काठमाडौं । नेपालमा शनिबार एकै दिन १६ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण फैलिएयता नेपालमा एकै दिन यतिधेरै सँख्यामा मृत्यु भएको यो पहिलो पटक हो । यसअघि दैनिक तीनदेखि चारजना संक्रमितको मृत्यु हुने गरेको थियो । स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका अनुशार नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६ सय ५१ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा देशभर १० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुशार, पछिल्लो २४ घण्टामा २० हजार एक सय ८७ जनाको परीक्षण गर्दा १० हजार दुई सय ५४ जना कोरोना संक्रमित थपिएका हुन् । परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका अनुसार शनिबार पीसीआर विधिबाट आठ हजार दुई सय १२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा दुई हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा हाल ७२ हजार ८ सय ६२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा सात सय आठजना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको पनि मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा पाँच हजार तीन सय ६ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा तीन हजार सात सय ६२, ललितपुर जिल्लामा एक हजार एक सय १० र भक्तपुर जिल्लामा चार सय ३४ जना संक्रमित थपिएका हुन् ।
यसैगरी पछिल्लो २४ घण्टामा कास्कीमा चार सय, मोरङमा दुई सय ७३, सुनसरीमा दुई सय १२, कैलालीमा एक सय ७०, चितवनमा एक सय ५३, रुपन्देहीमा एक सय ४९, बाँकेमा एक सय ४८, मकवानपुरमा एक सय ४७ र काभ्रेमा एक सय एकजनामा संक्रमण पुष्टि भएको छ । पीसीआरतर्फ संक्रमणदर बढेर ५६.८ प्रतिशत पुगेको छ । बुधबार ५२.६ संक्रमण दर रहेको थियो । त्यसअघिका दुई दिनमा संक्रमण दर क्रमशः ४७.९ र ४७.३ रहेको थियो । यो तथ्याङ्कका आधारमा शनिबार संक्रमण दर बढेको देखिन्छ ।
२१—३० वर्ष उमेरका बढी संक्रमित
नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन् । यो उमेर समूहका दुई हजार आठ ७० जना संक्रमित भएका छन् । ३१ देखि ४० वर्ष उमेर समूहका दुई हजार दुई सय ४४ जना संक्रमित भएका छन् ।
यसैगरी १० वर्षभन्दा कम उमेर समूहका एक सय ४६ जना संक्रमित भएका छन् । नेपालमा कूल संक्रमितमध्ये आठ लाख २० हजार दुई सय ८३ जना संक्रमणमुक्त भइसकेका छन् । निको हुने दर घटेर ९०.७ प्रतिशत रहेको छ ।
यसैबीच, हालसम्म एक करोड ६२ लाख ४२ हजार चार सय ५६ जनाले पहिलो मात्रा, एक रोड करोड २८ लाख ७० हजार आठ सय ६७ जनाले पूर्ण मात्र र एक लाख ४२ हजार पाँच सय ८९ जनाले अतिरिक्त मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
१५ जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित
पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाको सँख्या १५ पुगेको छ । मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुशार, प्रदेश नम्बर १ को झापा, मोरङ र सुनसरी जिल्लामा पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । यसैगरी मधेस प्रदेशको धनुषा, वागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रेमा पनि सक्रिय संक्रमितको सँख्या पाँच सयभन्दा बढी छ । गण्डाकी प्रदेशको कास्की र नवलपुर, लुम्बिनी प्रदेशको बाँके र रुपन्देही तथा सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा संक्रमितको संख्या पाँच सयभन्दा बढी रहेको छ । यसैगरी १७ वटा जिल्लामा संक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढी रहेका छ ।
चीनले दियो २० लाख सिरिन्ज
चीन सरकारले दिएको २० लाख थान सिरिन्ज नेपाल आएपुगेको छ । शनिबार नेपाल आइपुगेको उक्त सिरिन्ज नेपाल सरकारलाई हस्तान्तरण गरिएको चिनियाँ दूताबासले जनाएको छ । महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको दूताबासले जनाएको छ ।
साथै नेपालसँगको निकटता कायम राख्दै आफ्नो क्षमताअनुसार महामारीविरुद्धको लडाइँमा सधैं सहयोग गर्न तयार रहेको पनि दूताबासले जनाएको छ । यसअघि नेपाल सरकारले ४० लाख डोज खोप चीनबाट खरिद गरेको थियो भने १८ लाख डोज खोप अनुदानमा पाएको थियो ।
दुई सय ६८ स्वास्थ्यकर्मी संक्रमित
पछिल्लो समय देशभर कोरोना संक्रमितको सँख्या थपिँदै जाँदा महामारीविरुद्ध अग्रपँक्तिमा खटिने स्वास्थ्यकर्मी पनि संक्रमित हुने क्रम बढेको छ । कोरोना भाइरसको तेस्रो लहर ओमिक्रोनको जोखिम बढ्दै जाँदा गण्डकी प्रदेशमा मात्र तीन साताको अवधिमा दुई सय ६८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार गत पुस १७ देखि माघ ७ गतेसम्म गण्डकीका मनाङबाहेकका जिल्लामा उक्त संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएका हुन् । प्रदेशको राजधानी पोखरामा सबैभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएका छन् । कास्कीमा यस अवधिमा सबैभन्दा बढी एक सय ३८ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन् ।
स्वास्थ्यकर्मी नै संक्रमित भएपछि उपचार सेवा सञ्चालन गर्न पनि कठिनाइ भएको छ । यसैगरी तनहुँमा ४२, लमजुङ २०, नवलपराासीपूर्व १७, स्याङ्जा १२, बागलुङ ११, पर्वत १०, म्याग्दी नौ, गोरखामा ६ र मुस्ताङमा तीन स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको छ ।
हिमालपारिको जिल्ला मनाङमा भने यस अवधिमा कोही पनि स्वास्थ्यकर्मी संक्रमित भएका छैनन् । निर्देशनालयले संक्रमित स्वास्थ्यकर्मी सबै होम आइसोलेसनमा रहेका र सबैको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रतिक्रिया