‘यी व्यवसाय एकअर्कालाई सहयोग गरेका छन् ।’ १० हजार रुपैयाँ लगानी गरेर बंगुर खोर बनाएकी उनको फार्ममा अहिले साना ठूला गरी १७ वटा बंगुर पालन भइरहेको चौधरीले बताइन् ।


मिस्त्रीको अनुभवः लामो समय घर बनाउने मिस्त्रीको रुपमा काम गरेकी उनले त्यसबाट पनि राम्रै आम्दानी गरेकी थिइन् । मिस्त्रीको रुपमा काम गर्न त्यति बेला काठमाडौँ जानुपथ्र्यो । उनले १२ वर्ष काठमाडौँ बसेरै काम गरिन् । मिस्त्री काम प्रायः पुरुषले गर्ने भए पनि वीरलै रुपमा महिला पनि भेटिन्थे तर पुरुषजस्तो सहज भने नभएको उनको अनुभव छ । ‘महिला प्रायः मिस्त्री काम गर्ने थोरै हुन्छन्, उनले भनिन्, ‘त्यसमा पनि महिलालाई निकै समस्या हुन्छ । घरको पाँच तलामाथि गएर पनि काम गर्नुपथ्र्यो ।’ पुरुष र महिलाबीच हेर्ने व्यवहार पनि समान नहुने गरेको उनको अनुभव छ । ‘महिलाले के मिस्त्री काम गर्न सक्लान्, भन्ने हुन्थ्यो,’ उनले भनिन्, ‘लेबर’ गर्दागर्दै मिस्त्रीको काम सिकेकी हुँ ।’ उनले विगतको अनुभव सुनाइन् ।

प्रतिक्रिया