धादिङमा वडा तहसम्मै चुनावी तालमेल : एमालेलाई पत्तासाफ गर्ने अठोट

धादिङ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचमा धादिङमा चार दलले वडा तहसम्मै चुनावी तालमेल गर्ने सहमती गरेका छन् । गल्छीमा सेको गठबन्धन दलका प्रमुख नेताहरुको बैठकले जिल्लाको वडा तहसम्मै चुनावी तालमेल गर्ने सहमती गरेका हुन् । संयुक्त बैठकले जिल्लाका १३ वटै पालिका, १०४ वटै वडा र जिल्ला समन्वय समितिसम्म तालमेल गरेर जाने निर्णय गरेको नेकपा एकिकृत समाजवादीका नेता गुरुप्रसाद बुर्लाकोटीले सौर्य दैनिकलाई जानकारी दिए । बुर्लाकोटीका अनुसार धादिङका सवैै वडामा गठबन्धनबाट साझा उम्मेदवार उठाउने निर्णय भईसकेको छ । त्यस्तै आन्तरिक होमवर्क गर्नको लागि बैठकले गठबन्धन दलका दुई दुई जना रहने गरि कार्यदलसमेत गठन गरेको उनले बताए ।

बैठकले गठबन्धन दलको संयुक्त सचिवालय धादिङवेशीमा खोल्नेसहित बिभिन्न ८ बुँदे निर्णय गरेको छ । गठबन्धन दलहरुबीच आरोप पत्यारोप नगर्न र गठबन्धन भित्रका एक अर्काे दलका नेता कार्यकर्ताहरु, सदस्य वा मतदातालाई आफ्नो पार्टीमा प्रवेश गराउन नपाईने समेत निर्णय गरेको छ । बैठक नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको अध्यक्षमा बसेको थियो भने बैठकमा माओवादी केन्द्रबाट नेता तथा मन्त्री शालिकराम जम्कटेल, एकीकृत समाजवादीबाट केन्द्रीय उपाध्यक्ष तथा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे, उपमहासचिव डा.गंगालाल तुलाधर, पोलिटव्युरो सदस्य गुरुप्रसाद बुर्लाकोटी, जनता समाजवादीबाट राजु नेपाल लगायत चारै दलका प्रभावशाली नेताहरुको सहभागीता थियो ।

प्रतिक्रिया