गुपचुप मौलाउँदै क्रिप्टो करेन्सीको कारोबार

 

काठमाडौं । सरकारले अवैध घोषित गरे पनि पछिल्लो समय देशमा क्रिप्टो करेन्सीको धन्दा मौलाउँदै गएको छ । क्रिप्टो करेन्सीको कारोबारले देशको समग्र अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको दाबी सरकारको छ । राष्ट्र बैंकले समेत राष्ट्र बैंक ऐन–२०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०११ बमोजिम सुरुमा ०७४ साउन २९ गते, त्यसपछि ०७८ भदौ २४ गते र पछिल्लोपटक ०७८ साल माघ ९ गते क्रिप्टो करेन्सी अन्तर्गतको कारोबार, व्यवसाय तथा डिजिटल नेटवर्किङ व्यवसाय गैरकानुनी रहेको सूचना जारी गरेको थियो । यसका बाबजुद देशभित्र क्रिप्टो करेन्सीको कारोबार भने रोकिएको छैन । बरु गुपचुप रूपमा यसको कारोबार मौलाउँदै गएको पाइन्छ । पछिल्लो समय सरकार मातहतका विभिन्न निकायले गरेको कारबाही र यसको कारोबारमा संलग्न व्यक्तिहरूको गिरफ्तारीले पनि यसलाई पुष्टि गर्छ ।

पछिल्लोपटक सोमबार प्रतिबन्धित क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले लामो अनुसन्धानपछि उनीहरूलाई सोमबार नियन्त्रणमा लिएको हो । यो समूहले बिटक्वाइन, युएसडिटी सोलाना, इथेरियमलगायत विभिन्न करेन्सीको अवैध कारोबार गरेको आरोप प्रहरीको छ । पक्राउ पर्नेमा झापा बिर्तामोड घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने अनुप मिश्र, काभ्रे घर भई हाल काठमाडौं क्षेत्रपाटी बस्ने दिपेश थापा र बाफल बस्ने राहुल चचान रहेका छन् । प्रहरी उपरीक्षक (एसपी) कृष्ण कोइरालाका अनुसार यो समूहले ६६ करोड ७९ लाख ७९ हजार ९ सय ८३ रुपैयाँ बराबरको कारोबार गरिसकेको अनुसन्धानबाट खुलेको छ । हाल उनीहरूमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ बमोजिम थप कारबाही र अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जानकारी एसपी कोइरालाले दिए ।

क्रिप्टो करेन्सी भनेको भर्चुअल मुद्रा हो । यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ । भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको निश्चित मूल्य तोकिएको हुन्छ । यस भर्चुअल मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन । अर्थात, यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन ।

पक्राउ परेकामध्ये मिश्रले सन् २०२१ देखि बाइनान्स अकाउन्ट प्रयोग गरी विभिन्न २० वटा क्रिप्टो करेन्सी जम्मा गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उनले मात्रै ३५ करोड ४६ लाख ८३ हजार ६ सय ११ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ । हाल उनको बाइनान्सको अकाउन्टमा १२ हजार ८ सय ३२ अमेरिकी डलर बराबरको बिटक्वाइन देखिएको जानकारी एसपी कोइरालाले दिए ।
अर्का अरोपी दिपेशले पनि सन् २०२१ को मेदेखि बाइनान्सका दुई अकाउन्टमार्फत सात वटा क्रिप्टो करेन्सीको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दिपेशले मात्रै २४ करोड ७९ लाख ५६ हजार ९ सय १८ रुपैयाँ बराबरको कारोबार गरिसकेको प्रहरीले जनाएको छ । उनको एकाउन्टमा हाल १ हजार ४ सय डलर बराबरको बिटक्वाइन देखिएको छ । यसैगरी अर्का आरोपी राहुलले करिब एक वर्षदेखि २० वटा क्रिप्टो करेन्सीहरू जम्मा गरी ६ करोड ५३ लाख ३९ हजार ४ सय ३९ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरी अनुसन्धानले देखाएको छ । उनको अकाउन्टमा हाल ६ सय ५१ अमेरिकी डलर बराबरको बिटक्वाइन देखिएको छ ।

अनुसन्धानमा संलग्न प्रहरीका अनुसार यो समूहले दैनिक पाँच हजारदेखि ५० हजारसम्म युएसडिटीको कारोबार गर्ने गरेको देखिन्छ । उनीहरूमाथि आफ्नो पहिचान गोप्य राखेर अन्य सयौं जना व्यक्तिलाई प्रलोभनमा पारेर बैंक खाता प्रयोग गर्ने र बाइनान्स अकाउन्ट खोल्न लगाएर निश्चित रकमको कमिसनको समेत प्रलोभन देखाउने गरेको आरोप छ । एसपी कोइरालाले भने, ‘राष्ट्र बैंकले प्रतिबन्ध लगाएको क्रिप्टो करेन्सी कारोबार भइरहेको सूचना पाएपछि हामीले सुक्ष्म अनुसन्धान ग¥यौं । फलस्वरूप तीन जना प्रमाणसहित पक्राउ परे ।’ उनका अनुसार थप अनुसन्धान तथा पक्राउ परेकामाथि मुद्दा चलाउन जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

राष्ट्र बैंकले समेत राष्ट्र बैंक ऐन–२०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०११ बमोजिम सुरुमा ०७४ साउन २९ गते, त्यसपछि ०७८ भदौ २४ गते र पछिल्लोपटक ०७८ साल माघ ९ गते क्रिप्टो करेन्सी अन्तर्गतको कारोबार, व्यवसाय तथा डिजिटल नेटवर्किङ व्यवसाय गैरकानुनी रहेको सूचना जारी गरेको थियो ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पहिलोपटक क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा ०७४ साल असोजमा सात जनालाई पक्राउ गरेको थियो । उनीहरूलाई काठमाडौं र चितवनबाट नियन्त्रणमा लिइएको थियो । तात्कालीन समयमा पक्राउ पर्नेमा सिन्धुलीका ज्ञानप्रसाद पौडेल, आर्घाखाँचीका माधव खनाल, काठमाडौंका प्रशान्तप्रताप शाह, दमन बस्नेत, नुवाकोटकी बिन्दा ढकाल, सिन्धुपाल्चोकका मिङमार तामाङ र रुपन्देहीका मनीषकुमार गिरी थिए ।

यो घटनापछि ब्युरोले २०७५ साल जेठमा सिन्धुपाल्चोकका बज्रसिंह लामालाई पक्राउ गरेको थियो । उनीहरूमाथि गैरकानुनी घोषणा गरेको बिटक्वाइन, ग्राभिटी क्वाइन लगायतका क्रिप्टो करेन्सी वित्तीय उपकरण जारी गरी अवैध किनबेच गरेर विदेशी विनिमयको कारोबार गरेको आरोप लगाइएको थियो । उक्त समूहले झण्डै १० देखि १२ लाख अमेरिकी डलरको कारोबार गरेको अनुसन्धानले देखाएको थियो ।

यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत यस्तो कारोबारमा संलग्न केही व्यक्तिलाई पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेका अभियुक्तलाई राजस्व अनुसन्धान विभागमा बुझाउँदै आएको छ । विभागले हालसम्म दुई वटा घटनामा काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाइसकेको छ । विभागले मोरङका दुई जनाविरुद्ध दायर गरेको मुद्दामा पौने १० करोड रुपैयाँ बिगो र तीन वर्षसम्मको सजाय मागदाबी गरेको थियो । उनीहरविरुद्ध अमेरिकी डलर सटही तथा क्रिप्टोमा लगानीकर्ताका रूपमा रहेको आरोप विभागको थियो ।

के हो क्रिप्टो करेन्सी ?

क्रिप्टो करेन्सी विनिमयको एउटा भर्चुअल माध्यम हो । झन् बिटक्वाइनको लोगो त ठ्याक्कै सिक्काको जस्तै बाइएको छ । तर, क्रिप्टो करेन्सीमा न त कुनै धातुका सिक्का हुन्छन्, न कागजको नोट । यसलाई डिजिटल सम्पत्ती विनिमय पनि भनिन्छ । जसरी बैंकको एउटा खाताबाट अर्को खातामा पैसा पठाउने र पाउनेको अंकमा मात्र घटबढ हुनेगर्छ, क्रिप्टो करेन्सीमा पनि त्यसरी नै काम हुन्छ । फरक मात्र यत्ति हो कि, बैंकिङ कारोबारमा विभिन्न बैंकका आ–आफ्ना छुट्टाछुट्टै हिसाबकिताबका अभिलेख हुने गर्छन् । तर, क्रिप्टो करेन्सीमा हरेक कारोबारको एउटै ठूलो अभिलेख हुन्छ, जसलाई लेजर भनिन्छ । क्रिप्टो करेन्सीमा भएको विकेन्द्रीकरणको प्रणालीका कारण पनि कसैले यसलाई सजिलै ह्याक गर्न सक्दैन । क्रिप्टो करेन्सीको नेटवर्कमा भएको कुनै एउटा कम्प्युटरको लेजरमा ह्याक गर्न फरक अंकहरू प्रयोग गरेमा अन्य कम्प्युटरमा भएका अंकभन्दा फरक हुने बित्तिकै कारोबार बढ्छ । सुरक्षाको हिसाबले पनि क्रिप्टो करेन्सी एकदमै व्यवस्थित हुँदा मान्छेहरूको आकर्षण यसप्रति बढेको हो ।


समग्रमा भन्दा क्रिप्टो करेन्सी भनेको भर्चुअल मुद्रा हो । यसको अस्तित्व अनलाइनमा सीमित रहन्छ । भौतिक रूपमा देख्न वा छुन नसके पनि यसको निश्चित मूल्य तोकिएको हुन्छ । यस भर्चुअल मुद्राको कुनै केन्द्रीय बैंक हुँदैन । अर्थात, यसलाई नियमन गर्ने कुनै केन्द्रीय निकाय हुँदैन ।
संसारभरका कम्प्युटरहरूमा राखिएको डिजिटल रेकर्डका आधारमा यो सञ्चालन हुन्छ । क्रिप्टो करेन्सीको प्रयोग गरेर सरसामान किन्न वा भुक्तानी गर्न सकिन्छ । यसलाई कम्प्युटर वा मोबाइल फोनमार्फत डिजिटल वालेटमा राख्न पनि सकिन्छ । सबै क्रिप्टो करेन्सी ‘ब्लक चेन’ भनिने प्रविधिमा आधारित हुन्छन् । सन् २००९ देखि चर्चामा आएको बिटकोइन पहिलो क्रिप्टो करेन्सी हो ।

दिवस आचार्य (प्रवक्ता, राजस्व अनुसन्धान विभाग)

दक्ष जनशक्तिको अभाव छ : दिवस आचार्य (प्रवक्ता, राजस्व अनुसन्धान विभाग)

राष्ट्र बैंकले प्रतिबन्ध लगाउनुअघि यसको कारोबार खुला थियो । प्रतिबन्ध लागेपछि प्रहरी र हाम्रो समन्वयमा पनि केही पक्राउ परेका छन् । केहीलाई हामीले मुद्दा पनि चलाएका छौँ । तर, यसलाई सुहाउँदो कानुन नै परिमार्जन गर्नु जरुरी छ । अहिले विदेशी मुद्दा विनिमयमा मुद्दा चलाउँदै आएका छौँ । तर, विद्युतीय अपराध र संगठित अपराधमा पनि चल्छ । कानुनमा यी कुरा स्पष्ट छैनन् । गोप्य रूपमा हुने क्रिप्टो करेन्सी कारोबारको अनुसन्धान एवं सूचना संकलनमा सबै किसिमको विज्ञता र क्षमता विभागमा छैन ।

यस विषयमा हामी आन्तरिक छलफलमै छौँ । प्रहरी र अन्य निकायसँग पनि समन्वय भइरहेको छ । यसमा ठूलो समस्या भनेको नयाँ प्रविधिमार्फत यसको कारोबार भइरहको छ । विभागले आफ्नो क्षमता विस्तार गर्न विज्ञ हायर गर्ने विषयबारे अर्थ मन्त्रालयसँग कार्यक्रम नै पेस गरेको छ । कहाँबाट विज्ञ हायर गर्न सकिन्छ, त्यसले कस्तो सेवा दिन्छ लगायतका विषय कार्यक्रममा समेटिएका छन् । हाम्रो कानुन पनि पर्याप्त छैन । विदेशी मुद्रा र राजस्व चुहावट मात्रैले अभियुक्तलाई कारबाही पुग्दैन । हामीले त क्रिप्टो करेन्सीबारे अनुसन्धान र कारबाही गर्न विशेष संयन्त्र वा युनिट नै चाहिने कुरा मन्त्रालयमा राखिसकेका छौं ।

प्रतिक्रिया