अन्तत: जुट्यो सहमति

काठमाडौं । स्थानीयदेखि केन्द्रसम्मका कायकर्ताबीच लामो समयको चर्काचर्की र शीर्ष नेताहरूबीच लगातारको छलफलपछि अन्ततः सत्तारूढ गठबन्धन दलहरूबीच आगामी स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार दिउँसो बसेको सत्तारूढ गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेल र सिट बाँडफाँटको टुंगो लगाएको हो । स्थानीय तहको निर्वाचन ३० वैशाखमा एकै चरणमा हुँदै छ ।

शीर्ष नेताहरूको बैठकले ६ मध्ये तीन वटा महानगरपालिकाको नेतृत्व नेपाली कांग्रेसले लिने सहमति गरेको छ । सत्ता गठबन्धनमा आबद्ध अन्य दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने एक÷एक महानगरपालिकाको नेतृत्व लिने सहमति भएको छ ।

सरकारको नेतृत्व गरिरहेको दल कांग्रेसले काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र विराटनगर महानगरपालिकाको मेयर पाउने भएको छ । ललितपुर र विराटनगर महानगरपालिकामा यसअघिको स्थानीय निर्वाचनमा पनि कांग्रेसले जित हासिल गरेको थियो ।

यसअघिको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका भने नेकपा एमालेले जितेको थियो । हाल नेकपा एमालेबाट विभाजित भएर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादीको नाममा छुट्टै दल बनाएका छन् ।

नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी हाल सत्ता गठबन्धनमा आबद्ध छ । एकीकृत समाजवादीले आगामी स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाको मेयर पाउने सहमति शीर्ष नेताहरूको बैठकले गरेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर पाउने भएको छ भने जसपाले वीरगञ्ज महानगरपालिकाको मेयर पाउने भएको छ । यसअघिको निर्वाचनमा पनि भरतपुर महानगरपालिका माओवादी केन्द्रले नै जितेको थियो ।

अघिल्लो निर्वाचनमा पनि माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनाव लडेको थियो । उक्त महानगरपालिकाकी हालकी मेयर रेणु दाहाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी हुन् । यसपटक पनि भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले रेणुलाई नै उठाउने तयारी गरेको बताइएको छ ।

यसैगरी मंगलबारको बैठकले महानगरपालिकामा उपमेयरको भागबन्डा पनि टुंग्याएको बताइएको छ । स्रोतका अनुशार, कांग्रेसले तीनवटा महानगरमा उपमेयर पाएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एक÷एक उपमेयर पाएका छन् ।

कांग्रेसले पोखरा, भरतपुर र वीरगञ्ज महानगरपालिकामा उपमेयर पाउने भएको छ । माओवादी केन्द्रले ललितपुर महानगरपालिकामा उपमेयर पाउने छ । एकीकृत समाजवादीले भने काठमाडौं महानगरको उपमेयर पाउने भएको छ । जसपाले विराटनगर महानगरको उपमेयर पाउने सहमति भएको स्रोतले जनाएको छ ।

यसैगरी ११ वटा उपमहानगरपालिकामध्ये काँग्रेसले सात वटामा प्रमुख पाएको छ । माओवादी केन्द्रले दुई तथा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले एक÷एक उपमहानगरपालिका प्रमुख पाएका छन् । यद्दपि, दलका शीर्ष नेताहरुबीच तालमेलको सहमति जुटे पनि लिखित निर्णय हुन भने बाँकी छ । मंगलबार राति यो समाचार तयार पार्दासम्म लिखित सहमतिमा हस्ताक्षर भएको छैन ।

स्रोतका अनुशार, काँग्रेसलाई बुटवल, तुल्सीपुर, इटहरी, धरान, कलैया, नेपालगञ्ज र धनगढी उपमहानगरपालिकाको मेयर दिने सहमति भएको छ । घोराही र जितपुर सिमरा उपमहानगरपालिकाको मेयर माओवादी केन्द्रले पाउने भएको छ । एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिका र जसपाले जनकपुरधाम उपमहानगरपालिको प्रमुख पाउने भएका छन् ।

काँग्रेसले जनकपुर, हेटौडा, जितपुर सिमरा र घोराही उपमहानगरपालिका उपमेयरमा लिएको छ । धरान उपमहानगरपालिको उपमेयर माओवादी केन्द्रको भागमा परेको छ भने एकीकृत समाजवादीले इटहरी, बुटवल र तुल्सीपुरमा उपमेयर लिएको छ । जसपाले कलैया उपमहानगरपालिका उपप्रमुख पाएको छ ।

सत्ता गठबन्धन दलहरूले देशभर आवश्यकताका आधारमा चुनावी तालमेल गरेर अगाडि बढ्ने निर्णय यसअघि नै गरेका थिए । सोहीअनुसार दलहरूले तल्लो तहसम्म छुट्टाछुट्टै सर्कुलरसमेत जारी गरेर चुवानी संयन्त्र पनि गठन गरेका थिए ।

केन्द्रीय स्तरबाट चुनावी गठबन्धनको निर्णय भए पनि स्थानीय स्तरमा भने चुनावी गठबन्धनको विषयलाई लिएर नेता÷कार्यकर्ताबीच चर्को विवाद देखिएको थियो । खासगरी नेपाली कांग्रेसका जिल्लास्तरका नेता÷कार्यकर्ता चुनावी तालमेलप्रति सकारात्मक देखिएका थिएनन् ।

कांग्रेसका कार्यकर्ताबाट स्थानीय स्तरदेखि नै विरोध आउन थालेपछि चुनावी तालमेलको विषय पेचिलो बन्दै गएको थियो । केन्द्रीय स्तरका केही नेतासमेत चुनावी तालमेलको विपक्षमा देखिएका थिए । कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने सुरुदेखि नै चुनावी गठबन्धनको पक्षमा उभिँदै आएका थिए ।

खासगरी दलहरूबीच महानगरपालिका र उपमहानगरमा भागबन्डा मिल्न नसक्दा नै अन्योलको स्थिति सिर्जना भएको थियो । देशभर ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका रहेका छन् । उम्मेदबारको मनोनयन दर्ता गर्ने समय नजिकिँदै गएपछि चुनावी तालमेलको विषयलाई टुंग्याउन गत आइतबारदेखि शीर्ष नेताहरूबीच निरन्तर बैठक र छलफल हुँदै आएको छ ।

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १० र ११ गते उम्मेदवारको मनोनयन दर्ताको मिति तोकेको छ । गत आइतबार भएको शीर्ष नेताहरूको बैठकमा माओवादी केन्द्रले एक महानगर र चार वटा उपमहानगरमा दावी गरेको थियो ।

यसैगरी नेकपा एकीकृत समाजवादीले एक महानगरपालिका र तीन उपमहानगरको मेयरमा दावी गरेको थियो । जनता समाजवादी पार्टीले पनि एउटा महानगर र तीनवटा उपमहानगरको नेतृत्वमा दावी गरेको थियो । राष्ट्रिय जनमोर्चाले भने कुनै पनि महानगर र उपमहानगरको नेतृत्वमा दावी गरेका थिएन ।

प्रतिक्रिया