‘इच्छाकामना’ गीति भिडियो सार्वजनिक

चितवन । इच्छाकामना गाउँपालिकाले पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ गीति भिडियो बनाएको छ । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले रचना गरेको गीत ‘इच्छाकामना’ लाई भिडियोमार्फत सार्वजनिक गरिएको हो । गाउँपालिकाले विशेष गरी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यले गीतको भिडियो निर्माण गरेको उनले बताइन् । भिडियोमा गाउँपालिकाको कृषि, पर्यटन, भौगोलिक बनावटका विषयमा चर्चा गरिएको छ । गीतले इच्छाकामना घुम्न आउन सबैलाई आग्रह गरेको छ । भिडियोमा गाउँपालिकाको सिराइचुली, चितवनको पुरानो सदरमुकाम ऐतिहासिक उपर्दाङगढी जलवीरे लामो झरना, इच्छाकामना मन्दिर, तामिन, दाहाखानी, काउले साठीमुरे, मुग्लिनबजार, कुरिनटार, मनकामना केबुलकार, त्रिशूली, फिस्लिङ लगायतका विभिन्न पर्यटकीयस्थलको दृश्य देखाइएको छ ।

भिडियोमा गायक तथा संगीतकार चेतन सापकोटाको स्वर तथा संगीत रहेको छ । उनले नै निर्देशन गरेको भिडियोको छायांकन भने विनोद श्रेष्ठ, राज पोखरेल र अनिल कटुवालले गरेका हुन् । साथीभाइ फिल्म्स् प्रालिले निर्माण गरेको भिडियोको सम्पादन भने प्रतीक ढुंगेलको रहेको छ । भिडियोमा गायक तथा संगीतकार सापकोटाले प्रमुख भूमिका निर्वाह गरेका छन् भने गाउँपालिका अध्यक्ष एवं गीतका सर्जक गुरुङसहित स्थानीय कलाकारलाई समेत देखाइएको छ । गीतको भिडियो र अडियो सोमबार गाउँसभाको अवसर पारेर ‘वी स्टार’ नेपाल नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना पर्यटकीय सम्भावना बोकेको पालिका हो । प्रचारप्रसारको अभाव र भौगोलिक विकटताका कारण पर्यक भित्र्याउन नसकेको यस गाउँपालिकामा पछिल्लो केही वर्षयता पर्यटकीय स्थलमा सडक पुगेसँगै पर्यटकको आवागमनमा केही वृद्धि हुँदै आएको छ ।

प्रतिक्रिया