संघर्षले खारिएकी मिथिला देवी

एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुँदै विकसित भएको लोककलाले समाजको पहिचानलाई युगौंयुगसम्म जीवन्त बनाइराख्छ । जनताको मनोभावना, संस्कृति, रहनसहन, धर्म, संस्कार लगायतका विविध सामाजिक तथा सांस्कृतिक विषय लोककलाका आधार हुन् । यसको विकास र परम्पराको लामो इतिहास छ । यसैअन्तर्गत नेपालको मैथिली क्षेत्रमा विकास भएको मिथिला लोककलालाई नेपालसँगै विश्वमै निकै रुचिका साथ लिने गरिन्छ । पछिल्लो समय यो कला विधामा काम गर्ने कलाकारको संख्या बढ्दै गइरहेको छ । हिजो सीमित घेरामा रहेको मिथिला लोककला देशविदेशमा निकै रुचिपूर्वक लिइन्छ । यही कलामा लामो समयदेखि कलाकार मिथिलादेवी यादवले काम गर्दै आएकी छन् । उनको २०१८ सालमा बुवा स्व. तपेश्वर यादव र आमा स्व. सीतादेवी यादवको कोखबाट जन्म भएको हो ।

महोत्तरीमा स्थायी घर भएकी मिथिलादेवी बाल्यकालदेखि नै चित्रकलामा रुचि भएकाले यसै पेशामा सक्रिय रहँदै आइन् । उनले मिथिला लोककलाप्रतिको उनको छाप सानै उमेरदेखि भएको सुनाइन् । उनका अनुसार १३ वर्षको उमेरमा विवाह भएपछि २० वर्षको उमेरसम्म ३ वटा बच्चाको जन्माइन् । उनले २०३६ सालबाट चुरोट कारखानाबाट काम गरिन् । यस्तै, विसं. २०४५ देखि २०५१ सालसम्म उनी जनकपुरमै रहेर चित्रकर्ममा रमिन् । २०५२ सालदेखि काठमाडौंको डल्लुमा रहेर उनले आफ्नो चित्रकर्मलाई निरन्तरता दिइन् । जुन आज अद्यपिसम्म जारी छ । उनले २०४५ सालमा सुरु गरेको मिथिला हस्तकला पेन्टिङ उद्योगमार्फत २०५१ सालमा ४५ जनालाई प्रशिक्षण दिएर रोजगारीसमेत दिइन् ।

सरकारी तथा गैरसरकारी संस्थाले जाति विशेषको लोककलाको विकासको लागि जागरण कार्यक्रम र कार्यशाला, गोष्ठी, सेमिनार गर्नुपर्दछ । लोककला गर्ने समाजमा गई उनीहरुको सम्मान गर्दै, अभिलेखीकरण गर्ने, पुस्तान्तरणका कार्यक्रमसमेत गर्नुपर्दछ । साथै आ–आफ्नो लोककलाको प्रचार प्रसार गर्नु पनि जरुरी छ

उनले आफ्नो मिथिला कलाको व्यवसायिक यात्रा चार दशकअघिदेखि भएको सुनाइन् । उनका अनुसार २०४५ सालमा काठमाडौंबाट कोहिनुर म्यामले तपाईहरु मिथिला आर्ट गर्नुहुन्छ ? भनी ब्रस, कागज, रङ दिइन् । त्यसै दिनदेखि ब्रसको सहायताले पहिलो चित्र बनाएको उनले सुनाइन् । नारी विकासमा क्लियरा नामकी महिलाले मलाई पिए राख्छु भन्दा ‘उहाँले बनाएको चित्र राम्रो रहेछ । यसैमा लाग्दा राम्रो हुन्छ’ भनेपछि त्यो नै उनका लागि प्रेरणाको स्रोत बन्यो । त्यस्तै, सानैदेखि बज्यै र आमाले घरका भित्ता तथा आँगनमा अरिपन लगायतका विविध कलाकृति बनाएको हेर्दै मिथिलादेवी हुर्किन् । समयको परिवर्तनसँगै घरका भित्ता आँगनमा पोतिने कला पनि क्यानभास र पेपरमा उतार्दै मिथिला कलाकार बाहिर आए ।

हाल नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को प्राज्ञपरिषद् सदस्य तथा लोककला विभाग प्रमुखका रुपमा काम गरिरहेकी उनले देश विदेशमा दर्जनौं पटक कला प्रदर्शनी गरेकी छन् । यस्तै, उनी कला कार्यशाला, गोष्ठी तथा लोककलाका विषयमा भएका बहसमा समेत आफूलाई सक्रिय बनाउँदै आएकी छन् । उनी नेपाल हस्तकला महासंघ, तुलसीमेहर गान्धी आश्रम (महागुठी) सदस्य तथा मिथिला हस्तकला पेन्टिङ उद्योगको अध्यक्ष छन् । मिथिला चित्रकला करिव चार दशकदेखि सक्रिय उनले यस कलाको विकासविना राज्य समृद्ध बन्न नसक्ने जिकिर गरिन् ।

उनले लोककला मौलिक परम्परा रहेको सुनाउँदै सुरुमा आफूले मैथिली कला मात्र लोककला हो भन्ने लागेको बताइन् । कलाकार मिथिलादेवीले भनिन्, ‘लोककला विभाग प्रमुख भएपछि देशका विभिन्न स्थानमा गई लोककलाका कार्यक्रम गर्नेक्रममा विभिन्न जातजातिका आ–आफ्नै लोककला हुँदोरहेछ भन्ने थाहा पाएँ ।’ उनले नेपालको मौलिक लोककलाको विकास र संवद्र्धनमा सबै पक्षले ध्यान दिनुपर्नेमा जोड दिइन् । उनले आफ्नो संस्कार र संस्कृतिलाई कलामा ढाल्नु नै लोककलाको विशेषता रहेको जिकिर गरिन् । उनका अनुसार बज्यै र आमाले बनाएका लोकचित्र हेर्ने र सोही चित्रको नक्कल गर्दै गएपछि मात्रै सफलताको शिखर चढ्न सकेकी हुन् । उनले विगत सम्मmँदै भनिन्, ‘कामको सिलसिलामा २०४५ सालदेखि चुरोट कारखानामा काम गर्नेक्रममा सोही कम्पनीको इन्जिनियरको दिदीले ७ जना महिलालाई चित्र बनाउन लगाउनुभयो । त्यसमध्ये मेरो चित्र राम्रो मानेर दैनिक पाँच सय दिन थाल्नुभयो ।’ त्यसपछि उनका चित्रको माग अत्यन्तै बढ्न गयो । त्यसरी नै कलामा सक्रियताको साथ यस क्षेत्रमा उनी जोडिन पुगिन् ।

उनका अनुसार नेपालमा लोककलाको विकास दिनानुदिन बढ्दै गइरहेको छ । प्राकृतिक ढंगले बनाइँदै आएको लोकचित्रकलामा पछिल्लो समय माध्यम र रङमा फरक हँुदै गइरहेको छ । उनी भन्छिन्, ‘हिजो भित्तामा बनाइने चित्रहरु क्यानभासमा र पेपरमा परित हुँदै गएको छ । सरकारी तथा गैरसरकारी संस्थाले जाति विशेषको लोककलाको विकासको लागि जागरण कार्यक्रम र कार्यशाला, गोष्ठी, सेमिनार गर्नुपर्दछ । लोककला गर्ने समाजमा गई उनीहरुको सम्मान गर्दै, डकुमेन्टेसन गर्ने, पुस्तान्तरणका कार्यक्रमसमेत गर्नुपर्दछ । साथै आ–आफ्नो लोककलाको प्रचार प्रसार गर्नु पनि जरुरी छ ।’ उनले मिथिला कला बिहान उठेदेखि रातीसम्म प्रयोगमा आउने सामानहरुमा गरिने बताउँदै त्यसरी नै विभिन्न जातजातिका लोककलाको पनि विकास गर्नुपर्नेमा जोड दिइन् ।


उनले मेसिनद्वारा उत्पादित कागज, लोकता कागज, नेपाली कागज, बेड कवर (कपडामा), क्यानभास, माटोका भाँडा तथा कुटबाट बनेको विभिन्न प्रकारको सामग्रीमा कला बनाउँदै आएकी छन् । उनले कोहबर, अहिपन, बाँस, विवाहमण्डप, पूजा आदिका चित्र बनाएकी छन् । मिथिला शैलीमा उनले बनाएका कलामा धार्मिक, सांस्कृतिक, संस्कारिक, सामाजिक, राजनैतिक तथा न्याय र समानताका विषय रहेका छन् ।
कलाकार मिथिलादेवीका कलामा भेटिने सिर्जनशीलता र शैलीगत विशिष्टताले मिथिला कलालाई समृद्ध बनाउन मद्दत गरेको छ । उनले बनाएका चित्रमा महिला, सामाजिक न्याय, असमानताका विषय निकै घनिभूत रुपमा प्रस्तुत भएको पाइन्छ ।

महाभारत, रामायणमा देखाइएका कथालाई हेरेर र महिला हिंसाका घटनाबाट प्रभावित भई मैथिली शैलीमा काम गर्दै आएकी कलाकार मिथिला देवीले नेपालकै लोककलाको विकासका निम्ति काम राज्यले योजनाबद्ध ढंगले काम गर्नुपर्ने विचार व्यक्त गरिन् । उनले सुरुताका लोककला सिर्जना गर्दा ४५ जना भएको जनाउँदै जति धेरै कला सिर्जना ग¥यौ, त्यति नै बिक्री हुने हुनाले कलाको विकास तिव्रतर रुपमा विकास भएको सुनाइन् । उनले भनिन्, ‘पहिले गरेका काम रफ भए पनि त्यसको माग बढी थियो । ती चित्रमा सायद आफ्नोपन भएर पनि मनपराइएको होला ।’

देशको समसामयिक विषयवस्तु, विभिन्न घटना, हिंसाजस्ता विषयवस्तु उठाएर मैथिली शैलीका चित्र सिर्जना गरेका उनका कलाले मिथिला कलामा आएको नयाँपनलाई बुझाउँदछ । हुनत उनले कला विकासको लागि गरिब दुःखीलाई चित्र बनाउन सिकाएर आर्थिक रुपमा उकास्न सहयोग समेत गरेको बताइन् । उनले थपिन्, ‘महिलालाई संस्था खोलेर काम दिएँ भने उनीहरुका बच्चालाई कपी, पुस्तक र खाजाको व्यवस्थासमेत गरेँ । साथै चाडपर्वमा स्टाफलाई लुगाहरु प्रदान गर्ने, महिलालाई कलामा ल्याउन विभिन्न तालिम दिने र सिर्जित कलाकृतिलाई बिक्री गरिदिने कामसमेत गरेँ ।’

उनका कलाको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, कनाफुली लोक ट्रिनाले बंगलादेश, सुरजकुण्ड अन्तर्राष्ट्रिय हस्तकला मेला भारत, हस्तकला मेला नेपाल, घरेलु तथा साना उद्योग प्रदर्शनी, रसियन आर्ट क्लव, पहिलो दक्षिण एसियन अन्तर्राष्ट्रिय आर्ट क्याम्प नेपाल लगायतका स्थानमा प्रदर्शनी भएका छन् । कलाकारका लागि कला प्रदर्शनीको महत्व निकै रहेको हुन्छ । प्रदर्शित कलाकृतिले कलाप्रेमीको लागि चित्र हेर्ने अवसर मिल्छ भने कलामा भएको परिवर्तन आँकलन गर्न सहज हुन्छ । कलाकार मिथिलाका अनुसार कलामा प्रचार प्रसारका लागि समेत प्रदर्शनीको महत्व अधिक हुन्छ । नेपालमा प्रदर्शनी कक्ष बनाउनुपर्ने, कलाकारको लागि कला सिर्जना गर्ने, स्टुडियो बनाउनुपर्ने, कलाकारलाई सम्मान गर्नुपर्र्ने, कार्यशाला, गोष्ठी, सेमिनार सञ्चालन गर्नुपर्ने, लोककलासम्बन्धी अध्ययन अनुसन्धान गर्ने लगायतका काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

कलाकार मिथिलादेवीले सामाजिक तथा सांस्कृतिक साथै धार्मिक र व्यावहारिक रुपमा प्रयोग गर्ने सामानमा मैथिली कला बनाएर यसलाई सामाजिकीकरण गर्नुपर्नेमा विचार व्यक्त गरिन् । उनले मिथिला तथा अन्य लोककलामा इतिहास, दन्तेकथा, संस्कार तथा संस्कृतिका विषय आउने जनाइन् । त्यस्तै, समाजमा हुने क्रियाकलाप तथा घटनालाई यस कलामा उतार्नु नै यसको सामाजिक महत्व रहेको उनको तर्क छ । उनले सांस्कृतिक रीतिरिवाज, शैली परम्परालाई रङको सहायताले चित्र कोरेर प्रस्ट्याउनु नै यस लोककलाको संस्कृतिक महत्व रहेको धारणा राख्दै जसले आउँदो पिँढीमा संस्कृति र संस्कार सिकाउने विश्वास लिएको बताइन् ।

पहिले पहिले आफ्नो संस्कारको रुपमा लोककला सिर्जना गरेता पनि समय क्रमसँगै सो कला क्यानभास तथा कागजमा सिर्जना हुने भएकाले देश विदेशमा यसको बिक्रीबाट अर्थआर्जन हुने गरेको छ । त्यसैले आर्थिक दृष्टिकोणबाट पनि लोककलाको महत्व रहेको छ । उनले विभिन्न जातजातिको आ–आफ्नो धर्म, परम्परा, संस्कार, संस्कृति हुने भएकोले सबै जातिको आफ्नै लोककला हुने बताउँदै त्यसको प्रस्तुतिकरण नै लोककला भएको भनाइ राख्छिन् । साथै उनले सो लोककलाले नै जातजातिलाई जीवन्त राख्ने जिकिर गरिन् ।

प्रतिक्रिया