काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको आत्मविश्वासपूर्ण प्रस्तुतिले धेरैलाई आश्चर्यमा पार्ने गरेको छ । आफ्नै सरकार ढाल्ने दिन संसद्मा देखिएको उनको बेचैनी र मलिन अनुहार त्यसयता कहिल्यै दोहोरिएको छैन । गठबन्धनको बैठकमा भागबन्डाको विषयमा होस् वा सार्वजनिक समारोहमा, उनको अभिव्यक्ति आत्मविश्वासले भरिएको हुन्छ । माधव नेपालको आत्मविश्वास बढ्नुमा उनको संगठन र गठबन्धनको महत्वपूर्ण भूमिका रहेको राजनीतिक शास्त्री कृष्ण पोखरेलको विश्लेषण छ । ‘आफ्नो संगठनको विस्तार र गठबन्धन नै उनको आत्मविश्वासको कारण हो’, पोखरेल भन्छन्, ‘एमालेको अन्तरकुन्तर पनि उनलाईजति अरूलाई के थाहा होला र ?’
हुन पनि माधव नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादी पार्टी जन्मँदै राष्ट्रिय पार्टी हो । यसले नेकपा एमालेलाई पहिलो झड्का राष्ट्रियसभा निर्वाचनमा दिइसकेको छ । एमालेकै खातामा रहेका आठमध्ये सात सिट घटेको छ भने समाजवादीको पोल्टामा नयाँ थप पाँचसहित नौ सिट पारेको छ । सात प्रदेशमध्ये गण्डकी प्रदेश कमजोर छ भने बाँकी प्रदेशमा उनको पार्टीको सम्मानजनक उपस्थिति छ । दुई वटा प्रदेशमा मुख्यमन्त्री नै समाजवादी पार्टीका छन् ।
जन्मँदै राष्ट्रिय पार्टीको मान्यता पाएको समाजवादीले ७ सय ५३ स्थानीय तहका सबैजसो वडामा संगठन पु¥याएको छ । नेकपा समाजवादीका प्रचार विभाग सचिव प्रकाश खतिवडाका अनुसार शुभेक्षुक तथा जनवर्गीय संगठनबाहेक देशभरका पार्टी कमिटिमा हालसम्म झण्डै १ लाख ५० हजार नेता कार्यकर्ता संगठित भइसकेका छन् ।
वामदेव गौतमको गल्तीबाट नसिकेको भए एकीकृत समाजवादी पार्टी एमसिसी प्रकरणमा सरकारबाट बहिरिने र एमाले भित्रिने सम्भावना थियो । यो प्रकरणमा माधव नेपालले धैर्य गुमाएनन् । माओवादी केन्द्रलाई पनि समेटेर बीचको उपाय निकालेर सरकारमा टिकिरहे । वामदेवको महँगो शिक्षा माधव नेपालले निःशुल्क ग्रहण गरे ।
जनवर्गीय संगठनमध्ये एमालेका युवा विद्यार्थी, मजदुर र कर्मचारी संगठन सशक्त संगठन हुन् । तर, पार्टीको आन्तरिक खिचातानीले युवा संघ र अनेरास्ववियुलाई लथालिंग पारेको छ । युवा र विद्यार्थी संगठनहरू शिथिल हुँदै गएको भए पनि मजदुर र कर्मचारी संगठन भने सशक्त देखिन्छन् । यी दुई संगठनमध्ये निजामति संगठनमा समाजवादी अगाडि देखिएको छ ।
केही समयअघि मात्रै आधिकारिक ट्रेड युनियनका लागि सो पार्टी निकट एकीकृत सरकारी कर्मचारी संगठन नेपाल संवद्ध १४ हजार ७ सय ५३ जना ले हस्ताक्षर बुझाएका थिए । जबकी अघिल्लो आधिकारिक ट्रेड युनियन निर्वाचनमा एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले २१ हजार ५ सय मत ल्याएको थियो । एकीकृत समाजवादी निकट निजामति कर्मचारीहरूको संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपालका अध्यक्ष मोहन घिमिरे भन्छन्, ‘निजामति कर्मचारीमा सबैभन्दा ठूलो संगठन हाम्रो हो ।’
वामदेवको महँगो शिक्षा
०५६ सालमा एमाले विभाजन गरी वामदेव गौतमको नेतृत्वमा बनेको नेकपा (माले) तत्कालीन अवस्थामा नेपाली कांग्रेसको सरकारमा सहभागी भएको थियो । सामान्य कार्यशैलीबाहेक कुनै गम्भीर मतान्तरविना नै चुनावको पाँच÷६ महिनाअगाडि माले सरकारबाट बाहिरियो ।
मालेले खाली गरेको ठाउँ एमाले सरकारमा गएर पुरताल ग¥यो । परिणाम गौतम नेतृत्वको मालेले देशभरबाट ६ लाख भोट ल्याए पनि संसद्मा एक सिट पनि जित्न सकेन । सरकार छोड्ने गौतमको निर्णय घातक सिद्ध भयो । माधव नेपालले यसबाट पनि गतिलो शिक्षा लिएका छन् ।
वामदेवको गल्तीबाट नसिकेको भए एकीकृत समाजवादी पार्टी एमसिसी प्रकरणमा सरकारबाट बहिरिने र एमाले भित्रिने सम्भावना थियो । यो प्रकरणमा माधव नेपालले धैर्य गुमाएनन् । माओवादी केन्द्रलाई पनि समेटेर बीचको उपाय निकालेर सरकारमा टिकिरहे । वामदेवको महँगो शिक्षा माधव नेपालले निःशुल्क ग्रहण गरे । राजनीतिकशास्त्री पोखरेल पनि एमसिसी प्रकरणमा सरकारबाट बाहिरिने नीति नलिनुलाई इतिहासको शिक्षाका रूपमा अथ्र्याउँछन् ।
संगठन र गठबन्धन दुबैको भरोसा: प्रा.कृष्ण पोखरेल (राजनीतिक शास्त्री)
समकालीन राजनीतिक नेतृत्वमध्ये माधव नेपाल अलि परिपक्व नेतामा पर्छन् । नेकपा एमाले फुटाएर नयाँ पर्टी नेकपा (एकीकृत समाजवादी) बनाएपछि पनि उनमा आत्मविश्वास देखिएको छ । पहिलो त उनको पार्टी नयाँ भए पनि नेतृत्वचाहिँ पुरानै हो । एमालेको संगठनको अन्तरकुन्तर उनलाई जति अरू कसलाई थाहा होेला र ? अनि आफ्नो पार्टीको अवस्थाबारे थाहा हुने नै भयो । पार्टी संगठनदेखि जनवर्गीय संगठनसम्म उनको उपस्थिति नराम्रो देखिँदैन । फुटपछि भएको राष्ट्रिय सभा निर्वाचनमा पनि उनको पार्टीले सम्मानजनक सिट ल्याएको छ ।
सातमध्ये दुई प्रदेशमा त मुख्यमन्त्री नै एकीकृत समाजवादीका छन् । गण्डकीमा कमजोर देखिए पनि बाँकी प्रदेशमा उनको सम्मानजनक उपस्थिति छ । उनको आत्मविश्वासको पहिलो कारण पर्टी संगठन र अर्को कारण गठबन्धन हो । गठबन्धनलाई जोगाउन पनि उनको महत्वपूर्ण भूमिका छ । उनी कहीँकतै उत्तेजित छैनन् । विगतमा वामदेव गौतमको मालेले सरकार छोडेर चुनावमा जानेजस्तो गल्ती उनले गरेनन् । एमसीसी प्रकरणमा पनि बीचको उपाय झिकेर सरकार र गठबन्धन जोगाए ।
आउने सरकार पनि गठबन्धन नै हो भन्ने निश्चितजस्तो भएको बेला यसको महत्व शेरबहादुर देउवाले पनि बुझेका छन् । त्यसैले आगामी निर्वाचनसम्म गठबन्धन जान्छ । यस्तो अवस्थामा स्थानीय निर्वाचन र आगामी निर्वाचनमा उनको पार्टीले सम्मानजनक सिट ल्याउँछ ।गठबन्धनको महत्व स्थानीय निर्वाचनमा भन्दा आगामी संसदीय निर्वाचनमा छ । स्थानीय निर्वाचनमा त बरु राष्ट्रिय राजनीतिको प्रभाव कम पर्छ । जनप्रतिधिले कस्तो काम गरेका छन्, त्यसैको आधारमा भोट आउने हो । गत उपनिर्वाचनमा धरानको परिणाम हेरौँ न । नेकपा नबन्दै एमालेले एक्लै जितेको धरानको मेयर उपनिर्वाचनमा एमाले र माओवादी मिलेर बनेको नेकपा हुँदाहुँदै काग्रेसले जित्यो ।
प्रतिक्रिया