काठमाडौं । तारा एअरले इलामको सुकिलुम्बा विमानस्थलमा उडान सेवा सुरु गर्ने भएको छ । इलाम नगरपालिका र तारा एयर प्रालिबीच त्यहाँको सुकिलुम्बा विमानस्थल सञ्चालन गर्ने विषयमा ३ माघमा सम्झौता भएको थियो । सम्झौताअनुरूप आगामी ८ फागुनदेखि प्रत्येक आइतबार काठमाडौंबाट सुकिलुम्बा विमानस्थलमा उडान–अवतरण हुने निश्चित भएको नेपाल पर्यटन बोर्डका सदस्य तथा पर्यटन व्यवसायी कृष्ण शाहले जानकारी दिएका छन ।
इलाममा हवाई उडानको यो सम्झौताका लागि पहल गरेका पूर्वका पर्यटन व्यवसायी शाहका अनुसार नगरपालिकाले १२ उडानका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । १६ यात्रु क्षमता सिट क्षमताको जहाज एकतर्फी भाडा ८ हजार ७ सय रुपैयाँ तोकिएको छ । सम्झौताअनुसार ११/११ जनाको आउने–जाने भाडा इलाम नगरपालिकाले नै तिर्नुपर्नेछ । नगरपालिकाले एकतर्फ भाडा तिरे दुईतर्फकै उड्नका लागि सहुलियत दिएको हो ।
इलाममा, सन्दकपुर, माईपोखरी, कन्याम–अन्तुसर्किट, छिन्टापु, सानो पाथीभरा, सिद्धिथुम्का, माङमालुङ, माङसेबुङ, गजुरमुखी, रेडपाण्डा पाइने वन तथा इलाम सदरमुकाम, पशुपतिनगर आदि पर्यटकीय आर्कषणका केन्द्र रहेका छन ।
प्रतिक्रिया