काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको विकास र समृद्धिको सपना केपी शर्मा ओलीको खलनायकपनले सकिएको आरोप लगाएका छन् ।
शुक्रबार काभ्रेका व्यक्तिलाई माओवादीमा प्रवेश गराउँदै उनले भने, ‘सबैको विश्वास जितेर निर्वाचनमा होमिएका थियौँ, निर्वाचनमा गइसकेपछि राजनीतिक स्थायित्व, विकास र समृद्धिको सपनासहित हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने कोसिस पनि गर्यौँ, तर, हामीले जे सपना देखेका थियौँ, एकजना व्यक्तिको कारणले, खासगरी केपी ओली खलनायक भइदिएका कारण त्यो सपना पूरा हुन पाएन ।’
ओलीले संविधान खारेज र उल्ट्याउने प्रयास स्वरुप प्रतिनिधिसभा विघटन गरेको भन्दै उनले आउने निर्वाचनमा ओली र एमालेलाई पराजित गर्नुपर्ने बताए ।
देशको परिवर्तन ल्याउने काम माओवादीले मात्र सक्ने भन्दै उनले यसको पुष्टि गत स्थानीय तहमा माओवादीले जितेको पालिकाको प्रगतिले गरेको बताए । देश संकटमा परेका बेला माओवादीले जोगाएको उनको दाबी छ ।
प्रतिक्रिया