शीर्ष नेतालाई आफ्नै गृहनगरमा पकड जोगाउन चुनौती

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहनगर हो झापाको दमक नगरपालिका । उनी त्यहीँबाट मतदान गर्छन् । त्यहीँबाट संघीय संसदको निर्वाचन लड्छन् । ओलीले विगत लामो समयदेखि दमकमा आफ्नो विरासत जोगाउँदै आएका छन् ।

तर, यस पटक देशमा उत्पन्न नयाँ परिस्थितिले उनलाई यो विरासत जोगउन कठिन पर्ने भएको छ– कारण सत्तारुढ दलहरुको गठबन्धन । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजावादीले स्थानीय चुनावमा गठबन्धन गरेका छन् । गएको स्थानीय निर्वाचनमा त्यस नगरालिकामा एमालेका रोमनाथ ओलीले १० हजार ८ सय ६ मत प्राप्त गरी विजय भएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी थिए राप्रपाका राम थापा । उनले ७ हजार ६ सय ५६ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका गगन पुरीले ६ हजार आठ सय ९८ र नेपाली कांग्रेसका ढुण्डीराज पोखरेलले ५ हजार ७ सय ३९ मत प्राप्त गरेका थिए । अहिलेको गठबन्धन अनुसार माओवादी केन्द्र र नेपाली कांग्रेसले त्यो बेला ल्याएको मतको तुलना गर्ने हो भने झण्डै १२ हजार मत हुन आउँछ ।

यस पटक एमाले र राप्रपा विभाजित छ । पहिलाका स्थानीय निर्वाचनमा एमालेले प्राप्त गरेको मत यहीकारण घट्ने देखिन्छ । पहिला निकटतम प्रतिस्पर्धी पार्टीका रुपमा रहेको राप्रपा पनि विभाजित भएको छ । यो नगरपालिकामा कमल थापा नेतृत्वको राप्रपा नेपालको नगन्य उपस्थिति छ । त्यस नगरपालिकामा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रापको राम्रो पकड रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह नगर डडेल्धुराको गन्यापपुर गाँउपालिका भने कांग्रेसको हातबाट खोस्न कठिन देखिएको छ । त्यस गाँंउपालिकामा गएको स्थानीय निर्वाचनमा त्यस पालिकाबाट नेपाली कांग्रेसका नवलबहादुर मल्लले ३ हजार ३ सय ६९ मत ल्याएका थिए । सो निकायमा एमालेका बिरेन्द्रबहादुर मल्लले १ हजार ९ सय ४३ मत र माओवादी केन्द्रका ईश्वर भण्डारीले ५१९ मत ल्याएका थिए ।

त्यस गाँउपालिकामा नेपाली कांग्रेसको राम्रो पकड रहेकाले उसको हातबाट फुत्काउन अन्य दललाई कठिन हुने छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को गृहनगर मानिएको भरतपुर महानगरपालिकामा पनि गठबन्धन बलियो देखिन्छ । गएको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा माओवादी केन्द्रका रेणु दाहालले ४३ हजार १ सय २७ मत प्राप्त गरेकी थिईन् ।

उनका निकटतम प्रतिस्पर्धी थिए एमालेका देवी ज्ञावली । उनले ४२ हजार ९ सय २४ मत ल्याएका थिए । देवी ज्ञावलीपछि रहेका राप्रपाका वुद्धिनाथ तिमिल्सिनाले ६ हजार ८ सय ४२ मत ल्याएका थिए । यस क्षेत्रमा आफ्नो पार्टीभित्र कमल थापाको राम्रो प्रभाव रहेको छ । एमाले र राप्रपा नेपालले स्थानीय निर्वाचनमा तालमेलको घोषणा गरेकाले त्यस महानागर नेपाली कांग्रेस र माओवादी केन्द्रको हातमा सुरक्षित हुने कठिन देखिँदैछ ।

माधव नेपालको गृहनगर मानिएको रौतहट नगरपालिकामा पनि स्थानीय निर्वाचनको परिणाम नेपालको पक्षमा आउने देखिँदैन । त्यस नगरापलिकामा विगतको स्थानीय निकायको निर्वाचनमा राष्ट्रिय जनता पार्टीका अजयकुमार गुप्ताले ५ हजार २ सय २३ मत ल्याएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी थिए एमालेका शम्भु शाह । उनले २ हजार ९ सय २३ मत प्राप्त गरेका थिए । प्रतिस्पर्धामा तेस्रो भएको संघीय समाजवादी फोरमले १ हजार ६ सय ७३ मत ल्याएका थिए । यसकारण नेपालको गृहनगर मानिएको गौर नगरपालिका पनि उनको पकडभन्दा बाहिर जाने देखिएको छ ।

अर्का शीर्ष नेता झलनाथ खनालेको गृहनगर ईलाम नगपालिका पनि खनालको पक्षमा सुरक्षित देखिँदैन । एमाले विभाजित भएका कारण नेपाली कांग्रेसले आफ्नो पकड जमाउने हो कि भन्ने अनेक अड्कलवाजी हुने गरेको छ । गएको स्थानीय निर्वाचनमा एमालेका महेश बस्नेतले त्यस नगपालिकामा ११ हजार ३३ मत ल्याएर विजयी भएका थिए ।

नेपाली कांग्रेसका हिमालय कर्मचार्यले उनलाई टक्कर दिँदै ९ हजार २ सय ५४ मत प्राप्त गरेका थिए । त्यसैगरी त्यस नगरपालिकामा माओवादी केन्द्रका छविलाल आचार्यले ९ सय ६३ मत ल्याएका थिए । अर्का शीर्ष नेता उपेन्द्र यादवको गृहनगर सुनसरीको कोशी गाँउपालिकामा राष्ट्रिय जनता पार्टीले विजय हासिल गरेको थियो ।

सो अनुसार सो पार्टीका सैयुव अन्सारीले ४ हजार २७ मत ल्याएका थिए । उनका निकटतम प्रतिस्पर्धी थिए एमालेका अजयकुमार कुसियत । उनले २ हजार ७ सय २३ मत ल्याएका थिए भने संघीय समाजवादी फोरमका जितेन्द्रले २ हजार ७ सय १६ मत ल्याएका थिए । गापामा माओवादी केन्द्रको बिगतको मत भने नगन्य रहेको थियो । सो पार्टीका उम्मेदवार पंचनारायण मण्डलले ६ सय २५ मत ल्याएका थिए ।

राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुरको गृहनगर महोत्तरी जिल्लाको पिपरा गाँउ पालिका पनि सो पार्टीमा आएको विभाजनका कारण त्यति सुरक्षित देखिँदैन । यस गाँउपालिकामा बिगतमा राजपाका विनोदकुमार चौधरीले २ हजार ७ सय ७५ मत ल्याएका थिए ।

उनका निकटतम प्रतिस्पर्धाी एमालेका विक्रम मण्डलले १ हजार ८ सय ७३ मत ल्याएका थिए भने माओवादी केन्द्रका रामजाानकी मण्डलले १ हजार ५ सय ७८ मत ल्याएका थिए । यस गाँउपालिकामा गठबन्धन बलियो भएको खण्डमा ठाकुरको नगरमा उनको पकड गुम्ने चुनौती बढ्दै गएको छ।

प्रतिक्रिया