जनप्रतिनिधिमाथि आक्रमण : दोषी कारवाही गर्न निर्देशन

जनकपुर । मधेस प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले प्रेस विज्ञप्ति जारी गरी राष्ट्रियसभा निर्वाचनका लागि मतदान गर्न जनकपुरधाम आएका जनप्रतिनिधिका सवारी साधनमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए ।

पूर्वघोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत पार्टीका कार्यकर्ताले प्रदेशसभा सदस्य अशोक यादव, हरिवन नगरपालिकाका प्रमुख, उपप्रमुख, जलेश्वर अस्पतालका मेसु डा. सतिश साहलगायतका सवारी साधन तोडफोड गर्नुका साथै सांघातिक आक्रमण गरेको घटनाको वास्तविक छानबिन गरी सम्बन्धित जनप्रतिनिधि एवं चिकित्सकलाई क्षतिपूर्ति उपलब्ध गराउन एवं दोषी उपर कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको विज्ञप्तिमा उल्लेख छ ।

घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै लोकतान्त्रिक मूल्य र मान्यतामा विश्वास राखी अहिंसात्मक तवरबाट आफ्नो विचार एवं अभिमत प्रकट गर्नसमेत जनमत पार्टीलगायत सम्बद्ध सबैमा उनले आग्रह गरेका छन् ।

यसैबीच मधेस प्रदेशमा राष्ट्रियसभाको निर्वाचन विथोल्न खोजेको आरोपमा जनकपुरधामबाट पक्राउ परेका जनमत पार्टीका सात कार्यकर्तामाथि प्रहरीले कानुनी कारवाही अघि बढाउने भएको छ । जनमतका कार्यकर्ताले किसान आन्दोलनको नाममा बाँसको भाटासहित मतदान स्थलमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको थियो ।

प्रतिक्रिया