मिहिनेतले नै सफल बनिन्छ

गोविन्द दुलाल

गोविन्द दुलाल, दुई दशकदेखि गायनसँगै कलाकारिता क्षेत्रमा निरन्तर लागेर कला र गलामार्फत चिनिएका कलाकार हुन् । काभ्रेको वाल्टिङ डाँडाखर्कमा २०२६ मंसिरमा जन्मिएका गायक तथा कलाकार दुलालले देशको कला तथा संस्कृतिलाई विश्वमा चिनाउन राज्यले प्रयत्न गर्नुपर्नेमा जोड दिन्छन् । एक दर्जनभन्दा बढी लोकगीतका साथै भजनमा समेत स्वर दिएका उनले सानो र ठूलो पर्दाका गरी करिब तीन दर्जन चलचित्र तथा टेलिफिल्ममा अभिनय गरेका छन् । गायन तथा अभिनयमा सक्रिय दुलालसँग गरिएको संक्षिप्त कुराकानीः

० गायन र कलाकारिता क्षेत्रमा रहरले कि पैसा कमाउन लाग्नुभयो ?
म गायन या कलाकारिता क्षेत्रमा न रहरले लागे न पैसा कमाउनका निमित्त लागेँ । म एउटा दोहोरीको सञ्चालक पनि हो । दोहोरीमा गाउँदागाउँदै रहर लाग्यो र गायनमा लागेसँगै अभिनय गर्ने अवसर पाएँ र कलाकारितामा पनि संलग्न भएँ ।

० अहिलेसम्म यहाँले सिर्जनाका क्षेत्रमा गरेका काम के हुन् ?
गीति एल्बम चाहिँ ट्याक्सी मोटर कार, दुवोको माला, सानुमायालगायत दर्जनभन्दा बढी छन् । धार्मिक भजन दुईवटा छन् भने ठूलो पर्दामा दौंतरी, तडप सूर्य अस्तलगायत छन् । टेलिफिल्ममा जीवनचक्र, मेरी बास्सै, ब्रेक फेल, सानीआमा, छोरीलगायत करिब २५÷३० वटामा महत्वपूर्ण भूमिकामा रहेर काम गरेको छु ।

० रहरले गायनमा लाग्नेहरू रहर पूरा भएपछि बिलाएको पनि पाइन्छ नि ?
त्यसरी बिलाउने नै भए एक दर्जनभन्दा बढी गीत कहाँबाट निस्कन्थ्यो र मैले राष्ट्रिय सांगीतिक संघमा रहेर पनि काम गरेँ । मचाहिँ समग्रमा गीत, संगीत क्षेत्रलाई नै एउटा अलग पहिचानका साथै उचाइमा पु¥याउन लागेको छु । बिलाउने भन्ने कुरा हैन ।

० अहिलेको सांगीतिक क्षेत्रको अवस्था कस्तो छ ?
ट्याक्कै यस्तो छ भनेर मापन गर्ने कुरा त खासै छैन तर पनि म राष्ट्रिय संगीतकर्मी संघमा समेत रहेर काम गरेको अनुभवले पहिलाको तुलनामा अहिले सांगीतिक क्षेत्रको अवस्था गम्भीर प्रकृतिको छ । अग्रज सर्जकहरूले जीवन शैलीमा प्रयोग हुने शब्दलाई संगीत भरेर गाउनुहुन्थ्यो भने, अहिले जस्ता शब्दलाई पनि गीत बनाएर गाउने चलन छ । यसले सांगीतिक क्षेत्रको हालको अवस्था खासै सन्तोषजनक छैन ।

० अहिले पैसा हुनेहरूले जस्ता कुरालाई पनि गीत बनाएर गाउने चलन छ, यसले गर्दा साँच्चै प्रतिभा भएका र पैसाका कारण अगाडि बढ्न नसकेका व्यक्ति सधै ओझेलमै पर्ने भए’नि !
यस्तै समस्याहरू समाधान गर्न भनेर हामीले ११ सुत्रीय माग राखेर संगीत विकास बोर्डको गठन गर्नुपर्छ भनेर संस्कृति मन्त्रालयमा समेत डेलिगेसन गयौं । तर, खासै सुनुवाइ भएन । मेरो व्यक्तिगत विचारका कुरा गर्नुहुन्छ भने गीतका शब्दहरूमा पनि सेन्सर गरेर सेन्सर पास भएका शब्द र संगीतलाई बजारमा ल्याउनुपर्छ अन्यथा भोलिका सन्ततिले लोकसंगीतका बारेमा गलत बुझ्न सक्छन् । केही एकाध गायकको कारणले संगीत क्षेत्र गलत बाटोमा लागेको छ । यसलाई सुधार्न हामी सबैको पहलको आवश्यकता छ ।


० गायन र कलाकारिता दुवै क्षेत्रमा हुनुहुन्छ, दर्शकले कुन क्षेत्रलाई ज्यादा मनपराउनु भएको छ ?
गायन पनि एउटा कलाकारिता नै हो, यो दुवै क्षेत्रका दर्शक फरक फरक हुनुहुन्छ र दुवै क्षेत्रलाई उत्ति नै माया पनि गर्दिरहनुभएको छ । म एउटा दोहोरी सञ्चालकबाट दोहोरी गायनमा लागेँ । कलाकारिताको सुरूवात् चाहिँ मेरो धनराम मुस्कान दाइको सपोर्ट र सहयोगले गर्दा भयो । उहाँ मेरो कलाकारिता क्षेत्रको गुरू हुनुहुन्छ । पछि मिहिनेत गर्दै जाँदा आफूलाई पनि केही नपुगेझंै लागेर राष्ट्रिय नाचघरमा गएर, छ महिनाको कोर्ष पनि गरें । अहिले दर्शकले लोकदोहोरी गायन र कलाकारिता दुवैमा उत्ति नै माया दिनुभएको छ । मेरो एउटा सानुमाया हाँसेर बोल भन्ने गीत ३३ लाखभन्दा बढी दर्शकले मनमुटुमा राखिदिनु भएको छ । यसलाई माया पाएकै मान्नुपर्छ ।

० एउटा कलाकार सफल बन्न के कुरा चाहिँदो रहेछ ?
कलाकार सफल बन्न त कडा मिहिनेत, निरन्तरको प्रयास, लगनशीलता र इमान्दारिता चाहिन्छ । यसको अर्थ म सफल कलाकार बनिसकेको भन्न खोजेको हैन । म पनि सिक्नेक्रममै छु । मिहिनेत, इमान्दारिता साधना र निरन्तरताको प्रयासले एक कलाकार तिखारिन्छ र सफल बन्छ जस्तो लाग्छ ।

० पुराना कलाकारलाई टिकटकले ओझेलमा पार्यो भन्छन् नि ?
प्रविधिसँग कसैको केही लाग्दैन । सक्षम व्यक्तिलाई कसैले पनि ओझेलमा पार्न सक्दैन । जस्तै भगवानको पालामा पनि भगवान कृष्णले समय परिवर्तनशील छ । समयसँगै जो मानिस परिवर्तन हुन सक्दैन । त्यसले दुःख पाउँछ भन्नुभाको थियो । त्यस्तै हो कसैले कसैलाई ओझेलमा पार्न सक्दैन तर मानिस समय अनुसार परिवर्तन हुन जरूरत छ ।

० कलाकारहरू पनि अहिले राजनैतिक पार्टीको सदस्य बन्ने चलन छ नि ?
राजनैतिक दलको सदस्य बन्नु कुनै पनि व्यक्तिको स्वतन्त्रता र अधिकारको कुरा हो, तर पनि एउटा कलाकार भएर पार्टीको सदस्य बनेर पार्टीकै गुणगान गाउँदै हिँड्नु भनेको विडम्बनाको कुरा हो । राज्यले कलाकारलाई देशको गहनाको रूपमा मान्छ, त्यही कलाकार पार्टीको झोले बन्दा चाहिँ राज्यले दिएको उपाधिले नै कलाकारलाई गिल्ला गरेको छ । समग्रमा भन्नुपर्दा कुनै पनि मानिस पार्टीको कार्यकर्ता बन्छ भने, त्यो नेपाली हैन सच्चा नेपाली हुनका लागि कुनै पनि पार्टीको कार्यकर्ता भएको हुनुहुन्न । कलाकारको मामिलामा पार्टीको सदस्य हुनु भनेको त कलाक्षेत्र कै दुर्भाग्य हो ।

० कलाकारिता र सांगीतिक क्षेत्रमा सुधार्नु पर्ने पक्ष के के छन् ?
सुधार्नु पर्ने पक्ष धेरै छन् । लोकसंगीत र कलाकारिता भनेको पेशा हैन । यो त राष्ट्रको माटो हो र राष्ट्र चिनाउने संस्कृति, परम्परा धर्म चिनाउने पाटो हो । शब्दचयन, लगायत धेरै कुरामा सुधार गर्नुपर्ने पक्षहरू छन् । यो कुनै एक व्यक्तिले गरेर सम्भव छैन । हाम्रो कला र गलालाई हाम्रो माटोको पहिचान बनाउन सबै एक भएर लाग्नु आवश्यक छ ।

० कलाकारिताबाट जीवनयापन सम्भव छ ?
यो कुरा चाहिँ कस्तो खालको जीवन जिउने भन्ने कुरामा भरपर्छ । कतै कलाकार आलिसान महलमा बसेका छन् भने कतै अन्तिम संस्कारका बेला चित्तामा दाउरा किन्न नसक्ने अवस्थामा छन् । कतै हस्पिटलबाट फर्कदा बिल तिर्न नसक्ने अवस्थाका छन् । सबै कलाकारलाई एउटै ठाउँमा राखेर हेर्न मिल्दैन ।

० नयाँ व्यक्तिहरू जो कलाकारितामा लाग्न चाहनुहुन्छ उहाँहरूलाई के भन्नुहुन्छ ?
कलाकारिता भनेको सामान्य कुरा हैन । त्यो एक भवसागर हो, रहर र कसैलाई देखाउँछु भनेर यो क्षेत्रमा नलागेकै राम्रो । अहिले प्रशिक्षण दिने धेरै ठाउँ छन् । केही सिकेर र बुझेर आइयो भने यस क्षेत्रमा सफल बन्न सकिन्छ । त्यसैले यो क्षेत्रमा लाग्नुभन्दा पहिला बुझ्ने तथा सिक्ने गरेमा सफल बनिन्छ ।

प्रतिक्रिया