नीतिविहीन नेता : अझै पनि गालीगलौजमै व्यस्त

काठमाडौं । नेपाली कांग्रेसले गत आइतबार आसन्न चुनावको घोषणापत्र सार्वजनिक गर्दै भन्यो, ‘नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली जनउत्तेजनाका व्यापारी हुन् । एमाले परमादेशबाट जन्मिएको पार्टी हो ।’ भोलिपल्टै एमाले अध्यक्ष ओलीले अप्रिय शैलीमा त्यसको जवाफ फर्काए । सोमबार पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको २३औं स्मृति दिवसमा आयोजिक कार्यक्रममा ओलीले भने, ‘ कांग्रेसको घोषणापत्रलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिँदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन ।’

ओलीको उक्त टिप्पणीपछि पनि देशका दुई प्रमुख दलका शीर्ष नेताहरुबीचको अराजनैतिक शैलीको आरोप—प्रत्यारोप सकिएन । अघिल्लो निर्वाचनबाट देशकै सबैभन्दा ठुलो दल बनेको एमालेका अध्यक्षले गालीगलौजको शैलीमा आफ्नो घोषणापत्रलाई ‘पागलहरुको प्रलाप’ भनेपछि कांग्रेसका शीर्ष नेताहरु पनि किन चुप लागेर बस्थे र ! लगत्तै कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले ओलीको आक्रोशपूण अभिव्यक्तिबारे निर्वाचन आयोगलाई ध्यानाकर्षण गर्ने बताए । त्यतिमात्रै होइन कांग्रेसले पत्रकार सम्मेलननै गरेर ओलीको टिप्पणीको खण्डन पनि गर्यो ।

बुधबार कांग्रेसका महामन्त्री गगन थापाले ओलीलाई जवाफ फर्काउँदै भने, ‘जसको मुखमा अंगार छ उसले कालै ओकल्छ । केपी ओलीको बोलीको खण्डन गर्नेलाई उहाँले पागल भन्नुहुन्छ ।’ थापाले ओलीलाई तर्क मन नपर्ने भन्दै कुनै दिन अवसर मिलाएर बालकोटमै (अध्यक्ष ओलीको निवास) पुगेर ट्युसन पढाउनुपर्ने अवस्था आएको प्रतिक्रिया पनि दिए ।

त्यसअघि कांग्रेसकै अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि ओलीलाई लक्षित गर्दै कडै अभिव्यक्ति दिएका थिए । उनले समाजिक सञ्जालमा लेखे, ‘तपाईंले मंगलग्रहमा माछापालन र चन्द्रमामा च्याऊ खेतीको सपना देखाउन मात्रै बाँकी राख्नुभएको छ । माफ गर्नुहोस् श्रद्धेय कमरेड, उडन्ते सपनाहरूको गफको पुलिन्दा लेख्न कांग्रेसलाई आएन ।’ पछिल्लो चार दिनको अवधिमा नेपालका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र एमालेका शीर्ष नेताहरुले दिएका यस्ता अभिव्यक्तिलाई स्थानीय तह निर्वाचनको संघारमा आम सर्वसाधारण र मतदाताले कसरी लिएका होलान, अनुमान लगाउन खासै गाहृो छैन !

कांग्रेसले सार्वजनिक गरेको घोषणापत्रको पृष्ठभूमिमा ओली सरकारको आलोचनामात्रै छ । ठूला दलले चुनावी घोषणापत्रमा जनताको मन जित्ने कार्यक्रम लिएर जानुपर्ने राजनीतिक अभ्यासलाई लत्याउँदै अहिले उनीहरु एकले अर्कोलाई तल्लोस्तरमा पुगेर गाली गर्दै आएका छन् । चुनावको मिति नजिकिँदै जाँदा त राजनीतिक दलहरु झनै लत्तो छाडेर एकअर्कोबीच आरोप—प्रत्यारोपमा ओर्लिएको देखिन्छ ।
पाँच पटक प्रधानमन्त्री भईसकेका देउवा, तीन पटक प्रधानमन्त्री भइसकेका ओली र सर्वधारणले भावी पुस्ताको रुपमा आशा गरेका कांग्रेसका महामन्त्रीद्वय शर्मा र थापाले राजनीतक संस्कार नै भुलेर तल्लो स्तरमा गाली गलौजमा उत्रिएपछि अहिले समाजिक सञ्जालमा चर्को बहस चलिरहेको छ ।

आफूलाई राजनेताको पगरी गुथाउने नेताहरुको बोल्ने शैलीमै अनुशासन छैन । राजनीतिक विश्लेषक एवं बुद्धिजिवीहरु पनि हाम्रा नेताहरुका स्तर खस्कदै गएको बताउँछन् । समाजको विकासका लागि निर्वाह गर्नुपर्ने भूमिकाबाट टाढिएर नेताहरु अहिले तल्लोस्तरमा गालीगलौजमा उत्रँदा त्यसले राजनीतिक संस्कार नै बिगार्ने उनीहरुको ठम्याई छ । ठूला नेताहरुले राजनीतिको गरिमा र आफ्नो स्तरलाई ख्याल नगर्दा त्यसले देशमा दृर्घकालीन असर पार्ने विश्लेषण उनीहरुको छ ।

नेताहरुले आफ्नो स्तरलाई ख्याल गरेनन्  : प्रा.डा. राजेश गौतम
अहिले राजनीतिक दलका नेतामा राजनीतिक संस्कारको कमी महशुष गरिरहेका छौ । विगतमा पनि यस्तो नदेखिएको भने होइन । जतिबेला तीन वर्षअघि एमाले सरकारमा र कांग्रेस प्रतिपक्षमा थियो, त्यतिबेला एमाले फुटको संघारमा पुग्यो । एमालेमा सत्ता विभाजनको रेखा कोरियो । त्यसपछि यस किसिमका अभिव्यक्ती र दृष्टिकोण क्रमिक रुपमा देखिन थाल्यो । आरोपप्रत्यारोपको ऋंखला एमालेबाटै सुरु भएको हो । नेकपा एकीकृत समाजवादीका नेताले ओलीलाई र ओली पक्षका नेताले समाजवादीका नेतालाई गालीगलौज गर्न थाले । खासगरी ओली र उनका कार्यकताले तत्लोस्तरमा गएर बोल्न थाले ।

प्रा.डा. राजेश गौतम

निर्वाचनसम्म आइपुग्दा त अन्य राजनीतिक दलका नेतामा पनि यो प्रवृत्तिको विकास भयो । आफ्नो स्तर के हो भन्ने नै नेताहरुले विर्सिदिए । समाजको र सरकारको उच्चस्तरमा बसेर समाजले सम्मानित रुपमा हेरिरहेको नेताहरुले एक अर्कालाई आरोप र प्रत्यारोप गर्न जुन किसिमका शव्दहरु प्रयोग गरियो, त्यसले हाम्रा नेताहरुको स्तर एउटा नेतृत्व गर्नेे स्तरमा पुगिसकेको रहेनछ भन्ने देखिन्छ । अझै पनि हाम्रा नेताहरुमा विद्यार्थीकालमा जुन किसिमका स्वभाव देखिन्थ्यो, त्यस्तै किसिमको स्वभाव देखिएको छ । यसले राजनीतिक संस्कारको विकास हुन सक्दैन । देशको स्तर बिग्रदै जान्छ । राजनीतिक स्तर पनि विग्रदै जान्छ । राजनीतिक योग्यता पनि बिग्रदै जान्छ ।

त्यसैले नेताहरुले कमसेकम आफ्नो स्तर र स्थिति विर्सन हुँदैन । म को हुँ, मैले कतिसम्म बोल्नु हुन्छ र बोल्नुहुँदैन भन्ने हेक्का नेताहरुले राख्न सक्दैनन् भने देशले दुर्भाग्य भोग्न नै पर्छ । अहिले हामी भोगी पनि रहेका छौं । यस किसिमको स्थितिको अन्त्य हुनुपर्छ । हामीले बोलेका कुराहरुले जनतामा कस्तो प्रभाव पर्छ भन्ने कुरा नेताहरुले बुझ्नै पर्छ । यही पुस्तामा पनि जब एउटा पार्टीको नेताले जथाभावी बोलिरहेका छन्, त्यही पार्टीका कार्यकताले पनि आफ्ना नेतालाई खुसी पार्न जथभावी बोल्दै हिंडेको देखिन्छ ।

भावी पुस्तामा यसले असर पार्छपार्छ । अहिलेकै पुस्तामा पनि राम्रो संस्कार छैन। यस किसिमले राजनीतिक संस्कारको विकास हुँदैन । राजनीतिक दलका नेता र कार्यकर्ताको काम भनेको त समाजलाई बनाउने हो । समाजलाई यस किमिसको विकृतिको स्वरुप दिएर अगाडी बढियो भने यसले कसरी देश र समाजको निर्माण हुन्छ ? त्यसैले यस किसिमको प्रवृत्ति नेताहरुले त्याग्नुपर्छ ।

नेताले राजनीतिक मर्यादा विर्सिए : मुमाराम खनाल (राजनीतिक विश्लेषक)
मैले कुनै दलको घोषणापत्र पढ्न पाएको छैन । तर, घोषणापत्र त्यतिधेरै नेपालीले पढेर आफ्नो मत केमा हाल्ने भन्ने धारणा खासै बनाउँदैनन् । किनभने घोषणापत्रले कति सत्य बोल्छ भन्ने कुरामै विश्वास छैन, मतदातालाई । संघीय तहबाट घोषाणापत्र बनाउने चलन छ । संघीय तहबाट बनाइने यस्ता घोषणापत्रमा स्थानीय तहका समस्या खासै प्रतिबिम्बन हुँदैन । घोषणापत्रप्रति दलहरुको प्रतिक्रिया आउँछ । त्यो प्रतिक्रिया वास्तवमा जस्तो नेपालको राजनीतिक छ, त्यस्तै प्रतिक्रिया आउने हो ।

मुमाराम खनाल (राजनीतिक विश्लेषक)

हाम्रो देशमा खराब परम्पराको विकास भएको देखिन्छ । दलहरुले आफ्नो घोषणापत्रलाई ब्याख्या गर्ने होइन कि अरुको घोषणापत्रलाई आलोचना गरेर समय खेर फाल्छन् । हाम्रा नेताहरुको चरित्र अनुसार त्यो स्वभाविकै पनि हो । नेपालका दलहरु अर्कालाई आलोचना गरेर बाँचेका छन् । आफ्नो दलको प्रतिरक्षा गर्नु, आफ्नो दलका नीति र कार्यक्रमको व्याख्या गर्नु, घोषणापत्रमा भएका सकारात्मक कुरालाई व्याख्या गर्नुभन्दा बढी अर्काको दलले उठाएका नकारात्मक कुराहरु गर्नु, अर्काको दल भनेको दल नै होइन जस्तो गर्नु र अर्काले उठाएका कुराहरु केही पनि होइन भनेर आलोचना गर्ने बानी हाम्रा नेताहरुको छ ।

उनीहर प्रतिक्रियामा बाँचेका दलहरु हुन् । नेपालका राजनीतिक दलहरु लामो समय प्रतिपक्षमा बसेका हुनाले प्रतिक्रिया गर्न रुचाउँछन् । जो दल संस्थापन पक्ष भएर शासन गरेको हुन्छ, उसले आफ्नो नीतिको समिक्षा गर्छ । तर, जुन दलले आफू संस्थापन शक्ति बनेको स्वीकार गर्दैनन, उनीहरु प्रतिक्रयामा बाँचेका हुन्छन् । उनीहरु बन्द हड्ताल र अर्को सत्तालाई भत्काउने कुरा सिकेर आएका हुन्छन् । आफ्नो कुरा गर्नुभन्दा पनि अर्काको आलोचना गरेर शक्ति आर्जन गर्ने परिपाटी नेपाली राजनीतिमा देखिन्छ ।

नेपालमा अर्काको पार्टीलाई गाली गरेर आफ्नो पार्टीलाई ठूलो बनाउने गैरराजनीतिक परम्परा पनि छ । एउटाले त्यस्तो गरेपछि अरु पनि त्यसैको अनुशरण गर्छन् । सभ्य र सुसंस्कृत राजनीतिक संस्कारको विकास गर्नतर्फ कोही लाग्दैन । यस्तो संस्कारमा बाँचेका दलहरुमा स्वभावै जेमा पनि आफ्नो कुरामा भन्दा अरुको कुरामा प्रतिक्रिया जनाउने हुन्छ । नेताले बोलेको कुरामा कार्यकर्ता पनि अभ्यस्त भइसकेका छन् । आफ्ना नेताले जे बोल्दा पनि ताली बजाएको हामीले देख्दै आएका छौं ।

समाजमा राजनीतिप्रति र नेताप्रति जुन असाध्यै नकारात्मक धारणा बनेको छ, त्यो यस्तै कारणले गर्दा हो । किनभने राजनीतिक दलहरुले शिष्ट बोल्ने, अर्कालाई आलोचना गर्दाखेरी पनि व्यक्ति विशेषलाई भन्दा सिद्धान्तलाई, त्यसका कार्यक्रमलाई आलोचना गर्ने बानी उहाँहरुमा छैन । राजनीतिक मर्यादा राखेर बोल्नुहुन्न, उहाँहरु । राजनीतिलाई असाध्यै ठूलो आक्षेप पनि छ, यो फोहोरी खेल हो भनेर । नेताहरुले पनि त्यही व्यवहार देखाउँदा मलाई के डर लाख्छ भने, कतै राजनीति गर्न आउनै नपर्ने पात्रहरु नेपालको राजनीतिमा आएका त होइनन् !

राजनीती भनेको सबैभन्दा ठूलो पाठशाला हो । त्यो एउटा कुनै दलको मात्रै होइन । त्यसका नीतिले मुलुकलाई मार्गनिर्देशन गर्छ । त्यसका नेताहरु जति फितलो हुन्छन्, जति अविश्वस्नीय हुन्छन्, असक्षम हुन्छन्, त्यतिनै राजनीतिप्रति वितृष्णा पनि बढ्छ । राजनीतिमा राम्रा र असल मान्छेहरु नआएका कारण नै अहिलेको अवस्था सृजना भएको हो । राजनीतिमा सभ्य मान्छे आए भने उनीहरु तल्लो स्तरमा झर्न सक्दैनन् । अहिलेको पुस्ताबाट धेरै आशावादी नभए हुन्छ । करिब १०÷२० वर्षमा सबैको क्षमता देखिसक्यौं । आशा गर्ने ठाउँ छैन । सबै नेता परिक्षण भईसके । पार्टीका नेताहरु उहाँहरु नै हुनुहुन्छ । अर्को पुस्ताले कि त पार्टीको नेतृव परिवर्तन गर्नुप¥यो । होइन भने त अहिलेका पुस्ताले यिनै नेताहरुलाई झेल्नुपर्यो ।

प्रतिक्रिया