काठमाडौं । कैलालीका २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले अर्जुनको हत्यामा संलग्न चार जनालाई पक्राउ गरेको हो ।
उनीहरुले गत ३ पुसमा कैलाली जानकी गाउँपालिका–९ अमरावती सामुदायिक वनमा सोही ठाउँका अर्जुनको रूखमा बाँधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स तरिकाले हत्या गरेका थिए ।
उनको हत्यामा गरेर फरार रहेका सुमित साउद, बमे भनिने बम बहादुर बोहरा, रोनी परियार भनिने दिलिप दास र मनोज भण्डारी रहेका छन् । जानकी गाउँपालिका–९ कैलाली घर भएका सबै जना १९ वर्षका छन् ।
रूपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा अपराध महाशाखाको विशेष टोलीले उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको छ । बिहीबार पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान कसुरमा मुद्दा रहेकाले थप अनुसन्धानका लागि कैलाली प्रहरीलाई बुझाएको बताइएको छ ।
कसरी पक्राउ परे ?
हत्या गरेर भारततर्फ फरार भएका चारै जना लुकिछिपी बस्दै आएका थिए । भारतमा बस्दा पनि त्यहीँबाट फेसबुक लाइभमा आएर धम्की दिनेसमेत गरिरहेका थिए । नेपालको प्रहरीले पक्राउ गर्न नसक्ने उनीहरूको दाबी थियो ।
नयाँ दिल्लीतर्फ लागेका उनीहरू पछिल्लो समय काम खोज्दै बेलहिया नाकातर्फ आएका थिए । सुमित, मनोज, दिलीप र बमे बेहलिया नाकातर्फ आएको सूचना महानगरीय अपराध महाशाखाले पाएको थियो । त्यसपछि खटिएको विशेष टोलीले १ वैशाखको ४ः१५ बजेतिर पक्राउ गरेको थियो । पक्राउ परेका चारै जनालाई आज कैलाली प्रहरीलाई बुझाएको छ ।
कसरी भएको थियो हत्या ?
घटना हुनुभन्दा तीन दिन अगाडि कमल साउदको मोबाइल फोन हराएको विषयलाई लिएर सुमित साउदलाई शंका गरी कुटपिट गरेका थिए । सुमित कुटिएको विषयमा मनोज भण्डारी र बमबहादुर समेतले कमल साउदको २५ हजार रुपैयाँ बराबरको लागूऔषध चोरी गरी जंगलमा लुकाएका थिए ।
अर्जुनले मोबाइल चोरी हर्के भाटलाई दिएको कुरा सुमितले पत्ता लगाई कमललाई फिर्ता दिएका थिए । कमलको मोबाइल चोरी गरेको र सुमितलाई कुटपिट गरेको विषयमा मुख्य दोषी अर्जुन हो भनी मनोज, सुमित, बम, सुशील मयाल, दिलीप दास, बादल विक, करण दर्नालले कुटपिट गर्ने योजना बनाएका थिए ।
२ पुस बेलुका ६ बजेतिथर अर्जुन र उनका साथीहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भएका थिए । सबै जनाले लागुऔषध सेवन गरेपश्चात कमलको चोरी भएको मोबाइल र सुमितलाई कुटपिट गरेको विषयमा अर्जुनलाई दोषी देखाई सबै जना मिलेर कुटपिट गरी हात खुट्टा बाँधेका थिए ।
अर्जुनलाई हातखुट्टा बाँधेर ४–५ घण्टा राखेपछि सबै जनाको मार्ने योजना अनुसार सुशील मयाल खुकुरी उपलब्ध गराएर घर फर्किएका थिए । राति ११ बजेतिर मनोजलगायतको समूहले अर्जुनलाई साजको रूखमा हातखुट्टा बाँधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी टाउको दुई फिट टाढा राखी स जनाले लागुऔषध सेवन गरी रातभरि घटनास्थलमै बसेका थिए ।
भोलिपल्ट बिहान ५ बजेतिर मनोज, बादल, दिलीप, बमे, सुमित र विवेक भारतको दिल्लीतर्फ लागेका थिए । कनकलाल, करण, सुशील कैलालीमै साथीको घरमा लुकेर बसेका थिए । सुमित, मनोज, दिलीप र बमे भारतका विभिन्न स्थानमा बस्दै आएका थिए ।– न्युज कारखाना
प्रतिक्रिया