नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन लागेको ‘पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)’ को तयारी पूरा भएको छ । बिहीबार (१७ चैत) देखि २१ गतेसम्म हुन लागेको महोत्सव भौतिक रुपमा राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुने प्रतिष्ठानका अध्यक्ष तथा महोत्सवका संयोजक केपी पाठकले जानकारी दिएका छन् । उनका अनुसार गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भर्चुअल रुपमा गरिएको थियो । यस वर्ष गर्न लागिएको महोत्सवका बारेमा प्रतिष्ठानका अध्यक्ष एवं महोत्सवका संयोजक पाठकसँग गरिएको छोटो कुराकानीः
० पाँचौ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को तयारी के भइरहेको छ ?
चैतको १७ गतेदेखि हुने महोत्सवको तयारी लगभग पूरा भएको छ । हामी अहिले प्रचार प्रसारको चरणमा छौं । १७ गते चार बजेदेखि उद्घाटन सत्र हुनेछ । त्यसमा अर्थमन्त्री जनार्दन शर्मा प्रमुख अतिथि रहनुहुनेछ भने हामी आफैले बनाएको डकुमेन्ट्री ‘गोरु पर्व’ लाई अप्रतियोगीका रुपमा देखाउँदैछौं । १८ गतेदेखि २१ गतेसम्म चार दिन नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृह र डिसहोममा अनलाइनमार्फत चलचित्र देखाउने छौं । यस्तै, बोर्ड र सभागृहमा देखाउन नसकिने फिल्म डिसहोममार्फत देखाउने छौं । त्यो सँगसँगै हामीले अगाडि नै रेकर्ड गरिएका पाँच सेसनका सिनेमामा साउण्डको भूमिका, भाषा, सिनेमा महिला समानता, सम्पदाको महत्व लगायतका वक्ताहरुका भाषण गरिएका कुरा र विचारहरु १७ गते पाँचवटा कन्टेन्टहरु अनलाइन माध्यममा राख्नेछौं । त्यसैगरी, नौवटा अरु लाइभ सेसनहरु छन् । जसलाई हामी भौतिक रुपमा गर्नेछौ । त्यसलाई पनि लाइभ गर्नेछौं । अहिले हामी महोत्सवको लगभग अन्तिम चरणमा पुगेका छौं ।
० कति देशका कति चलचित्र समावेश गरिएको छ ?
महोत्सवमा ३८ देशका करिब ८९ वटा चलचित्र छन् । जसमा फिचर, सर्ट, डकुमेन्ट्री तथा एनिमेटेट फिल्महरु छन् । त्यसमा अन्तर्राष्ट्रिय कम्पिटिसन छ, राष्ट्रिय कम्पिटिसन छ । अन्तर्राष्ट्रिय कम्पिटिसनको सबैभन्दा ठूलो अवार्ड बेस्ट फिचर फिल्मलाई ‘गौतम बुद्ध अवार्ड’ हो । त्यसैगरी, बेस्ट डकुमेन्ट्रीलाई माउण्ट एभरेस्ट अवार्ड, बेस्ट डकुमेन्ट्री फिल्मलाई मञ्जुश्री अवार्ड र बेस्ट सर्ट फिल्मलाई वागमती अवार्ड पनि रहेको छ । महहोत्सवमा नेसनल कम्पिटिसन पनि छ । बेस्ट सर्ट फिचर फिल्म, बेस्ट सर्ट फिल्म, बेस्ट डकुमेन्ट्री, बेस्ट डाइरेक्टर, बेस्ट राइटर, बेस्ट एक्टर मेल र फिमेल, बेस्ट सिनेमाटोग्राफर यतिका लागि अवार्डको व्यवस्था पनि छ । यस्तै, अन्तर्राष्ट्रिय फिल्म सोसाइटी महासंघको तर्फबाट बेस्ट फिचर फिल्म नेपाली र विदेशीमध्येबाट दम्कीवती अवार्ड पनि छ । बेस्ट फिचर फिल्म अवार्डका लागि भनेर छुट्टै जुरी कमिटी पनि छ ।
० महोत्सवको उद्देश्य के हो ?
महोत्सवको मुख्य उद्देश्य त विश्वव्यापी मान्यता अनुसार चलचित्र हेर्ने, संस्कृति विकास गर्ने तथा चलचित्र हेर्ने दर्शक बढाउने नै हो । अब हाम्रो जस्तो देशका लागि त्यो त महत्वपूर्ण त हुँदै हो, त्यो सँगसँगै नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय चलचित्र फेटारिटीसँग जोड्ने, अन्तर्राष्ट्रिय फिल्ममेकरसँग जोड्ने, उनीहरुसँग सहकार्य गर्ने वातावरण तयार गर्ने हो । यसैगरी, उनीहरुसँगका सीप सिक्ने, हाम्रा कुरा सेयर गर्नु पनि हो । सकेसम्म मिलेर फिल्म बनाउने वातावरण बनाउने अथवा मिलेर बनाउन सकिएन भने पनि हामीहरुले बनाएका फिल्म उनीहरुको बजारमा पु¥याउन उनीहरुको सहयोग लिन वा सहकार्य गर्ने लक्ष्यसमेत महोत्सवको रहेको छ । यसरी फिल्मका माध्यमबाट हाम्रा भाषा, साहित्य, संस्कृति, भेषभूषा, खानपानलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म प्रचार गर्ने भन्ने यसको उद्देश्य हो ।
० महोत्सवमा कस्ता चलचित्रले प्राथमिकता पाएका छन् ?
यो महोत्सवमा सबै किसिमका फिल्महरु छानिएका छन् अथवा राम्रा फिल्मलाई हाम्रो फिल्म सेलेक्सन कमिटीले राम्रो राम्रो नम्बर दिनुभएको छ । यसमा कुनै विषयवस्तुको पाउबन्दी छैन । तर, अलि मौलिक प्रकृतिको, त्यो देशलाई प्रतिनिधित्व गर्ने किसिमको अवथा सिर्जनशील देखिने किसिम र अलि नयाँ तरिकाले प्रस्तुत गरेका चलचित्रलाई महोत्सवको छनोटको मापदण्ड बनाएका छौ । त्यसमा अहिले संसारभरीका प्रसिद्ध फिल्महरु छन् । केही अवार्ड जितेका फिल्म पनि छन् । जस्तो १८ वटा फिचर फिल्म देखाउँदैछौ । जसमा चारवटा नेपाली र १४ वटा विदेशी छन् । जसमा विदेशीमा अन्तर्राष्ट्रिय अवार्ड जितेका फिल्महरु पनि छन् । त्यसैगरी, सर्ट र डकुमेन्ट्री गरेर ७१ वटा फिल्म देखाउँदै छौं । जुन विभिन्न महोत्सवमा अवार्ड जितेका राम्रा फिल्म र डकुमेन्ट्री हुन् ।
० यो महोत्सवले नेपाली चलचित्र जगतलाई के प्रभाव पार्ला ?
कोरोनापछिको चलचित्र बजार विस्तारै विस्तारै चलायमान हुन लागेका बेलामा अन्तर्राष्ट्रिय स्तरको चलचित्र महोत्सव आयोजना गरिनु आफैमा निकै सकारात्मक पक्ष हो । यसले चलचित्र जगतलाई चलायमान गराउन सहयोग गर्छ । यस्तै, चलचित्रकर्मीलाई आफ्नो देशसँगै संसारका विभिन्न ३८ देशका चलचित्र हेर्न अवसर प्रदान गर्नु हो । दर्शकलाई फरक फरक देशका फिल्म हेर्ने अवसर प्रदान गर्नु हो । यसले दर्शकको संख्या बृद्धि गर्न मद्दत गर्छ । हलमा रेगुर नगएका दर्शकलाई पनि फेस्टिभलले विस्तारै हलसम्म आएर चलचित्र हेर्ने वातावरण बनाउने अपेक्षा राखेका छौं । साथै देशविदेशीका फिल्ममेकरका बीचमा भेटघाट हुन्छ त्यसले पेन्डामिकपछि कस्ता विषयवस्तुमा फिल्म बनाउने हो त्यसबारेमा बहस पनि गराउँला भन्ने हामीलाई लागेको छ ।
० नेपाली चलचित्रको स्तरीयता अभिबृद्धिमा यस्ता महोत्सवको के भूमिका रहन्छ ?
निफ भनेको एक अन्तर्राष्ट्रिय प्यालेटफम हो । जहाँ देशविदेशका चलचित्रकर्मीको भेटघाट हुन्छ । दर्शकले फिल्ममेकर भेट्नेदेखि लिएर फिल्ममेकरले कोरोनापछिको पेन्डामिकको अवस्थामा आफूलाई कसरी तयार गरिरहेका छन् । सिर्जनशीलताको कुन आँखाले हेरिरहेका छन् । अब चलचित्र बनाउनुपर्ने विषयवस्तु र दर्शकको मनोविज्ञानलाई कसरी हेरिरहका छन् ? कसरी फिल्म बनाउने भनेर सोचिरहेका छन् । हामी के सोचिरहेका छौं भन्ने बारेमा विभिन्न किसिमका बहस, अन्तक्र्रिया छलफल छन् । ती बहसहरुबाट केही कुरा पनि केही आउँला । ती लाइभ गर्ने भएकाले अलि बढी पहुँचमा पुग्छ । अलिकति बढी दर्शक, व्यक्ति तथा चलचित्रकर्मीसम्म पुग्ला । त्यसले पनि दर्शकमा एउटा मनोविज्ञान निर्माण गर्ला । फिल्ममेकरमा पनि दर्शकको चाहना के हो त्यो धारणा बुझेर त्यही मनोविज्ञानमा चलचित्रकर्मी अघि बढ्लान् र त्यस्तै किसिमका चलचित्र बन्लान् भन्ने आशा राख्न सकिन्छ ।
प्रतिक्रिया