बतासे फुलबाट चल्ला कोरलिँदैन

स्रष्टा संवाद

डा.मधुसूदन गिरी, प्रगतिशील लेखक सङ्घ (प्रलेस) का अध्यक्ष

० प्रगतिशील लेखक सङ्घ (प्रलेस) मा आइसकेपछि यहाँका योजना के रहेका छन् ?

नेपाली राजनीतिमा त सबै वामहरू एकै ठाउँमा सहमति गरेर अगाडि बढ्न सक्नु भएको छैन तर हामी सबैजसो दलसँग सम्बद्ध प्रगतिशील लेखकहरू साझा सहमतिद्वारा एक भएर अगाडि बढ्ने प्रयत्न गरिरहेका छौँ, एक छौँ, पार्टी प्रतिबद्धता र वर्गीय पक्षधरताका न्यूनतम साझा बिन्दुमा प्रगतिशील संस्कृतिलाई सँगै अगि बढ्न हामी सबैलाई सन्देश दिन चाहन्छौँ । यति कुरा गरिरहँदा केही ऊर्जावान् साथीहरू एघारौँ सम्मेलनबाटै बाहिर हुनु भएको छ । क्षमता र प्रतिभा हुनेहरूमा स्वाभिमान पनि हुन्छ, आग्रहहरू पनि हुन्छन्, विचारहरू पनि हुन्छन्, हामी त्यसलाई कतिपयले भनेजस्तो दम्भ र अहङ्कार ठान्दैनौँ स्वभाविक आत्मसम्मान र स्वाभिमान ठान्दछौँ र हुन सकेसम्म सबैले सल्लाह गरेर उहाँहरूलाई पनि यस मोर्चामा सँगै जान पहल गर्ने छौँ । यद्यपि यो मेरो व्यक्तिगत विचार हो, संस्थागत रूपमा यस विषयमा कुनै छलफल भएको छैन ।


जहाँसम्म योजनाका कुरा छन्, आसन्न स्थानीय निर्वाचनले गर्दा हाम्रो केन्द्रीय समितिको बैठक हुन सकेको छैन । त्यसैले संस्थागत रूपमा त्यस सम्बन्धमा अहिले नै भन्न सकिएन । मैले देखेका गर्नुपर्ने कुराहरू थुप्रै छन् । वि.सं. २००९ सालमा श्यामप्रसाद शर्माको पहल र नेतृत्वमा स्थापित प्रगतिशील लेखक सङ्घ, नेपालको आजसम्म एउटा थात, बास छैन । थात बास अर्थात् खुट्टो टेक्ने ठाउँ नभएकाले प्रगतिशील क्षेत्रको अध्ययन, अनुसन्धान कार्यका लागि एउटा कुनै प्रगतिशील पुस्तकालय छैन, वाचनालय छैन, सङ्ग्रहालय छैन, जहाँ सबै पार्टीका र सबै प्रगतिशील लेखकहरूका प्रगतिशील लेखन एवम् आन्दोलन, अभियानसँग सम्बन्धित सम्पूर्ण सामग्रीहरू एकै ठाउँमा पाउन सकियोस् । देशभरिका र विदेशका समेत प्रगतिशील लेखकहरूले यो मेरो÷हाम्रो भन्ने भावनात्मक एकात्म्ययुक्त कुनै थातबास नभएकाले संस्थापक अध्यक्ष श्यामप्रसाद शर्मादेखि दिवङ्गत अध्यक्षहरूको सालिक स्थापना गर्ने कुनै स्थल छैन ।

० मूलतः यसको कारण आजका विद्युतीय श्रव्यदृश्य माध्यममार्फत् आइरहेको पाश्चात्य साम्राज्यवादी उत्तरआधुुनिक उपभोक्तावादी सांस्कृतिक साम्राज्यवादको लहर हो । यसले नयाँ पुस्तालाई नराम्ररी गाँजेको छ । हाम्रा प्रगतिशील लेखक एवम् संस्कृतिकर्मीहरूका गाँस, बास, कपास जोर्नुपर्ने आफ्नै बाध्यता छन्, यसैले उनीहरू पूर्णकालीन रूपमा त्यसमा लाग्न सक्ने स्थिति छैन

आजसम्मको समग्र नेपाली साहित्यको जो लेखिएको इतिहास ‘बडाले जे गर्यो काम हुन्छ त्यो सर्वसम्मत’ जस्तो सामन्तवादी सोच प्रभावित भएर लेखिएका बेला यसपूर्व मगर, लिम्बू, मैथिली, गुरुङ भाषामा लेखिएको प्रगतिशील साहित्यको इतिहासको सामान्य रेखाङ्कनयुक्त प्रगतिशील साहित्यको इतिहास (भाग १) प्रकाशित भए पनि नेपाली, भोजपुरी, नेवारी, हिन्दी, अवधी आदि नेपालका राष्ट्रिय भाषामा भएको प्रगतिशील साहित्य लेखनको इतिहास लेख्न, लेखाउन बाँकी छ । यसैगरी एउटा प्रगतिशील साहित्य कोश निर्माण गर्नु पनि अत्यन्त आवश्यक छ ।

यसैगरी हाम्रो प्रगतिशील साहित्यिक अभियानलाई मधेस प्रदेशलगायत देशका सबै जिल्लाका कुना–कुनासम्म र स्थानीय तहका वडा–वडासम्म पु¥याउनु पर्ने आवश्यकता छ । यसमार्फत् उन्नत, वैज्ञानिक, भौतिकवादी, जीवनमुखी, अग्रगामी संस्कृतिको निर्माण र विस्तार गरी देशी सामन्तवादी संस्कृतिका अवशेष र पश्चिमी साम्राज्यवादी उत्तरआधुनिक संस्कृतिको सुनामीलाई रोक्नु छ, रोक्न मद्दत पुर्याउनु छ । यसका निमित्त विभिन्न गोष्ठी, प्रशिक्षण, लेखन, प्रकाशन गर्नुछ । गर्नुपर्ने कामहरू थुप्रै छन्, सम्भावना र चुनौतीहरू असीमित छन् तर हाम्रा विविध सीमाहरू छन्, हेरौँ यसमा हामी के कति गर्न सक्छौँ, योजना बनाएर अगाडि बढ्ने छौँ ।

नेपालको प्रगतिशील साहित्यको अवस्थालाई कसरी मूल्याङ्कन गर्नु भएको छ ?

म सोच्दैछु, पार्टी प्रतिबद्धता पनि आवश्यक छ, राजनीतिक भाषामा भन्दा नत्र त्यो बतासे फुलजस्तो हुन्छ, जुन बतासे फुलबाट चल्ला कोरलिँदैन । हो, त्यसो त चल्ला कोरलिएन भन्दैमा बतासे फुलको कामै छैन भन्ने पनि होइन । पदार्थ अर्थात् अणुका अन्तर्संरचनामा अन्तर्निहित इलेक्ट्रोन र प्रोट्रोनले क्रिया र प्रतिक्रिया गर्छन् जसबाट ऊर्जा प्राप्त हुन्छ, बल प्राप्त हुन्छ र त्यसले परिवर्तन ल्याउँछ जुन प्रक्रियामा तेस्रो न्युट्रन तत्व सहभागी हुँदैन तर पदार्थ हुनका लागि तौल चाहिन्छ, त्यो तौल थप्ने काम न्युट्रन तत्वले गर्दछ । यसैले विचारहीन विचारयुक्त बतासे फुलरूपी न्युट्रन तत्वको पनि समाजका निमित्त आवश्यकता छ । यत्ति हो ती निम्नवर्गीय किसान, मजदुर, सर्वहारा वर्गका लागि नभएर अरुकै लागि भइदिन्छन्, थप कुरा त्यसो भनिरहँदा पार्टी प्रतिबद्धता मात्र भएर पनि पुग्दैन, कैयौँ पार्टी प्रतिबद्ध व्यक्तिहरूको लेखनमा प्रगतिशीलताको आभाससम्म नभेटिएको स्थिति पनि देखिन्छ । त्यसैले पार्टी प्रतिबद्धताका साथै वर्गीय पक्षधरता पनि अनिवार्य छ ।

० सरकारले नै बृहत् परियोजना बनाएर अनुसन्धान गर्न बजेटको व्यवस्था गरी विविध विषयका विज्ञहरूको समूह गठन गरेर बृहत् परियोजना बनाएर अनुसन्धान अगाडि बढाउनुपर्ने आवश्यकता छ

यस कोणबाट हेर्दा नेपालको प्रगतिशील साहित्य वि.सं. १९७७ को मकैको खेतीदेखिको पृष्ठभूमिमा वि.सं. २०४६ सम्म एकपछि अर्को सोपान उक्लिँदै गएको पाइन्छ भने वि.सं. २०५०/०५२ पश्चात् प्रगतिशील नेपाली समालोचना, कविता, संस्मरण, कथा, उपन्यास र निबन्धले नेपाली समाजको अन्तर्बाह्य सूक्ष्म एवम् विहङ्गम द्वन्द्वलाई पहिल्याउँदै, पर्गेल्दै त्यसलाई कलात्मक बिम्बाङ्कन गर्दै सामन्तवादी एवम् साम्राज्यवादी बेगको प्रतिरोध मथ्थर गर्न सफल र सक्षम देखिन्छ । यद्यपि कतिपय लेखन नेपालको वामपन्थी अभियानलाई अगाडि बढाउने प्रकृतिको भन्दा केही विद्रुपीकरण गर्ने र केही रचनात्मक समीक्षा गरेर अगाडि बढाउने प्रकृतिको पनि देखिन्छ ।

डा.मधुसूदन गिरी, प्रगतिशील लेखक सङ्घ (प्रलेस) का अध्यक्ष

पछिल्लो समय नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलन भुत्ते बन्दै गइरहेको छ नि ?
नेपालको वामपन्थी राजनीतिक आन्दोलन संसदीय प्रणालीमा जाँदा त्यसमा संसदीय व्यवस्थामा हुने विकृति, विसङ्गति भित्रिन पुगे, त्यसैले नेपाली वामपन्थी राजनीतिलाई हेर्दा त्यस क्षेत्रमा प्रगतिशील संस्कार र संस्कृति भुत्ते भएको अनुभव हुनु स्वाभाविक देखिन्छ । यसरी हेर्दा प्रगतिशील सांस्कृतिक एवम् लेखकीय धार भुत्ते भइसकेको भन्न सकिन्न । प्रगतिशील लेखक सङ्घमा रहेर वा नरहेर आ–आफ्नै घटकहरूमार्फत् वा कतिपय स्वतन्त्र रहेर सबैजसो प्रगतिशीलहरू अगाडि बढिरहेको स्थिति देखिन्छ मात्र यसले नेपाली जनता र तिनका प्रतिनिधि अधिकांश जनता एवम् नेताहरूलाई प्रगतिशील सांस्कृतिक चेतना र संस्कार तथा संस्कृति सिकाउन नसक्नु यसको कमजोरी हुन गएको छ ।

नयाँ पुस्तालाई अभिप्रेरित गर्ने प्रगतिशील आन्दोलन अगाडि बढ्न नसक्नुको कारण के होला ?

मूलतः यसको कारण आजका विद्युतीय श्रव्यदृश्य माध्यममार्फत् आइरहेको पाश्चात्य साम्राज्यवादी उत्तरआधुुनिक उपभोक्तावादी सांस्कृतिक साम्राज्यवादको लहर हो । यसले नयाँ पुस्तालाई नराम्ररी गाँजेको छ । हाम्रा प्रगतिशील लेखक एवम् संस्कृतिकर्मीहरूका गाँस, बास, कपास जोर्नुपर्ने आफ्नै बाध्यता छन्, यसैले उनीहरू पूर्णकालीन रूपमा त्यसमा लाग्न सक्ने स्थिति छैन । यसबाहेक धेरैजसो प्रगतिशील जनप्रतिनिधिहरूलाई पनि उपभोक्तावादले गाँजेको छ । हाम्रा प्रगतिशील सङ्घसंस्थाहरूले त्यस प्रकारका योजना ल्याउन पनि सकेको स्थिति छैन । यसका निमित्त राज्य, प्रगतिशील पक्षका राज्य सञ्चालकहरू गम्भीर हुनु आवश्यक छ ।

यो आन्दोलनलाई गतिशील ढङ्गले अगाडि बढाउन के गर्नुपर्ला ?
प्रगतिशील लेखनमार्फत् प्रगतिशील संस्कार, संस्कृति र मनोविज्ञान निर्माण गरी समाजलाई आधुनिक, वैज्ञानिक अग्रगामी मार्गतर्फ अगि बढाउन सर्वप्रथम प्रगतिशील लेखन गर्नु आवश्यक छ र यसका लागि जिल्ला र स्थानीय निकायसम्म कवि लेखकहरूलाई विभिन्न गोष्ठी र प्रशिक्षणमार्फत् प्रशिक्षित गर्नु गराउनु आवश्यक छ । यसका साथै हाम्रा पाठ्यक्रम एवम् पाठ्यपुस्तक निर्माणमा समेत हस्तक्षेप गरेर केन्द्र एवम् स्थानीय पालिकाबाट समेत प्रगतिशील संस्कार र संस्कृतिको विकास विस्तार गर्दै जानु पर्छ ।

सामाजिक रूपान्तरणमा प्रगतिशील साहित्यको हस्तक्षेप नपुगेकै हो ?


यो भनाइमा धेरै हदसम्म सत्यता छ । धनसम्पत्ति जीवन चलाउने र जीवनका, समाजका र राष्ट्रका गतिविधि अगाडि बढाई लक्ष्यमा पुग्ने साधन हो, तर हाम्रो पुरानो द्रव्यखोर सामन्तवादी संस्कारका पृष्ठभूमिमा यो ज्यानमारा उपभोक्तावादी संस्कार र संस्कृति यसरी हावी भइदिएको छ कि आज धनसम्पत्ति जीवन चलाउने साधन होइन साध्य नै भइदिएको छ, जीवनको लक्ष्य नै भइदिएको छ । यसैले हाम्रै छिमेकी मुलुकमा एकजना युवाले मृगौंला बेचेर आइफोन/ट्याब्लेट किनेको समाचार हामीकहाँ पनि घटित हुने स्थिति छ । यति मात्र होइन बेला–बेलामा विभिन्न जनआन्दोलन र जनयुद्धका प्राप्तिहरू नै धरापमा पर्ने स्थितिको खतरा सिर्जना हुनु यसैको कारण हो ।

० कतिपय लेखन नेपालको वामपन्थी अभियानलाई अगाडि बढाउने प्रकृतिको भन्दा केही विद्रुपीकरण गर्ने र केही रचनात्मक समीक्षा गरेर अगाडि बढाउने प्रकृतिको पनि देखिन्छ

अहिलेको नेपाली साहित्यको अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
पुरातन शास्त्रीयतावादी लेखन, आधुनिक रूपवादी सामाजिक दायित्वनिरपेक्ष लेखन, यदाकता छिटफुट उत्तरआधुनिक झिल्का (समालोचनामा अल्लि बढी) र मूलतः प्रगतिवादी लेखन प्रजातन्त्रको पुनस्र्थापना (२०४६) पूर्व प्रगतिशील साहित्य लेखन मूल धार बन्न नसके पनि सतत गतिशील नै थियो । राम्रा–राम्रा कृतिहरू लेखिएका र प्रकाशित भइ नै रहेका थिए । मात्र उल्लेखनीय संस्थागत गतिविधि हुन सकेका थिएनन् ।

वि.सं. २०३६ को जनमत सङ्ग्रहको सेरोफेरोबाट चहलपहल बढ्दै गई २०४६ सालपछि विशेष गरी २०४८/०५० तिरबाट संस्थागत एवम् एकल लेखन, गतिविधि र प्रकाशन तीव्र रूपमा अगाडि बढेको पाइन्छ । आज प्रगतिवादी कविता, संस्मरण, समालोचना, कथा र उपन्यास सबै विधा समृद्ध छन्, संख्या र गुणस्तर दुवैमा ।

कस्तो साहित्य समाजका लागि प्रभावकारी हुन्छ ?

समाज बुझेको, समाजको संरचना बुझेको, समाजका समस्या र त्यसका कार्यकारण शृङ्खला बुझेको, जनमुखी अग्रगामी साहित्य समाजका लागि प्रभावकारी हुन्छ तर त्यस्तो साहित्य क्लिष्ट, दुरुह र संवेग र संवेदनाविहीन कलात्मक प्रभावोत्पादकताविहीन भयो भने त्यसलाई कसैले पढ्दैनन् । खाए खा नखाए घिचजस्तो पाराले लेखिएको विचारको ठाडो नाराका रूपमा लेखिएको साहित्यले पाठक आकर्षित गर्ने होइन विकर्षित गर्छ, कलावादी लेखनसँग प्रतिस्पर्धा गर्न सक्दैन । यसैले त्यसका अन्तर्वस्तु र कलाका बिचको वस्तुगत समीकरण अति आवश्यक छ ।

डा.मधुसूदन गिरी, प्रगतिशील लेखक सङ्घ (प्रलेस) का अध्यक्ष

नेपालको मौलिक संस्कृतिको प्रश्नमा लिपिबद्ध गर्ने समस्या छ नि ?


नेपालको मौलिक संस्कृति लोकसंस्कृति हो, लोकसाहित्य हो, लोकवार्ता हो, यसलाई श्रव्य, दृश्य र लेख्य सबै माध्यमले विधिवत् सङ्कलन, अध्ययन र विश्लेषण गर्नुपर्ने आवश्यकता छ तर दुःखको कुरा १८/१९औँ शताब्दीमा म्याक्समुलर लगायतका अङ्ग्रेज अनुसन्धाताहरूले अन्तर्निहित उद्देश्यले नव्य भारतीय आर्यभाषा, संस्कृति आदिको सर्वेक्षण, अध्ययन र चर्चा गरेको स्तरमा पुगेर तिनको अध्ययनका गलत कुरालाई खण्डन गर्ने स्थिति आज पनि हामीकहाँ छैन । हाम्रा मात्र होइन भारतीय भाषाशास्त्रीहरू पनि उनीहरूकै भनाइलाई काट्न नसकेर नव्य भारतीय आर्य भाषाहरू एघारौँ शताब्दीमा जन्मेको भनिरहेकै स्थिति छ तर हाम्रै दामुपालको शाके ९०३ र वामु खड्काको शाके १०१६ का नेपाली भाषाका शिलालेख दैलेखको दुल्लुमा छन् । शिलालेखमा लेखिने स्तर प्राप्त गर्नु पूर्वको कथ्य नेपाली कति वर्ष चल्यो स्पष्ट छैन ।

लोकसाहित्यले नेपालको लोकजीवनको प्रतिनिधित्वि कसरी गरेको छ ?

यसको सामान्य रेखाङ्कन हुने किसिमको उत्तरले एउटा ठुलै ग्रन्थको माग गर्छ । पूर्वका सङ्गिनी, हाकपारे, चण्डी नाच आदिदेखि मध्य तथा सुदूरपशिचमका सगुन, फाग, धमारी, मागल, देउडा, भारत, मारुनी आदि थुप्रै विधा उपविधाले करोडौँ वर्ष पहिलेका आदिम नरबानरपछिका एक लाख वर्ष वरिपरिका आधुनिक मानव होमोसेपिन्स, होमोइरेक्टसको पनि पछिल्लो जातिगत, नश्लगत विभाजनमा आएको ककेसियन अन्तर्गतको वैदिक र अवैदिक आर्य, मङ्गोल र नेग्रोइटमध्ये हामीकहाँ अघिल्ला दुई नश्लीय संस्कृतिको विद्यमानता रहेको छ । तिनका मूर्त एवम् अमूर्त सांस्कृतिक सम्पदाहरू छन् । ती अमूर्त सम्पदामा समाजका सूक्ष्म द्वन्द्व पनि हामी भेट्न सक्दछौँ । जस्तो आजको कर्णाली प्रदेशको एउटा पहाडी जिल्लाको एउटा सम्पन्न घरमा घरका सबै परिवार बसी खाने मात्र रहेछन् । काम सब हलीलाई लगाउँदा रहेछन् । त्यसमाथि यस्तो भएन, उस्तो भएन भनेर उसैलाई दोष दिएर टोक्दा रहेछन् । अनि सर्जन्या नाम गरेको त्यो हलीले न्याउल्या गीतमा भनेछ;
सङ्तै जहान बसिरन्या काम अन्र्यां सर्जन्याँ
अझ काम भयोन भनी मैमाथि गर्जन्याँ ।

उहिले बेलायती सेनामा भर्ती हुन जाने लाहुरेका मूलतः दोस्रो विश्वयुद्धताका लोकगीत वा पूर्वी पहाडबाट आसामका कोइलाखानीमा काम गर्न जाने मदजुर अथवा पश्चिमबाट कालापहाडतिर मजदुरी गर्न जाने मात्र नभएर पश्चिमकै हिमाली बुकीपाटनतिर भेंडी चराउन वा वण्डालमा भैँसी चराउन जाने अथवा नुनका लागि वस्तुविनिमय गर्न भोटको तिब्बतको ताक्लाकोट र पछि राजापुर, नेपालगञ्ज, कोइलाबास आदि स्थानमा जाने जीवनका जीवन्त बिम्ब लोकसाहित्यमा पाइन्छन् । स्वयम् लक्ष्मीप्रसाद देवकोटाको मुनामदनको कथाको उपजीव्य पनि नेवारी लोकगाथा सती बिज्यामाल हो जसले त्यतिबेला व्यापार गर्न भोट जाने जीवनको तस्बिर प्रस्तुत गर्दछ ।

नेपालको लोकसाहित्य र समालोचनाको अवस्था कस्तो छ ?

नेपाल लोकसाहित्य र संस्कृतिका दृष्टिले धनी छ । त्यसमा सामन्ती अवशेषबाहेक जीवनमुखी पाटो पनि प्रशस्त पाइन्छ । त्यसको खोज, अनुसन्धान र रूपान्तरणको अत्यन्त खाँचो छ । नेपाली समालोचनाको कुरो गर्दा त्यो पनि त्यत्तिकै समृद्ध छ तर त्यो प्रायः सैद्धान्तिकस्तरमा बढी समृद्ध छ । प्रगतिवादी समालोचनाको कुरो गर्ने हो भने सैद्धान्तिक समालोचना निकै समृद्ध छ, उत्तरआधुनिक समालोचनासँग प्रतिस्पर्धा गरेर त्यसभन्दा अगाडि जान सफल छ, तर प्रगतिवादी समालोचनाको प्रायोगिक पाटो भने त्यत्तिकै कमजोर छ । त्यसले प्रगतिवादी स्रष्टा र तिनका कृतिको उचित समीक्षा गरी दिशानिर्देश गर्न सकेको छैन ।

कर्णाली प्रदेशको लोकसाहित्यको बाह्य र अन्तर पक्षबारे के कस्तो अनुसन्धान जरुरी छ ?

नेपालमा पूर्व नामोल्लिखित ककेसियनको अवैदिक अर्थात् खसआर्य शाखाको आजको नेपालको सीमाना प्रवेशपश्चात्को आदिभूमि सुदूर तथा मध्यपश्चिम आजको कर्णाली प्रदेश (हिजोको अर्थात् पूर्वमध्यकालीन (वि.सं. ९३७–१४५०) कर्णाली प्रदेश त्रिशूली पश्चिम, कुमाउँ, गढवाल हुँदै लद्दाख र उत्तर तिब्बतका गुंगे, पुराङ तथा दक्षिण गङ्गा नदीसम्म फैलिएको थियो) मा मूलतः खसआर्यको र मङ्गोलहरूको लोकसाहित्यको भण्डार रहेको छ । यसैमा उत्तर तिब्बती बोन र बुद्धधर्मको पनि प्रभाव छ । यसैले यसको खोजी लोकसाहित्य मात्र होइन मानवशास्त्रीय, समाजशास्त्रीय आदि विविध दृष्टिले आवश्यक छ ।

लोकवार्ताको सही ढङ्गले खोज अनुसन्धान हुन सकेको छैन । यसमा प्रज्ञा प्रतिष्ठान र विश्वविद्यालयको भूमिका के हुन सक्ला ?

लोकवार्ताको व्यवस्थित, वस्तुगत, वैज्ञानिक खोज, अनुसन्धान गर्न बहुअनुशासनात्मक, बहुविषयक विज्ञहरूको एउटा समूह बनाएर वर्षौवर्ष त्यसैमा समर्पित भएर योजनाबद्ध ढङ्गले लाग्नुपर्छ । जस्तो उपर्युक्त पूर्वमध्यकालीन सिमानामा फैलिएको कर्णाली प्रदेशको सांस्कृतिक अध्ययन, भाषिक अध्ययन, मूर्त एवम् अमूर्त सम्पदाको अध्ययन, मानवशास्त्रीय अध्ययन आदि । प्रज्ञा प्रतिष्ठानमा सीमित बजेट हुन्छ त्यसले त्यहीको कुनै एक जनालाई कुनै एउटा क्षेत्रको, एउटा विधा वा उपविधा वा पक्षको परियोजना दिएर टाक्कनटुक्कन श्राद्ध गराइ गर्न मात्र सम्भव हुन्छ भने विश्वविद्यालयको कुनै निश्चित उपाधि प्राप्त गर्न गरिने अनुसन्धानका क्रममा शोधार्थीहरूको सजिलो, छिटो, छरितो खोज्ने प्रवृत्ति र बृहत्भन्दा सूक्ष्मतातिर जानुपर्ने स्थितिले त्यस्तो अध्ययन अनुसन्धानले पनि समग्रता आउन सक्दैन । वास्तवमा यी संस्थालाई सरकारले नै बृहत् परियोजना बनाएर अनुसन्धान गर्न बजेटको व्यवस्था गरी विविध विषयका विज्ञहरूको समूह गठन गरेर बृहत् परियोजना बनाएर अनुसन्धान अगाडि बढाउनुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया