जोशी एमालेसँग मिलेपछि पौडेल तनावमा

काठमाडौं । राष्ट्रिय राजनीतिमा कुनै बेला प्रभाव छोड्न सफल कांग्रेस नेता गोविन्दराज जोशी यस बेला तनहुँमा पुगेर खुम्चिएका छन् । यद्यपी तनहुँमा उनको पकड भने राम्रो रहेको बताइएको छ। तनहुँमा जित्न उनको शक्ति पर्याप्त नभए पनि हराउन भने निर्णायक भूमिका निर्वाह गर्न सक्ने बताइएको छ । जोशीले आगामी स्थानीय चुनावमा एमालेसंग मिलेर उम्मेदवारी दिने भएका छन् । उनी र एमाले बीचको यो सहमतिले कांग्रेस नेता रामचन्द्र पौडेलेको राजनीतिमा धक्का लाग्ने बताइएको छ। जोशी एमालेसंग मिल्ने भएपछि पौडेल तनावमा रहेको एक नेताले बताएका छन् ।

कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशी नेतृत्वको समूह तथा समर्थकहरुले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग तालमेल र सहकार्य गर्ने भएको छन् । शनिबार जोशी निवासमा भएको बैठकपछि एमालेसँग चुनावी तालमेल र साझा उम्मेदवार खडा गर्ने निर्णय भएको हो । तालमेललाई प्रभावकारी बनाउन एमाले तथा जोशी समूहबाट चार–चारजना गरी ८ सदस्यीय चुनाव परिचालन समिति गठन गरिएको छ ।

सहमति पछि तनहुँका प्रत्येक पालिकाको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यहरुमा दुई पक्षले साझा उम्मेदवार खडा गर्ने भएका छन् । तनहुँ कांग्रेसमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल र जोशीबीच वैमनस्यका कारण नेपाली कांग्रेस कमजोर स्थितिमा रहेको छ । पौडेलको राजनीतिक अस्तित्व जोडिएको जिल्लामा गत संसद निर्वाचनमा पौडेलको पराजयपछि अन्तर्घातको आरोपमा जोशीलाई पार्टीबाट निष्काशित गरिएको थियो ।

दलको स्थानीय तहबाट उक्त निर्णय रद्द गरी उनलाई दलमा ससम्मान पुनस्र्थापित गर्न गरिएको आग्रहलाई केन्द्रीय नेतृत्वले उपेक्षा गरेपछि आगामी स्थानीय तह निर्वाचनमा एमालेसँगको तालमेल गरिएको एक नेताले जानकारी दिए । गत चुनावमा पौडेल त्यसबेला एमालेका उम्मेदवार किसान श्रेष्ठसँग पराजित भएका थिए । श्रेष्ठ हाल माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका तर्फबाट केन्द्रीय सरकारमा मन्त्री छन् । कांग्रेस संस्थापन तथा स्थानीय राजनीतिमा वर्चश्व देखाउँदै आएका पौडेल माओवादी र वर्तमान सत्ता गठबन्धनसँग स्थानीय निर्वाचनमा तालमेलको पक्षमा छन् ।

प्रतिक्रिया